कञ्चनपुर, फाल्गुन १ : मुलुकको पश्चिमी सीमाको एकान्त कुनामा रहेको कञ्चनपुरको दोधारा चाँदनीका बस्ती पछिल्ला वर्षमा गुल्जार हुँदै गएका छन् । २० को दशकको प्रारम्भमा यहाँ बसाइँ सरेका पुरानो पुस्ताका मानिस गाउँबस्तीमा बिरलै भेटिन्छन् ।
आफ्ना पूर्वज आइपुगेको यहाँको बिरानो बस्तीको उहिलेको अवस्थाबारे धेरैलाई जानकारी छैन । पुरानो पुस्ताकाले उहिलेको दोधारा चाँदनीका कथाव्यथा सुनाउन थाल्दा तन्नेरीहरु उनीहरुका माझ झुम्मिन पुग्छन् ।
दोधारा चाँदनी नगरपालिका–६ महाकाली नदी छेवैको बस्तीमा बसोबास गर्ने ८० वर्षीय मनबहादुर गुरुङ २०२३ मा बसाइँ सर्दै यहाँ पुगेका हुन् । उनको परिवार दोधारा चाँदनी पुग्नुअघि कामको खोजीमा सुर्खेतको थातथलो छोडेर भारत उत्तराखण्डको हल्द्वानी, किच्छा र सितारगञ्ज पसेको थियो । उनको मस्तिष्कमा त्यतिबेलाको दोधारा चाँदनीको अवस्था र नयाँ बसोबास थालनी गर्दा व्यहोर्दाको दृष्य ताजै छ ।
एकातिर जोगबुडा नदी र अर्कोतिर महाकालीको बाढीको त्रास । बस्तीका बीचका स–साना नाला । बर्खायाममा जताततै बाढी पसेर जलमग्न भइ डुबानमा पर्ने अवस्था थियो । बर्खामा त यहाँ किन र के का लागि बस्नुजस्तै लाग्ने अवस्था थियो । हिउँदतिर भने यहाँजस्तो राम्रो कहीँ नलाग्ने । यहीँ कुराले गुरुङलाई दोधारा चाँदनीले लोभ्याउथ्यो । बर्खायाममा बाढी मात्रै होइन बाटोघाटाको असुविधा, बिरामी हुँदा वा किनमेलका लागि पनि भारततिरै जानुपर्ने बाध्यता रहेको उनी बताउँछन् । ‘नेपालतर्फको त कुनै नाता सम्बन्ध नै थिएन,’ उनी दिन अप्ठेरा दिन सम्झदै भन्छन्, ‘कहिलेकाँही सरकारी काम परे आफ्नै जिल्लाको सदरमुकाम महेन्द्रनगर आउजाउ गर्न पनि भारतकै बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो ।’

उनले महाकाली तरेर जिल्ला सदरमुकाम जान नसकिने अवस्थामा भारतको बाटो हुँदै महेन्द्रनगर पुगेर १ मन उसिना चामल ६४ रुपैयाँमा किनेर बालबच्चा हुर्काएका दिनहरु पनि सम्झे । ‘त्यतिबेलाका दुख सम्झिने हो भने अहिले त दोधारा चाँदनी स्वर्ग नै बनेको छ, गाउँगाउँमा पक्की सडक, जोगबुडा र महाकालीमा नदीमा बाढी रोक्न तटबन्ध बनेको छ, महाकालीमा दुई वटा पुल, यो सबै हाम्रै पालामा बनेको हेर्न पाइयो,’ गुरुङले भने, ‘अझै धेरै कुरा हुँदैछ, सुक्खा बन्दरगाह बनेपछि यो क्षेत्रको विकास अझै बढी होला ।’
६० को दशकको अन्त्यसम्म पनि दोधारा चाँदनी छुट्टै भूगोलजस्तो थियो । यहाँका बासिन्दा किनमेलदेखि औषधि उपचार र रोजगारी सबैका लागि भारततिरै निर्भर हुन्थे । यति मात्रै होइन यहाँ हिसाबकिताब पनि भारतीय मुद्रामै हुने गर्थ्यो ।
२०५८ मा दोधारा चाँदनीलाई मूलधारसँग जोड्ने गरी महाकाली नदीमा झण्डै डेढ किलोमिटर लामो झोलुंगे पुल निर्माण भए पछि मात्रै यस क्षेत्रका बासिन्दाको सहज आउजाउ हुन थालेको हो । त्यसपछि मात्रै हो यहाँका बासिन्दाको बाँकी नेपालसँग सम्बन्ध जोडिएको हो । पछिल्लो पटक झोलुंगे पुलबाट ३ किलोमिटर उत्तर महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण भएपछि त दोधारा चाँदनीको मुहार नै फेरिएको गुरुङ बताउँछन् ।

दोधारा चाँदनी नगरपालिका–१ मा सुक्खा बन्दरगाह निर्माणको काम भइरहेको छ । तीन वर्षभित्र निर्माण सम्मन्न गर्ने गरी काम भइरहेको हो । सुक्खा बन्दरगाह निर्माणपछि यो क्षेत्रको कायापलट हुने अनुमान गरिएको छ । यिनै कुराले गुरुङको मन निकै हर्षित हुन्छ । बेलाबेलामा उनी सोच्छन्, ‘दानापानी जहाँको लेखेको हुन्छ, त्यहीँ पुगिन्छ, नत्र सुर्खेतबाट १०/१२ वर्षकै उमेरमा भारत हिँडेको यहाँ कसरी पुगे केही थाहा भएन ।’
विकासका पूर्वाधार बढ्न थालेपछि विगतमा बाढीका कारण यहाँबाट विस्थापित भएकाहरु पनि फर्केर आउन थालेको उनले सुनाए । उनका अनुसार बाढीले सताउन थालेपछि त्यतिबेला यस क्षेत्रका बासिन्दा कञ्चनपुरकै बेलडाँडी र बर्दियाको तारा तालसम्म बसाइँ सरेका थिए । तीमध्ये केही परिवार फर्किए भने केही फर्केनन् ।
गुरुङ बुवाआमासँगै २०१० मा सुर्खेतबाट भारततिर पसेका थिए । हल्द्वानी, किच्छा र सितारगञ्जमा मजदुरी गर्दै उनको परिवारले खेतीपाती गर्न जमिन जोड्यो । २०२३ मा प्रति विघा एक सय भारुका दरले सवा ६ विघा जमिन बिक्री गरेर उनी २०२३ मा दोधारा चाँदनी पुगेका थिए । सितारगञ्जबाट गोरुगाडामा दोधारासम्म पुगेका उनले सस्तैमा जमिन किने । त्यतिबेला बाढीकै कारण यहाँ भएकाहरुले बाटो खर्च मात्रै दिए सबै जमिन छाडेर जान्थे ।
महाकाली नदीमा किनारमा तटबन्ध निर्माण हुनुअघिसम्म यहाँ बाढीको निकै दुःख थियो । जाइका नामको संस्थाले बयलबन्ददेखि ढकनाघाटसम्म २२ किलोमिटर तटबन्ध निर्माण गरेपछि यहाँ बाढीको जोखिम कम हुँदै गएको हो । त्यसपछि मात्रै दोधारा चाँदनीमा विस्थापित हुनेको संख्या घटेको र नयाँ परिवार थपिने क्रम बढेको हो ।
दोधारा चाँदनीको उर्बर भूभागमा बस्ती विस्तार भएपछि पटक पटक महाकालीको बाढीले तहसनहस पारेको छ । २०२६, २०४३ र पछिल्लो पटक २०७० को ठूलो बाढीले पनि यहाँ क्षति पुर्यायो । हालका वर्षमा पनि नदी किनारका केही बस्तीहरु वर्सेनि बाढी पसेर डुबान भइरहन्छन् । तर विगतको जस्तो पूरै दोधारा जलमग्न भइ डुबान हुने अवस्था भने छैन । ‘महाकालीको बाढी बस्तीमा पसेपछि भारतबाट डोजर र टिप्पर मगाएर तटबन्ध निर्माणको काम पनि गर्र्यौं,’ तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य समेत भएका दोधारा चाँदनीका बासिन्दा ईन्द्रबहादुर खत्रीले भने, ‘राजाको सवारी पनि यस क्षेत्रको बस्ती जोगाउनका लागि लाभदायी भएको हो ।’

उनका अनुसार २०४३ मा महाकालीको बाढी बस्तीमा पसेको केही महिनापछि राजा वीरेन्द्रको भ्रमणपछि नदीमा तटबन्ध निर्माणको काम दीर्घकालीन योजनाअघि बढेको हो ।
उनका अनुसार दोधारा चाँदनीमा २०१६ देखि नै बस्ती विस्तार हुन थालेको हो । २०२२/०२३ सम्म त बसोबास बाक्लै भइसकेको थियो । त्यतिबेला अहिलेको दोधारा चाँदनी ऐरी पञ्चायतको ५ नम्बर वडा थियो । २०२४ पछि मात्रै दोधारा चाँदनी गाउँ पञ्चायत बनाइएको हो । २०४७ पछि दोधारा र चाँदनीलाई छुट्टाछुट्टै गाविस बनाइयो । संघीयतापछि दुवै गाविसलाई जोडेर अहिलेको दोधारा चाँदनी नगरपालिका बनेको हो ।
अहिले दोधारा चाँदनी क्षेत्रका अधिकांश सडक कालोपत्र गरिएका छन् । नदी नालामा बस्तीपिच्छे पक्की र झोलुंगे पुल पनि निर्माण भएका छन् । सामुदायिक र निजी विद्यालयसँगै क्याम्पस पनि खुल्ने क्रम जारी छ । केही वर्षअघिसम्म भारतीय रुपैयाँमा कारोबार हुने दोधारा चाँदनीमा नेपाली बैंकहरुको कारोवार सुरु भएको छ । २०७८ को जनगणना अनुसार यहाँको साक्षरता दर ७९ दशमलव २ रहेको छ ।

उक्त जनगणना अनुसार दोधारा चाँदनी नगरपालिकाको जनसंख्या ४२ हजार ९७२ रहेको छ । जसमा महिला ४४ प्रतिशत र पुरुष ५६ प्रतिशत रहेका छन् । यहाँको ८४ दशमलव ८ प्रतिशत जनसंख्या कृषि र माछपालनमा रहेको छ । यहाँ उत्पादन हुने परवल त भारतको दिल्लीसम्म निर्यात हुने गरेको छ । झोलुंगे पुल बनेपछि यहाँका किसानले उत्पादन गरेको दुध, कुखुरा, माछा र तरकारीहरु महेन्द्रनगर बजारसम्म पुग्ने गरेको छ ।
यहाँका बासिन्दाको प्रमुख पेशा कृषि हो । धान, गहुँ, उखु, मकै, तरकारी यहाँ हुने मुख्य उत्पादन हुन् । महाकाली सन्धी अनुसार यस क्षेत्रमा महाकाली सिँचाइ आयोजना तेस्रो चरणको नहर निर्माणका लागि सर्भेको काम सम्पन्न भइसकेको छ । उक्त नहर निर्माण भए पछि दोधारा चाँदनीमा सिँचाइका लागि शारदा नहरबाट पानी उपलब्ध गराउने महाकाली सन्धीमा व्यवस्था गरिएको छ । सिँचाइ सुविधा उपलब्ध भएपछि यस क्षेत्रको कृषि उत्पादनमा अझै बृद्धि हुने अपेक्षा गरिएको छ ।
चित्रांग थापा, भवानी भट्ट
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













