02/13/2026, 14:32:34
शुक्रबार, फागुन ०१, २०८२

बागलुङका किशोरीलाई एचपिभी खोप लगाउने सुरु


बागलुङ, फागुन १ गते । जिल्लाका किशोरीलाई शुक्रबारदेखि पाठेघरको मुखको क्यान्सर विरुद्वको (एचपिभी) खोप लगाउन सुरु गरिएको छ । यो वर्ष जिल्लाका २ हजार ३ सय २ जना किशोरीलाई एचपिभि खोप लगाउने जनस्वास्थ्य कार्यालयको योजना छ ।

तोकिएको उमेर समूहका कोही नछुटाउने गरी प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले खोपका लागि विद्यालय र घरघरसम्म पुग्ने टोली समेत गठन गरेको छ ।

आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई असर नपर्ने गरी फागुनभित्र जिल्लाका १० वर्ष उमेर पुगेका तथा कक्षा ६ मा पढ्ने किशोरीलाई एचपिभी खोप लगाउन टोली गठन गरिएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले जानकारी दिनुभयो । त्यसबाहेक नियमित खोप सेवा र छुटेका बालबालिकालाई खोपमा जोड्ने योजना छ ।

जिल्ला खोप समन्वय समितिको बैठकले खोप लगाउन सबै स्वास्थ्यकर्मीलाई खटाएको छ । खोपका लागि हरेक पालिकामा समय तालिका बनाइएको छ । बागलुङ नगरपालिकामा फागुनको १० गतेदेखि १५ गतेसम्म, गलकोट नगरपालिकामा १ देखि ५ गतेसम्म, ढोरपाटन नगरपालिकामा १० देखि १४ गतेसम्म र जैमिनी नगरपालिकामा १० देखि १२ गतेसम्म घरदैलो गरिने छ । अन्य ६ गाउँपालिकामा पनि तोकिएको समयमै खोप लगाइने छ । उक्त समयमा स्वास्थ्यकर्मीहरू विद्यालय र घरघरमा पुगेर खोप लगाउने छन् ।

गत वर्ष १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइएको थियो । सो अभियानमा ११ हजार १ सय ७७ जनाले खोप लगाएका थिए । यो वर्ष पनि तोकेको लक्ष्य अनुसार सबैलाई खोप लगाइने छ । प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार, यो वर्ष कक्षा ६ मा पढ्ने किशोरीबाहेक १० वर्ष उमेर समूहका ६ जना भने विद्यालय बाहिर रहेको तथ्याङ्क छ । उनीहरूलाई पनि घरमै पुगेर खोप लगाइने भएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालयले फागुन महिनालाई खोप महिनाको रूपमा नियमति अभियान पनि सञ्चालन गर्ने कार्यालय प्रमुख शर्माले जानकारी दिनुभयो । ‘‘निर्वाचनका कार्यक्रम छलेर भए पनि फागुन महिनालाई खोप महिनाको रूपमा नियमित बनाइने छ,’’ उहाँले भन्नुभयो ।

खोप समन्वय समितिका प्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले नागरिकको स्वास्थ्यभन्दा ठुलो अन्य केही नहुने भएकोले यो अभियान जारी रहने निर्णय गरेको छ । बागलुङ नगरपालिकाले केही दिनदेखि नै नियमित अभियानमा छुटेका खोप लगाउने बालबालिका र पाठेघरको मुखको क्यान्सर विरुद्दको खोप लगाउनुपर्ने किशोरीहरू खोज्न घरदैलो अभियान थालेको छ ।

हरेक वर्ष स्थानीय तहले पालिकालाई पूर्ण खोपयुक्त घोषणा गर्दै अद्यावधिक समेत गर्नुपर्ने प्रावधान छ । यो अभियानले साथ दिएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले बताउनुभयो । आगामी वैशाख महिनाभित्र खोप पुर्ण बनाएर पालिकालाई पूर्ण खोप सुनिश्चित भएको र दिगोपना भएको पालिका घोषणा गर्ने योजना छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..