काठमाडौँ, फागुन १ गते । प्रधानमन्त्री सुशीला कार्कीले कुनै तत्वले निर्वाचनको वातावरण बिगार्न खोजे तत्कालै त्यस्ता प्रवृत्ति निरुत्साहित गर्न निर्देशन दिनुभएको छ । कोशी प्रदेशका निर्वाचनसम्बद्ध पदाधिकारी र सुरक्षा प्रमुखसँग निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिँदै उहाँले निर्वाचनको वातावरण बिथोल्न खोज्ने प्रवृत्तिप्रति जागरुक हुन निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल वा अन्य जुनसुकै माध्यमबाट पनि कसैले वातावरण बिगार्न खोजे सचेत हुन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “त्यस्ता तत्वलाई पहिचान गरी तत्काल निरुत्साहित गर्नुहोस् । यसमा कुनै सम्झौता नगर्नुहोस् । अहिले देशले निकास पाउनका लागि निर्वाचनभन्दा ठुलो कुरा अर्को कुनै छैन ।”
निर्वाचनका लागि भएको तयारीको प्रशंसा गर्दै प्रधानमन्त्री कार्कीले आउँदा दिनमा पनि सबै निकायबिच समन्वयका साथ अघि बढ्न र चुस्त दुरुस्त व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले छोटो समयमा निर्वाचनसम्बद्ध पदाधिकारी र सुरक्षा निकायले राम्रो काम गरेको बताउनुभयो । उहाँले निर्वाचन सफल हुने र देशले निकास पाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “यो सबैको समन्वयात्मक र एकीकृत प्रयासको प्रतिफल हो । मैले जे जति जानकारी पाएँ र आफ्नै आँखाले पनि देखेपछि लाग्यो कि अब जनताले मत हाल्न मात्र बाँकी छ । बाँकी सारा तयारी सकियो । आउँदा दिनमा पनि सबै सुरक्षा निकायबिच यस्तै एकताबद्ध र समन्वयात्मक रूपमा अगाडि बढ्नुहोस् । यसको प्रतिफल राम्रो आउने छ र देशले पनि निकास पाउने छ ।”
प्रधानमन्त्री कार्कीले सोलुखुम्बु र भोजपुरको भ्रमण सकेर सुनसरीको इटहरी पुगेपछि कोशी प्रदेशको अवस्थाका बारेमा छलफल गर्नुभएको हो । कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल, नेपाल प्रहरीका नायब महानिरीक्षक विनोद घिमिरेका साथै विभिन्न जिल्लाका मुख्य निर्वाचन अधिकृतहरू, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका अधिकारी, प्रमुख जिल्ला अधिकारीहरूको पनि उपस्थिति थियो ।
कार्यक्रममा नेपाली सेनाका पूर्वी पृतना मुख्यालयका पृतनापति उपरथी गौरवकुमार केसीले कोशी प्रदेशको सुरक्षा अवस्था र निर्वाचनलक्षित योजनाका विषयमा प्रस्तुतीकरण दिनुभयो । यसअघि प्रधानमन्त्री कार्कीले सोलुखुम्बुका नाम्चे र सल्लेरी तथा भोजपुर सदरमुकाममा पनि निर्वाचनको तयारी र वस्तुस्थितिका बारेमा जानकारी लिनुभयो । भ्रमण टोलीमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावल, प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ हुनुहुन्छ ।
कोशी प्रदेशका १४ जिल्लामा २८ निर्वाचन क्षेत्रका लागि निर्वाचन हुँदै छ । कोशी प्रदेशमा निर्वाचनका लागि ५१ हजार आठ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिँदै छ ।

विशेष अवस्थाको निर्वाचन
प्रधानमन्त्री सुशीला कार्कीले अहिलेसम्मको तयारी र प्रगतिले आगामी निर्वाचन शान्तिपूर्ण र विश्वसनीय वातावरणमा सम्पन्न हुनेमा विश्वस्त रहेको बताउनुभएको छ । सोलुखुम्बुको नाम्चे र सल्लेरीमा स्थानीयवासी र सरकारी निकायसँग संवाद गर्दै उहाँले यो निर्वाचन सामान्य अवस्थाको नियमित प्रकृतिको नभएर विशेष अवस्थामा हुन लागेको प्रस्ट पार्नुभयो ।
यसलाई विशेष तयारीका साथ सम्पन्न गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “सकेसम्म धेरै मतदाता सहभागी गराउन हाम्रो प्रयास रहनु पर्छ । स्वतन्त्र र विश्वसनीय वातावरणमा धेरैभन्दा धेरै मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउनु पर्छ । त्यसका लागि हामीले सकेको सबै प्रयत्न गर्छौं, गर्नु पर्छ । फागुन २१ गते एकै दिन देशभर एकसाथ निर्वाचन हुन्छ ।”
सल्लेरीमा मुख्य निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेल, प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डे, प्रमुख सेनानी विजयप्रकाश आङ्देम्बे, प्रहरी नायब उपरीक्षक मनोजित कुँवर, सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पाण्डेय, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थितिमा छलफल भयो ।
सल्लेरीस्थित जिल्ला समन्वय समितिको कार्यालयमा आयोजित एक कार्यक्रममा मुख्य निर्वाचन अधिकृत पोखरेल र प्रमुख जिल्ला अधिकारी केसीले निर्वाचन तयारीबारे जानकारी गराउनुभयो । प्रजिअ केसीले शान्ति सुरक्षाका दृष्टिले कुनै समस्या नरहेको, यहाँको जनजीवन शान्त रहेको र हालसम्म मौसमी प्रतिकूलता पनि नदेखिएको जानकारी दिनुभयो । उहाँले केही वर्षयताको मौसमी विवरण हेर्दा फागुनमा हिमपात भएका घटना कम रहेको पनि बताउनुभयो ।
उहाँले केही गरी हिमपात भइहाले उच्च हिमाली क्षेत्रका केही स्थानमा वैकल्पिक व्यवस्था गर्नुपर्ने हुन सक्ने बताउनुभयो । त्यसै गरी प्रधानमन्त्री कार्कीले भोजपुरमा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश नारायणप्रसाद दाहाल र जिल्लास्थित सुरक्षा प्रमुखसँग अन्तरक्रिया गर्नुभयो । त्यस क्रममा जिल्लामा भइरहेको निर्वाचनको तयारी र सुरक्षा योजनाका विषयमा जानकारी गराइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











