02/03/2026, 10:51:48
मङ्गलबार, माघ २०, २०८२

कञ्चनपुर-२ : हरेक निर्वाचनमा मतदाताका उही माग, उम्मेदवारका उही प्रतिबद्धता


कञ्चनपुर, माघ २० : शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीका कालुसिंह साउँद ७७ वर्षका भए । दुई दशकअघि बैतडीको पुर्चौडी नगरपालिका–८ बाट बसाइँ सरेका उनले त्यसयताका हरेक निर्वाचनमा सोही क्षेत्रबाट मतदान गर्दै आएका छन् ।

उनी बसाइँ सर्नुअघिदेखि नै यो क्षेत्रका मतदाताको एउटै माग थियो, कलुवापुर–बेलौरी सडक खण्ड निर्माण । यो क्षेत्रका उम्मेदवार र राजनीतिक दलले गर्ने मुख्य प्रतिबद्धता पनि यही सडक निर्माणको हो । तर अहिलेसम्म पनि न यो क्षेत्रका मतदाताको माग पूरा हुन सकेको छ, न त उम्मेदवारको प्रतिबद्धता नै फेरिएको छ।

कलुवापुर–बेलौरी सडक खण्ड कालोपत्र, तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल निकुञ्ज) विस्तारका क्रममा विस्थापित भएकाको पुनर्स्थापना, दोदालगायत विभिन्न नदीबाट हुने कटान र डुबान नियन्त्रण तथा अव्यवस्थित बसोबासको समस्या समाधान लगायतका एजेण्डा हरेक निर्वाचनमा सदाबहार जस्तै बन्ने गरेका छन् ।

२०३८ मा म बैतडीबाट घुम्न आएका बेला पनि कलुवापुर–बेलौरी सडक निर्माणको कुरा नै उठिरहेको थियो, अहिले पनि त्यही कुरा उठ्ने गरेको छ,’ साउँदले भने, ‘अब त नेताहरूको विश्वास नै मरिसकेको छ ।’ पञ्चायती व्यवस्थाका बेला पनि यही सडकको चर्चा हुने गरेको उनले बताए ।

अहिले पनि चुनाव आउन लाग्दा यो विषय नै उठ्ने गरेको छ । उनले सडक, पुल पुलेसादेखि खानेपानी र सिँचाइका समस्या वर्षौंदेखि उस्तै रहेको बताए । उनको घरछेउमै खानेपानीको ट्यांकी बनेको पाँच वर्ष भयो । तर अहिलेसम्म खानेपानी सञ्चालन हुन सकेको छैन । ‘हामीले यो क्षेत्रबाट कांग्रेस, एमाले र माओवादी सबै दलका उम्मेदवार जिताइसकेका छौं, तर भोट माग्न आउँदा हामी काम गर्छौं भन्छन्, जितेर गएपछि हाम्रो सरकार बनेन, काम गर्न सकिएन भन्छन्,’ बन्साहाकै ७० वर्षीय रामबहादुर विष्टले भने, ‘अहिले त भोट दिन पनि मन छैन, मतदानको दिनसम्म कस्तो हुन्छ हेरौं ।’ हरेक निर्वाचनमा घरदैलोमा पुग्ने उम्मेदवारले गर्ने प्रतिबद्धता र काम केही पूरा नहुने कुराले उनलाई दिक्क बनाएको छ ।

अहिले पनि निर्वाचनको दिन नजिकिँदै गर्दा उम्मेदवारहरू घरदैलोमा आउन थालेका छन् । उनीहरूले विभिन्न आश्वासन दिइरहेका छन् । तर मतदाता भने उम्मेदवारका कोरा आश्वासनमा विश्वस्त हुन सकेका छैनन् ।

शुक्लाफाँटा नगरपालिका कञ्चनपुरको क्षेत्र नम्बर २ मा पर्छ । उक्त क्षेत्रमा शुक्लाफाँटासँगै, कृष्णपुर र बेदकोट नगरपालिका ८ नम्बर वडाबाहेकका सबै वडा पर्छन् । उक्त क्षेत्रमा मुत्त कमैया, सुकुम्बासी, आरक्ष विस्थापितदेखि अव्यवस्थित बसोबास र मानव वन्यजन्तु द्वन्द्व लगायतका समस्या रहेका छन् । यसका साथै नदी कटान र डुबानका समस्या पनि विकराल बन्दै गएका छन् ।

यीनै समस्या सुनाएर भोट दिँदादिँदै हामी पनि बुढा भइसक्यौं, अब त आँखा पनि नदेख्ने भयौं,’ तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित अम्मी रावलले भनिन्, ‘चुनावका बेला मात्रै हाम्रो समस्या समाधानको कुरा उठ्छ, त्यसपछि सबै बिर्सिन्छन् ।’ उनीसहितका अढाई सय विस्थािपत परिवार अहिले आन्दोलन स्वरुप महेन्द्रनगर बजारमा सरकारी जमिनमा छाप्रो बनाएर बसोबास गरिरहेका छन् । अहिले सोही क्षेत्रमा उम्मेदवारहरू मत माग्न पुग्न थालेका छन् ।

क्षेत्र नम्बर २ मा लगातार कुनै पनि उम्मेदवार वा राजनीतिक दलले जितेको छैन । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीका देवीलाल चौधरी जितेका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका एनपी साउद निर्वाचित भएका थिए । संविधान जारी भएपछि ०७४ को आमनिर्वाचनमा एमालेका नरबहादुर धामी निर्वाचित भए । पछिल्लो निर्वाचन २०७९ मा फेरि कांग्रेसका साउदले जितेका थिए।

अहिले पनि कांग्रेसबाट पूर्वपरराष्ट्र मन्त्री समेत रहेका कांग्रेस नेता साउद नै उम्मेदवार बनेका छन् । एमालेबाट बचनबहादुर सिंह, नेपाली कम्युनिष्ट पार्टीबाट माधवप्रसाद पन्त र राष्ट्रिय स्वतन्त्र पार्टीबाट दिपक बोहोरा उम्मेदवार छन् । क्षेत्र नम्बर २ मा ४ स्वतन्त्रसहित १९ जना उम्मेदवार छन् ।

अहिले कांग्रेसबाट उम्मेदवार बनेका अनुभवी र अन्य दलबाट उम्मेदवार बनेका युवा पुस्ताबीच प्रतिष्पर्धा भइरहेको छ । अहिले उम्मेदवारहरू सबैले मतदाताको घरदैलोमा पुगेर सडक निर्माणदेखि आरक्ष विस्थापितको समस्या समाधान, सुकुम्बासी समस्या, अव्यवस्थित बसोबास, बेरोजगारी र छेला औद्योगिक क्षेत्र निर्माण गर्ने प्रतिबद्धता गरिरहेका छन् ।

जनताले पाँच वर्षका लागि निर्वाचित गरेर पठाएका हुन्, तर निर्धारित समयअघि नै संसद विघटन हुन पुग्यो,’ कांग्रेसका उम्मेदवार साउदले भने, ‘कतिपय जनतासँग गरेका प्रतिबद्धता र घोषणापत्र अनुसारका काम गर्न बाँकी छन्, केही पुराना र केही नयाँ काम अघि सार्ने योजना छ ।’  उनले कलुवापुर–बेलौरी सडक खण्डको ठेक्का लागेको मध्ये डेढ किलोमिटर सडक कालोपत्रको काम सुरु भएको बताए ।

एमालेका उम्मेदवार सिंहले आफ्नो निर्वाचन क्षेत्रमा थुप्रै समस्या रहेको र तिनको समाधान गर्ने प्रतिबद्धता गरिरहेका छन् । ‘अहिलेको निर्वाचन स्वभाविक होइन । देश जलाउने र देश बनाउनेबीचको लडाइँ हो,’ उनले भने, ‘मेरो क्षेत्रमा थुप्रै समस्या छन्, ती सबै समाधानतर्फ ध्यान केन्द्रित हुनेछ ।’  उनले आरक्ष विस्थापित, सुकुम्बासी, अव्यवस्थित बसोबास, बेरोजगारी लगायतका समस्या समाधानलाई प्राथमिकता दिने बताए । बेदकोट नगरपालिकाको छेलामा औद्योगिक क्षेत्र सञ्चालनमा ल्याउन विशेष पहल गरिने उनले बताए ।

जनताले सुशासन र सम्बृद्धि चाहेका छन्, त्यसमै मेरो प्रतिबद्धता छ,’ नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार माधवप्रसाद पन्तले भने, ‘स्थानीय स्तरमा पनि विभिन्न समस्या छन्, तिनको समाधानका लागि मैले पहल गर्ने छु ।’ उनले सुकुम्बासी, आरक्ष विस्थापितदेखि सडक र पुलपुलेसो निर्माण गर्न पहल गर्ने बताए ।

क्षेत्र नम्बर २ मा ५३ हजार ४४५ पुरुष र ५६ हजार १२८ महिला गरी जम्मा १ लाख ९ हजार ५७४ मतदाता छन्। पछिल्लो निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका साउद २८ हजार १३६ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नरबहादुर धामीले २१ हजार ६८२ मत ल्याएका थिए । ०७४ को निर्वाचनमा पनि यी दुई उम्मेदवार नै मुख्य प्रतिस्पर्धी थिए । त्यतिबेला एमालेका धामीले ३३ हजार २२० र कांग्रेसका सावदले २४ हजार ८९३ मत ल्याएका थिए ।

हरेक निर्वाचनमा चुनावी एजेण्डा बन्ने कलुवापुर–बेलौरी सडक खण्ड निर्माणका लागि ठेक्का सम्झौता भएको पनि ५ वर्ष भयो । तीन वर्षभित्र काम सक्ने गरी सन्तोषी थेगिम निर्माण कम्पनीसँग २०७७ पुसमा ११ करोड ६४ लाखमा ठेक्का सम्झौता भएको थियो । जसमा कलुवापुरदेखि दक्षिणतिर बेलौरी खण्ड ३ किलोमिटर र उत्तरतिर दोमिल्ला हुँदै नाईल सडक ६ किलोमिटर गरी ९ किलोमिटर कालोपत्र गर्नुपर्ने थियो । उत्तरतिरको ६ किलोमिटरमा काम नै सुरु भएको छैन । दक्षिणतिर डेढ किलोमिटरमा बाँकी रहेको काममा यहीँ सातादेखि काम अघि बढेको पूर्वाधार विकास कार्यालय महेन्द्रनगरका प्रमुख ईन्जिनियर पदम मडैले बताए ।

कलुवापुर–बेलौरी सडक खण्ड २४ किलोमिटर छ । जसमध्ये पाँच किलोमिटर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्ने भएकाले त्यसमा निर्माण अनुमति नआउँदा काम अगाडि बढ्न सकेको छैन । ‘अहिले निकुञ्जले पनि सहमति दिएको छ, बहुवर्षीय ठेक्काका लागि प्रस्ताव गर्ने तयारी भएको छ,’ मडैले भने, ‘अरू निर्माण कम्पनीकै कारण ढिलाइ भइरहेको छ ।’ उनका अनुसार अहिले काम भइरहेको खण्डको दोस्रो पटक थपिएको म्याद पनि आउँदो चैतसम्म हो ।

– भवानी भट्ट