धनगढी, माघ १६ : जब चुनाव नजिकिन्छ, यो क्षेत्रका सबै उम्मेदवारहरुले सेती प्रादेशिक अस्पताल स्तरोन्नतिको एजेण्डा बनाउँछन् । तर चुनाव जितेर गइसकेपछि सबै बिर्सन्छन् ।
यस पालीको निर्वाचन नजिकिँदै गर्दा पनि केही उम्मेदवारले सेती प्रादेशिक अस्पताल स्तरोन्नति आफ्नो प्रमुख प्राथमिकता रहेको बताउन थालिसकेका छन् ।
मनोनयन दर्ताकै क्रममा कैलाली ५ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार प्रेम आलेले आफ्नो पहिलो एजेण्डा नै सेती प्रादेशिक अस्पताल स्तरोन्नति भएको बताइसकेका छन् । बिहीबार कैलालीको गौरीगंगा २ की अनिता शाही धनगढीको सेती प्रादेशिक अस्पतालमा भेटिइन् । दुई वर्षदेखि श्रीमानको मृगौला डायलाइसिस गराइरहेको उनले सुनाइन् । ‘श्रीमानलाई साताको दुई पटक डायलाइसिस गर्नुपर्ने बाध्यता छ, तर पालो पाउन निकै सास्ती हुने गरेको छ,’ उनले भनिन् ।
उसो त अनिताका श्रीमानलाई डायलाइसिस गर्न थालेको ३ वर्ष भयो । सेतीमा पालो नपाउने अवस्था भएपछि एक वर्ष धनगढीकै निजी अस्पतालमा डायइलाइसिस गराएकी थिइन् । नाम दर्ता गराएको आठ महिनापछि मात्रै सेतीमा पालो पाइन् । ‘एक वर्ष प्राइभेटमा उपचार गर्दा तीन लाख भन्दा बढी खर्च भयो । सुरुदेखि नै सेतीमा उपचार गर्न पाएको भए राम्रो हुन्थ्यो तर पालो नै पाइएन,’ अनिता भन्छिन् ।

यो समस्या अनिता मात्रै होइन डायलाइसिस गराउने पर्ने हरेक विरामीले भोगिरहेको समस्या हो । अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठ बिरामीको अत्यधिक चापचाप बढी, स्रोतसाधनको अभाव भएकाले समस्या भइरहेको बताउँछन् । श्रेष्ठका अनुसार अहिले अस्पतालमा डायलाइसिस गर्नुपर्ने दुई सय बिरामी छन् । तर उपकरण भने २१ वटा मात्रै छन् ।
सेती अस्पतालको यो अभाव डायलाइसिसमा मात्रै होइन, सबैतिर छ । शय्या अभावका कारण बिरामीहरु समस्यामा देखिन्छन् । सेतीको यो समस्या वर्षौदेखिकै हो । यसअघि २०७४ मा पनि यो क्षेत्रका कांग्रेस उम्मेदवार आरजु राणा देउवा र एमालेका नारदमूनि रानाले पनि आफ्नो प्रमुख एजेन्डा नै सेती अस्पतालको स्तरोन्नतिलाई बनाएका थिए ।
वार्षिक एक लाख जना बढी बिरामीको चाप खेपिरहेको सेती प्रादेशिक अस्पताल ५० शय्या मात्र अनुमति भएको सुदूरपश्चिमको एकमात्र रेफरल अस्पताल हो । यो अस्पताललाई एमाले उम्मेदवार रानाले तीन सय शय्या बनाउने घोषणा गरेका थिए। एमालेका रानाको घोषणालाई उछिनेर कांग्रेस उम्मेदवार राणाले पाँच सय शय्या बनाउने घोषणा गरेकी थिइन् । निर्वाचन एमालेका रानाले जिते । तर उनी सेती स्तरोन्नतिको चुनावी एजेण्डा बिर्सिए ।
०७९ को निर्वाचनमा पनि केही उम्मेदवारले यही सेती अस्पतालको एजेण्डालाई प्रमुख बनाएनन् । एमालेबाट उनै राना चुनावी मैदानमा आए । तर उनले अघिल्लो चुनाव जस्तो सेतीको एजेण्डालाई प्राथमिकतामा राखेनन्। रानासँगको प्रतिस्पर्धामा थिए, कांग्रेस उम्मेदवार डिल्लीराज पन्त । पन्तले पनि प्रमुख एजेन्डामा सेतीलाई राखेका थिएनन् ।

विस १९९७ मा जिल्ला अस्पतालका रुपमा स्थापना भएको सेती अञ्चल अस्पताल २०४० सालमा स्तरोन्नति गरिएको थियो । संघीयता कार्यान्वयनसँगै प्रदेश तहमा पनि सरकार बनेपछि यो अस्पताल प्रदेश सरकार मातहत ल्याइएको छ।
बिरामीका अपेक्षा यही अस्पतालमा छन्, तर अस्पताल जहिल्यै आवश्यक स्रोतसाधन अभावमा छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डे स्वयं दिक्दारी व्यक्त गर्छन् । ‘बिरामीका अपेक्षाहरू असीमित छन्, विपन्न र गरिब विरामीलाई यही अस्पतालको भरोसा हो,’ उनले भने । डा. पाण्डेले सम्बन्धित निकायका अधिकारीसमक्ष रोइ-कराई गरेर सेवाहरू सञ्चालन गरिरहनु परेको बताए।
– अर्जुन शाह, रञ्जना बिसी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









