कञ्चनपुर, माघ १४ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्नुभएको छ, भीमदत्त नगरपालिका–६ ऐठपुरका थानेश्वर लेखक । कञ्चनपुर निर्वाचन क्षेत्र–३ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका ४३ वर्षीय लेखक ‘डस्टबिन’ चुनाव चिन्हसहित चुनावी मैदानमा होमिनुभएको हो ।
लेखकले अरू उम्मेदवारभन्दा फरक शैलीमा चुनावी प्रचार गरिरहनुभएको छ । उहाँले प्रयोग गर्दे आएको स्कुटरको पछाडि ‘डस्टबिन’ बोकेर अगाडि नेपालको झण्डासहित उहाँ चुनावी प्रचारप्रसारमा व्यस्त देखिनुभएको छ ।
सामान्य परिवारका लेखक यहाँको चरम बिन्दुमा पुगेको बेतिथिविरुद्ध पहिलो पटक प्रतिनिधि सभा सदस्य निर्वाचनमा होमिएको बताउनुहुन्छ । देशको भ्रष्टाचार, बेतिथिलाई ‘डस्टबिन’मा हाल्नका लागि ‘डस्टबिन’ चुनाव चिन्ह रोजेको उहाँ बताउनुहुन्छ ।
नेपाल पर्यटन बोर्ड गड्डाचौकी शाखामा १६ वर्ष सहायक प्रमुख बनेर काम गर्नुभएका लेखक राजनीतिक पदमा भने खासै रुचि नभएको बताउनुहुन्छ । छ वर्ष पहिले पर्यटन बोर्डबाट निकालिएपछि विदेश जाने सोच बनाएको उहाँ बताउनुहुन्छ । तर कोरानाको समयमा विदेश जान नसकिने भएपछि उहाँले स्वदेशमै जिविको पार्जन गर्दै आउनुभएको छ ।

समाज सेवा गर्ने मनसायका साथ लेखक यस अघि २०८१ मङ्सिरमा भीमदत्त नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा पनि उम्मेदवार बन्नुभएको थियो । उपनिर्वाचनमा १२ जनाबिच वडा अध्यक्ष पदका लागि प्रतिस्पर्धा भएकोमा लेखकले पाँचौँ स्थान हासिल गर्नुभएको थियो ।
“यहाँका जनताले २–३ दिनको प्रचार प्रसारको दौरानमा वडा अध्यक्ष पदमा १२ उम्मेदवारमध्ये पाँचौँ स्थान दिलाउनुभयो”, उहाँले भन्नुभयो, “जनताको स्नेह र साथ सहयोगले समाज सेवा मार्फत राष्ट्रको हितमा काम गर्ने मनसाय बोकेर आगामी निर्वाचनमा होमिएको छु ।”
क्षेत्र–३ का स्थानीयको साथ सहयोग र सुझावले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा यस क्षेत्रको समग्र विकास गर्ने लक्ष्यले स्वतन्त्र उम्मेदवारी दिएको उहाँ बताउनुहुन्छ ।
सरकारी कार्यालयहरुबाट उपलब्ध गराइने अनुदानहरूमा चरम भ्रष्टाचार तथा पुजिपति वर्गलाई मात्रै उपलब्ध गराइने गरेको, गरिब जनतालाई कुनै रोजगारीका अवसर प्रदान नगरिने गरेको, बेतिथि भ्रष्टाचारविरुद्ध देशको सेवा गर्ने मनसायका साथ उहाँले प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो । लेखक ‘डस्टबिन’ साथमा लिएर आगामी निर्वाचनमा मत माग्नका लागि घरदैलो अभियान सँगै गाउँ, टोलमा देखिँदै आउनुभएको छ ।
कञ्चनपुर निर्वाचन क्षेत्र–३ मा एक जना प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १७ उम्मेदवार चुनावी मैदानमा होमिनुभएको छ । जसमध्ये लेखकसहित तीन जनाले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ, भने दलहरूबाट १४ उम्मेदवारहरू चुनावमा होमिनुभएको छ ।
– भवानीदत्त भट्ट
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










