02/02/2026, 20:33:04
सोमबार, माघ १९, २०८२

साउदीमा भ्रष्टाचार आरोपमा १२७ जना सरकारी कर्मचारी पक्राउ


काठमाडौँ, माघ १९ : साउदी अरबको भ्रष्टाचार नियन्त्रण प्राधिकरण (नजाहा) ले भ्रष्टाचार गरेको आरोपमा १२७ जना सरकारी कर्मचारीलाई पक्राउ गरेको छ ।

प्राधिकरणद्वारा सार्वजनिक विज्ञप्ति अनुसार जनवरी महिनाको अन्त्यतिर विभिन्न सरकारी कार्यालयहरूमा १ हजार ५४३ वटा अनुगमन तथा निरीक्षण गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो । यस क्रममा घुसखोरी र पदको दुरुपयोगसँग सम्बन्धित थुप्रै उजुरी तथा प्रमाण फेला परेका थिए ।

नजाहाले सरकारी निकायमा पारदर्शिता बढाउने र भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले ३८३ जना कर्मचारीमाथि आपराधिक तथा प्रशासनिक अनुसन्धान पनि सुरु गरेको जनाएको छ ।

पक्राउ परेका कर्मचारीहरू रक्षा मन्त्रालय, गृह मन्त्रालय, नगरपालिका तथा आवास मन्त्रालय, शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालय लगायत विभिन्न मन्त्रालयमा कार्यरत रहेका छन् । उनीहरूमाथि मुख्य रूपमा घुस लिएको र आफ्नो पदको दुरुपयोग गरेको आरोप लगाइएको छ ।

प्राधिकरणका अनुसार पक्राउ परेकामध्ये केहीलाई धरौटीमा रिहा गरिएको छ भने बाँकीमाथि कानुनी प्रक्रिया अगाडि बढाइएको छ । नजाहाले सार्वजनिक पद र सरकारी सम्पत्तिको दुरुपयोग गर्ने जोकसैलाई पनि कडा कारबाही गरिने स्पष्ट पारेको छ ।