02/02/2026, 15:26:27
सोमबार, माघ १९, २०८२

म्यानमारमा ठगी धन्दा गर्ने ४ जनालाई चीनले दियो मृत्युदण्ड


बेइजिङ, माघ १९  गते । चीनले बाई माफिया परिवारका ४ सदस्यलाई मृत्युदण्ड दिएको छ । म्यानमारमा सङ्गठित रुपमा ठगी धन्दा चलाउने कुख्यात परिवारका सदस्यलाई मृत्युदण्ड दिइएको हो ।

गुवाङडोङ प्रान्तमा धोकाधडी, सामूहिक हत्या लगायत अन्य कयौँ अपराधमा यिनीहरू दोषी ठहर भएका थिए । गएको नोभेम्बरमा अदालतले यस परिवारका ५ जना सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको थियो । सजाय पाउनेमा परिवारका मुली बाई सुओचेङ पनि थिए । सजाय पाउनु अघि नै सुओचेङको बिरामी भएर मृत्यु भएको थियो ।

गतहप्ता चीनले अर्को कुख्यात गिरोह मिङ परिवारका ११ सदस्यलाई पनि मृत्युदण्ड दिएको थियो । यो दक्षिणपूर्वी एसियामा फैलिएको सङ्गठित साइबर ठगीविरुद्ध बेइजिङले चलाएको व्यापक कारबाहीको हिस्सा हो ।

वर्षौँसम्म बाई, मिङ र अन्य केही परिवारले म्यानमारको सीमा सहर लाउक्काइङ नियन्त्रणमा लिएर क्यासिनो, वेश्यालय र साइबर ठगी केन्द्र चलाएका थिए । बाई परिवारले आफ्नै सशस्त्र सेना राखेर ४१ वटा सुरक्षित कम्पाउन्ड बनाएको थियो, जहाँ कामदारलाई कुटपिट र यातना दिने गरिएको अदालतले जनाएको छ ।

अदालतका अनुसार बाई परिवारको आपराधिक गतिविधिका कारण ६ चिनियाँ नागरिकको मृत्यु भएको, एक जनाले आत्महत्या गरेको र अन्य धेरै घाइते भएका थिए । यस्तो खालको कारबाहीले अन्तर्राष्ट्रिय ठगी सञ्जाल कमजोर हुने र आफ्ना नागरिकको सुरक्षा बढ्ने दाबी चीन सरकारले गरेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..