काठमाडौँ, माघ १९ गते । पहिचानको नाराले पहिलो निर्वाचनमै क्षेत्रीय शक्तिको रूपमा उदाएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) दोस्रो चुनावसम्म पुग्दा तितरबितर अवस्थामा छ । नाउपा थरुहट आन्दोलन र टिकापुर घटनालाई मुद्दा बनाएर पुस २०७८ मा निर्वाचन आयोगमा दर्ता भएको थियो । टिकापुर घटनामा दोषी ठहर भएर आममाफी पाएका रेशम चौधरीले श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको नाममा सो पार्टी दर्ता गराएका थिए ।
पार्टी दर्ताको चार महिनापछि वैशाख २०७९ मा भएको थियो, स्थानीय तह निर्वाचन । उक्त निर्वाचनमा नाउपा कैलालीकै पहिलो दल बन्यो । उसले जिल्लाका १३ स्थानीय तहमध्ये दुई नगरपालिका र दुई गाउँपालिकामा जित निकालेको थियो । त्यसको छ महिनापछि भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि नाउपाले स्थानीय तहको सफलतालाई निरन्तरता दियो । प्रदेशतर्फमा पाँच र प्रतिनिधिसभामा तीन सिट जित्दै कैलालीमा दुवैतर्फ पहिलो दल बनेको थियो । समानुपातिकतर्फ दुई सिट थपिएपछि प्रदेशसभामा चौथो ठूलो दल बन्दै नाउपाको क्षेत्रीय शक्तिका रूपमा उदय भयो । तर, २१ फागुनको निर्वाचन सम्मुखमा पुग्दा नाउपा छिन्नभिन्न अवस्थामा छ ।
अध्यक्ष रञ्जिताले नाउपालाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा विलय गराइसकेकी छन् । उनका श्रीमान् रेशमले ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ नामको छुट्टै दल दर्ता गराइसकेका छन् । तर, श्रीमान्श्रीमतीको निर्णयमा असहमति हुँदै नाउपाका नेताहरू भने आधा दर्जन बढी दलमा विभाजित भएका छन् । जसका कारण नाउपाको गढमा हुने चुनावलाई पनि चासोको साथ हेरिएको छ ।
२०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले कैलालीको १, २ र ३ नम्बर क्षेत्रमा जित निकालेको थियो । तत्कालीन नाउपाका अध्यक्ष रञ्जिता क्षेत्र नम्बर १ बाट ३० हजार ४०४ मतसहित विजयी भएकी थिइन् । यसैगरी, क्षेत्र नम्बर २ बाट अरुण चौधरी निर्वाचित भएका थिए । उनले २१ हजार ८७१ मत प्राप्त गरेका थिए । क्षेत्र नम्बर ३ मा २३ हजार १२० मत प्राप्त गर्दै गंगाराम चौधरी विजयी भएका थिए । अहिले तीनै जना उम्मेदवार छैनन् ।
आधार भूमिमा ६ दलमा विभाजित नाउपा
कैलाली निर्वाचन क्षेत्र नम्बर १ लाई नाउपा गठनको आधार भूमि बनाइएको थियो । उक्त क्षेत्रमा २०७४ सालमै रेशम चौधरी विजयी भएका थिए । त्यतिबेला प्रहरीको फरार सूचीमा रहेका उनले वारेसमार्फत राष्ट्रिय जनता पार्टी (राजपा)का तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए । अहिले त्यही निर्वाचन क्षेत्रमा साबिक नाउपाकै नेताहरू ६ टुक्रामा विभाजित भएका छन् ।
नाउपाबाट अलग भएर नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेका रेशमले सोही क्षेत्रबाट उम्मेदवारी दिएका थिए । निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरेको छ । अदालतले उक्त मुद्दा निर्णय गर्न बाँकी छ । नाउपाबाटै टिकापुर नगरपालिकामा नगरप्रमुख विजयी भएका रामलाल डगौरा थारु कैलाली– १ बाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार बनेका छन् । तत्कालीन नाउपाकै नेता प्रदीप चौधरी उज्यालो नेपालबाट उम्मेदवार बनेका छन् । नाउपाकै एकटुक्रा श्रम संस्कृति पार्टीमा गएको छ । श्रम संस्कृति पार्टीबाट सरस्वती चौधरी उम्मेदवार बनेकी छन् । तत्कालीन नाउपाका वरिष्ठ उपाध्यक्ष रहेका दामोदर पण्डितको समूह रास्वपामा विलय भएको छ । रास्वपाले कैलाली– १ बाट कोमल ज्ञवालीलाई उम्मेदवार बनाएको छ । उनी पनि नाउपाकै नेतृ हुन् । नाउपाकै नेतृ रुपा चौधरी भने आम जनता पार्टीबाट उम्मेदवार बनेकी छन् ।
उक्त क्षेत्रमा १८ जना उम्मेदवार चुनावी मैदानमा छन् । नेपाली कांग्रेसले जनकराज चौधरी र नेकपा (एमाले)ले द्वारिकाप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ । कांग्रेसका उम्मेदवार चौधरी २०७० मा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । त्यसबेला उनी फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेका थिए ।
कैलाली– १ क्षेत्रका मतदाताले हरेक निर्वाचनमा फरक परिणाम दिँदै आएका छन् । कांग्रेसले २०५६ र एमालेले २०५१ यता उक्त क्षेत्रमा जित निकाल्न सकेका छैनन् । २०४८ मा कांग्रेसका गंगाबहादुर कुँवर, २०५१ मा एमालेका हिमाञ्चल भट्टराई, २०५६ मा कांग्रेसकी सुशीला स्वाँर र २०६४ को पहिलो संविधानसभा सदस्य चुनावमा तत्कालीन माओवादीकी रूपा चौधरी उक्त क्षेत्रबाट निर्वाचित भएका थिए ।
रेशमको उम्मेदवारी खारेज भएसँगै उनले समर्थन गर्ने उम्मेदवार, कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र उज्यालो नेपाल पार्टीबीच यहाँ मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । रेशमको उम्मेदवारी अदालतमार्फत कायम नभए उनको दल नागरिक उन्मुक्ति पार्टी नेपालले स्वतन्त्र उम्मेदवारी दिएका फागुराम थारुलाई समर्थन गर्ने चर्चा छ । कैलाली– १ मा ६० प्रतिशत मतदाता थारु समुदायका छन् ।
कैलाली– २ र ३ मा कसको पल्ला भारी ?
कैलाली– २ मा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नाउपाका अरुणकुमार चौधरी विजयी भएका थिए । उनले नाउपा नेपाली कम्युनिस्ट पार्टीमा विलय गराइएको भन्दै उम्मेदवार नबन्ने घोषणा गरे । यद्यपि, उनले आफू नेपाली कम्युनिस्ट पार्टीको कार्यकर्ता भइसकेको बताएका छन् । उक्त क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीबाट नन्दबहादुर साउद उम्मेदवार छन् । यस्तै, नेपाली कांग्रेसले विजयबहादुर स्वाँर, एमालेले सूर्यबहादुर थापा, रास्वपाले केपी खनाल, नागरिक उन्मुक्ति पार्टी नेपालले पतिराम चौधरीलाई उम्मेदवार बनाएको छ ।
सो क्षेत्रमा कांग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिस्ट पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । सरसफाइ अभियन्ताका रूपमा परिचित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खनाल युवाहरूको मत तान्न सक्रिय छन् । ‘नयाँपुस्ताले देश बनाउनुपर्छ’ भन्ने उद्देश्यका साथ चुनावी अभियानमा लागेको उनी बताउँछन् ।
एमालेका उम्मेदवार थापा जिल्ला समन्यव समिति कैलालीको पूर्वप्रमुख हुन् । निर्माणाधीन चिसापानी–राजकाँडा केबुलकारका लगानीकर्तासमेत रहेका उनको सो क्षेत्रका राम्रो प्रभाव छ । थापा विकासका सम्भावना धेरै रहेको र ती सम्भावनालाई पूर्णता दिनका लागि आफू उम्मेदवार भएको बताउँछन् ।
कांग्रेसका स्वाँर पनि क्षेत्र नम्बर २ का लागि नयाँ अनुहार हुन् । उनको स्थायी ठेगाना लम्कीचुहा नगरपालिका–८ भए पनि उनी काठमाडौं बस्दै आएका छन् । ‘जनहितमा काम गर्ने’ भन्दै उनले भोट मागिरहेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवार रहेका साउद २०७४ मा नेकपा (माओवादी केन्द्र)बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा विजयी भएका थिए । उनले अधुरा योजनालाई पूर्णता दिन प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेको बताएका छन् । नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट उम्मेदवार रहेका पतिराम चौधरीसँग दुई दशक सामाजिक क्षेत्रमा काम गरेको अनुभव छ ।
कैलाली– ३ मा तत्कालीन नाउपाकै प्रभाव क्षेत्र मानिन्छ । उक्त क्षेत्रबाट २०७९ मा विजयी भएका नाउपाका गंगाराम चौधरी अहिले उम्मेदवार छैनन् । सो क्षेत्रबाट कांग्रेसले भीम बडुवाल, एमालेले गौरीशंकर चौधरी, नेपाली कम्युनिस्ट पार्टीले वीरमान चौधरी र नागरिक उन्मुक्ति पार्टी नेपालले विक्रम चौधरीलाई उम्मेदवार बनाएको छ । उक्त क्षेत्रमा कांग्रेस, एमाले, नेकपा र नागरिक उन्मुक्ति पार्टी नेपालबीच नै मुख्य प्रतिस्पर्धाको आकलन गरिएको छ । एमाले र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार पूर्वसहकर्मी पनि हुन् । एमालेका उम्मेदवार चौधरी माओवादी पृष्ठभूमिका हुन् । उनी लेखराज भट्टसँगै एमालेमा रहेका थिए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











