काठमाडौँ, माघ ७ : रास्वपाले प्रत्यक्षतर्फ १ सय ६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । विघटित प्रतिनिधिसभाका २१ मध्ये रास्वपाका १४ सांसद यस पटक पनि चुनावी मैदानमा उत्रिएका छन् ।
रास्वपा सभापति रवि लामिछानेले वारेसमार्फत चितवन–२ मा उम्मेदवारी दिएका छन् । उनी यसअघिको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । सहकारी ठगीको अभियोगमा पर्सा जिल्ला अदालतमा थुनछेकमा जानुपरेपछि उनले वारेसमार्फत उम्मेदवारी दिएका हुन् ।
सर्वोच्च अदालतमा पनि मंगलबार नै लामिछानेसहितको एउटा मुद्दामा बहस भयो । महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगपत्र संशोधन गर्ने निर्णयविरुद्ध दायर भएका रिटमा सर्वोच्चले कारण देखाऊ आदेश र लिखित जवाफ माग गरेको छ ।
रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार वरिष्ठ नेता बालेन्द्र शाहले झापा–५ बाट उम्मेदवारी दर्ता गराएका छन् । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध चुनाव लड्न शाह झापा–५ पुगेका हुन् । रास्वपाका उपसभापतिहरू डीपी अर्याल काठमाडौं–९ र स्वर्णिम वाग्ले तनहुँ–१ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
महामन्त्रीहरू कवीन्द्र बुर्लाकोटी गोरखा–२ र सुनील लम्साल रूपन्देही–१ मा उम्मेदवार बनेका छन् । गोरखा–२ मा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई प्रलोपा र लेखनाथ न्यौपाने नेकपाका उम्मेदवार छन् । सहमहामन्त्री विपिन आचार्य दाङ–२ बाट चुनावी मैदानमा उत्रिँदा अर्का सहमहामन्त्री भूपदेव शाह अछाम–२ मा उम्मेदवार बनेका छन् ।
रास्वपाका पूर्वसांसदहरू विराजभक्त श्रेष्ठ काठमाडौं–८, गणेश पराजुली काठमाडौं–७ र शिशिर खनाल काठमाडौं–६ मा उम्मेदवार बने । २०७९ मा काठमाडौं–२ बाट निर्वाचित सोबिता गौतम चितवन–३ मा पुगेकी छन् । निवर्तमान सभामुख इन्दिरा राना झापा–२ मा निवर्तमान सभामुख एमालेका देवराज घिमिरेसँग प्रतिस्पर्धा गर्न पुगेकी छन् ।
सचेतक निशा डाँगी झापा–१ मा उम्मेदवार बनेकी छन् । डा. तोसिमा कार्की ललितपुर–३ मै उम्मेदवार बनेकी छन् । अशोककुमार चौधरी सुनसरी–३ बाट चुनावी प्रतिस्पर्धा गर्दै छन् । हरि ढकाल चितवन–१ मै दोहोरिएका छन् भने विनिता कठायत जुम्लामा चुनावी प्रतिस्पर्धामा उत्रिएकी छन् ।
यसअघि रास्वपा सांसद रहेका पाँच जनाले भने टिकट पाएनन् । विन्दवासिनी कंसाकार, डा. चन्दा कार्की, लक्ष्मी तिवारी, शिव नेपाली र असिम शाह उम्मेदवार हुन पाएनन् । आशिफ समानुपातिकमा परे पनि नाम फिर्ता लिएका थिए । विघटित प्रतिनिधिसभामा रास्वपा प्रमुख सचेतक रहेका सन्तोष परियार र सांसद तथा सहमहामन्त्री रहेकी सुमना श्रेष्ठले २३ भदौपछि पार्टी नै छोडेका थिए ।
मनाङबाट रास्वपा उम्मेदवार नै छैनन् । रास्वपाले मनाङबाट अनिल गुरुङलाई टिकट दिएको थियो । तर, उनले मनोनयन दर्ता गरेनन् । रास्वपाको रूपन्देही–२ मा विवाद भयो । बालेन्द्र शाह पक्षका आशिष सुवेदीलाई टिकट दिएपछि विवाद भएको थियो, त्यहाँ अधिवक्ता सुलभ खरेलले मनोनयन दर्ता गरे ।
सुवेदीसँग हङकङ आईडी भएको पाइएपछि रास्वपा पछि हट्यो । रास्वपा तेह्रथुममा यसअघि ऋतुराज लिम्बूलाई उम्मेदवार बनाइएकामा सुरेन्द्र कार्कीले मनोनयन दर्ता गराएका छन् । लिम्बूलाई टिकट दिएपछि पार्टीको जिल्ला र स्थानीय तहस्तरका समितिका सबैले राजीनामा घोषणा गरेका थिए ।
रास्वपा मधेशमा पनि विवाद भएको छ । यसै साता पार्टी प्रवेश गरेका अमरेश सिंहको बोलवाला टिकट वितरणमा देखिएको भन्दै त्यहाँका नेता तथा कार्यकर्ताले विरोध जनाएका थिए । सोमबार सभापति लामिछाने र वरिष्ठ नेता शाह बसेको होटलबाहिर प्रदर्शनसमेत भएको थियो ।
रास्वपाले काठमाडौं उपत्यकामा अन्तिम समयमा उम्मेदवार तय गर्यो । ललितपुर–२ मा सञ्चारमन्त्रीबाट राजीनामा दिएर मंगलबार रास्वपा प्रवेश गरेका जगदीश खरेलले टिकट पाए । स्थानीय पार्टी समितिका नेताहरूको असन्तुष्टि र विवादका बाबजुद उनी उम्मेदवार बनेका छन् ।
काठमाडौं–३ मा काठमाडौं नगर प्रहरीका पूर्वप्रमुख राजुनाथ पाण्डेलाई उम्मेदवार बनाइएको छ । उनी बालेन्द्र शाहको कोटामा उम्मेदवार बनेका हुन् । काठमाडौं–२ र ५ मा पनि शाहकै कोटाका उम्मेदवार छन्, सुनील केसी र सस्मित पोखरेल । केसी सोमबार मात्रै रास्वपा प्रवेश गरेका हुन् ।
काठमाडौं–१ मा रञ्जु दर्शना उम्मेदवार बनेकी छन् भने यो क्षेत्रबाट टिकटको आकांक्षा राखेका पुकार बमलाई काठमाडौं–४ मा पठाइएको छ । काठमाडौं–१० मा प्रदीप विष्ट उम्मेदवार बनेका छन् । यो क्षेत्रमा टिकटको आकांक्षा राखेर पत्रकारिता छोडेका राजीव खत्रीलाई भक्तपुर–२ मा एमालेका सचिव महेश बस्नेतको प्रतिस्पर्धी बन्न पठाइएको छ ।
भूराजनीतिक चासो भन्दै समानुपातिकबाट नाम फिर्ता लिएको रास्वपाले टासी ल्हाजोमलाई हुम्लाको उम्मेदवार बनाएको छ । युवा तथा खेलकुदमन्त्रीबाट जनकपुरबाटै राजीनामा दिएका बब्लु गुप्ताले पनि सिरहा–१ बाट रास्वपाको टिकट पाएका छन् भने जेन–जी आन्दोलनबाट उदाएका ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङ गोरखा–१ बाट रास्वपाका उम्मेदवार बनेका छन् ।
सामाजिक अभियन्ता आशिका तामाङलाई रास्वपाले धादिङ–१ बाट उम्मेदवार बनाएको छ । यसअघि उनले काठमाडौं–२ वा ९ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । युवा अभियन्ता केपी खनाललाई कैलाली–२ बाट उम्मेदवार बनाएको रास्वपाले एमाले, एकीकृत समाजवादी, स्वतन्त्र प्रदेश सांसद र उज्यालो नेपाल हुँदै पार्टी प्रवेश गरेका तारा जोशीलाई डडेलधुरामा उम्मेदवार उठाएको छ ।
– जयसिंह महरा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










