01/21/2026, 11:53:42
बुधबार, माघ ०७, २०८२

‘टिकटकमा भाइरल हुने रहर’


काठमाडौँ, माघ ७ गते । सामाजिक सञ्जाल ‘टिकटक’ अहिले नेपालमा लोकप्रिय बन्दै गइरहेको छ । टिकटकको प्रयोगले धेरै चर्चित बनेका छन् । टिकटकका माध्यमबाट छोटो भिडियो बनाएर आफूलाई प्रस्तुत गर्दै लाखौँ फलोअर्स कमाएका उदाहरण पनि नभएका होइनन् । यही टिकटकको प्रयोग अब चलचित्रमा पनि देखिन थालेको छ । पछिल्लो समय विकसित प्रवृत्तिलाई केन्द्रित बनाएर निर्माण गरिएको चलचित्र हो ‘भाइरल गोर्खे’ । चलचित्रभित्र एउटा गाउँका युवाको कथा छ, जसलाई भाइरल हुने रहर छ तर उसलाई ‘भाइरल’ शब्दको ज्ञान छैन ।

भाइरल गोर्खे’ भाइरल हुने आडमा एउटा युवाले भोगेकोे चुनौती र सङ्घर्षको कथा हो । लमजुङको भुजुङगाउँ गोरखामा सामान्य तरिकाले आफ्नो जीविकापार्जन गरिरहेका गोर्खे (सौगात मल्ल) लाई भाइरल भएपछि सामना गर्नुपर्ने समस्या र ती समस्याको समाधान गर्न उहाँले के कस्तो तौरतरिका अपाउनुहुन्छ भन्ने कुरामा चलचित्रको कथा केन्द्रित छ । गोर्खे जो सुरुमा भाइरल भन्न नजानेर भाइरस भन्दै हिँड्नुहुन्छ तर पछि उहाँ टिकटकमा भाइरल बन्नुहुन्छ । उहाँले रातारात आफू यसरी भाइरल हुन्छु भनेर कतै सोच्नुभएको हुँदैन । विदेश जान ठिक्क पर्नुभएका गोर्खेलाई जब उहाँको साथी थने (बुद्धि तामाङ) ले एक रातमै भाइरल भएको खबर सुनाउनुहुन्छ त्यसपछि चलचित्रको कथाभित्र अनेकन मोड आउँछन् ।

टिकटकको विस्तारसँगै जब गोर्खेलाई कुनै एक कलाकारको नक्कल गर्ने भोक जाग्छ तब उसले के कस्ता हर्कत गर्छ । साथै भाइरल बनेदेखि लिएर भाइरल हुनेसम्मको यात्राले दर्शकलाई साढे दुई घण्टा चलचित्रभित्र रमाइलो तरिकाले रुमलिने बाटो बनाइदिएको छ ।

चलचित्रको सबै भारी सौगात मल्लले नै बोक्नुभएको छ । धेरै ठाउँमा उहाँ सफल पनि हुनुभएको छ । उहाँको अभिनय झन् झनै निखारिँदै गएको छ । गोर्खे र पुराना कलाकारको नक्कल गर्नुभएको भूमिका उहाँलाई सुहाएको छ । नेवारी लवजमा बोल्ने पात्र गीताञ्जली (सृष्टि श्रेष्ठ) टिकटकमा पहिल्यै नै चर्चित हुनुहुन्छ । गोर्खेलाई भाइरल बनाउन उहाँले पनि अनेकन् तिकडम रच्नुहुन्छ । चलचित्रमा उहाँको भूमिका कम देखिए पनि मध्यान्तरपछि भने गोर्खेलाई दोस्रो पटक विदेश जानबाट रोक्ने भूमिकामा उहाँको ठुलो योगदान रहेको छ । दुवैको भेटघाटपछि गोर्खेको गीताञ्जालीमाथि एकतर्फी माया कसरी सफल हुन्छ भन्ने कुरा पनि चलचित्रको मुख्य पाटो हो ।

गोर्खेको साथीको भूमिकामा देखिनुभएका बुद्धि तामाङको अभिनयले पनि चलचित्रलाई माथि उठाउने काम गरेको छ । आमाको भूमिकामा लक्ष्मी गिरी जम्नुभएको छ । अन्य कलाकारहरू राजाराम पौडेल, बारिस सोना, रवि भुजेल, सुनील तामाङ, मिस पवी लगायतको अभिनय पनि सम्झनलायक नै छ ।

छड्के’ ‘लालपुर्जा’ ‘छड्के २’ जस्ता चलचित्र निर्देशन गरिसक्नुभएका निर्देशक निगम श्रेष्ठले यस पटक दर्शकलाई केही फरक स्वादको चलचित्र पस्कन सफल हुनुभएको छ । सामाजिक सञ्जालले निम्ताएको सकारात्मक र नकारात्मक प्रभावको कथावस्तुका माध्यमबाट अवश्य नै निर्देशक श्रेष्ठ दर्शकलाई सचेत गर्न सफल हुनुभएको छ ।

चलचित्रभित्र गोर्खेको दुःख, जीवनको भोगाई र भाइरल हुने आडको यथार्थको कथाले निर्देशक श्रेष्ठको निर्देशकीय पक्ष अझ निखारिएको भान गराउँछ । साधारण कथामा हास्य रस थपेर निर्देशक श्रेष्ठले चलचित्रलाई झनै स्वादिलो बनाउनुभएको छ । चलचित्रको अर्को सबैभन्दा बलियो पक्ष भनेकै यसको गीतसङ्गीत हो । पुरानो चलचित्र चिनोको ‘बतासैले उडाई लग्यो माया मेरो’ बोलको गीतले सुनमा सुगन्ध भर्ने काम गरेको छ ।

– सुकृत नेपाल