काठमाडौँ, माघ ४ गते । र्यापर कुशल पोखरेलले नेपाली सिनेमा ‘रमिताको पिरती’का लागि ‘फोन नगर’ बोलको गीत तयार गरेका छन् । सुदिप्ताको निर्देशनमा बनेको सिनेमाको गीत माघ १ गते बुटवलमा आयोजित कन्सर्टमार्फत पहिलो पटक सार्वजनिक गरिएको हो ।
आगामी माघ २३ गतेदेखि प्रदर्शन हुने सिनेमा ‘रमिताको पिरती’को प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कन्सर्टमा कुशलले प्रत्यक्ष रूपमा गीत प्रस्तुत गरेपछि गीतको भिडिओ प्रदर्शन गरिएको थियो ।
कन्सर्टमा कुशलसहित आना शर्मा, समीर श्रेष्ठ, महेश काफ्ले, जेम्सी, हुलाकी लगायत कलाकारले प्रस्तुति दिएका थिए । पाँच हजारभन्दा बढी दर्शकको उपस्थितिमा कुशलले गीत गाएपछि दर्शकले ‘वान्स मोर’ भन्दै उत्साह व्यक्त गरेका थिए ।

सार्वजनिक गीतमा शब्द र स्वर स्वयं कुशल पोखरेल कै रहेको छ । स्रोताको रुचि र आधुनिक संगीत शैलीलाई ध्यानमा राखेर तयार गरिएको गीतको संगीत निर्माण चर्चिल भुसालले गरेका हुन् भने मिक्सिङ र मास्टरिङ केपासले गरेका छन् ।
गीतको भिडिओमा कुशल पोखरेल र आना शर्मा फिचर्ड छन् । झोलेइज्मको निर्देशन, छायांकन र सम्पादनमा तयार भएको भिडिओमा जेस्टीको कोरियोग्राफी रहेको छ । भिडिओमा जेनिश महर्जन छायाँकार र ऋषिक प्रधान रचनात्मक निर्देशकका रूपमा संलग्न छन् ।
कुशल पोखरेलले निर्माण टिमको लगाव र निर्देशक सुदिप्ताको सक्रियता देखेर सहकार्य गर्न तयार भएको बताए । उनले भने, ‘हाम्रो भाइब मिल्यो । आपसी छलफलपछि झन्डै सातौँ ड्राफ्टमा पुग्दा शब्दमा सहमति बनेको हो । यो ब्रेकअप स्टोरी भएकाले ब्रेकअपपछि केटीको दृष्टिकोणबाट गीत तयार गरिएको छ ।’

गीतको भिडिओमा काम गर्दा आफूलाई निकै रमाइलो लागेको उल्लेख गर्दै कुशलले ‘फोन नगर’ले युवापुस्ताको ब्रेकअपपछिको कथालाई बोलेको बताए । ‘यो गीत बनाउने कुरा झन्डै एक वर्षअघि भएको थियो । आ-आफ्नो काममा व्यस्त भए पनि अन्ततः फेरि भेटेर एउटा सिर्जना तयार गरेका छौँ । अलि समय लागेपनि कडा चिज निस्किएको जस्तो लागेको छ, दर्शक प्रतिक्रियाको प्रतीक्षमा छु’, कुशलले भने ।
यो कन्सर्टमा महेश काफ्लेले ‘जुनीभर’ र समीर श्रेष्ठले ‘तिमी भए काफी’ गीत प्रस्तुत गरेका थिए भने आना शर्माले पफर्मरका रूपमा साथ दिएकी थिइन् । निर्माता सागर लम्सालका अनुसार विराटनगर, बिर्तामोड, धरान, पोखरा, धनगढी र काठमाडौंमा पनि कन्सर्ट आयोजना गरिनेछ, जहाँ सिनेमासँग सम्बन्धित गायक गायिकाले प्रस्तुति दिनेछन् ।
आगामी माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘रमिताको पिरती’को केन्द्रमा रमिता अर्थात् आना शर्मा रहेकी छन् । ब्रेकअप स्टोरीमा आधारित सिनेमाले दर्शकलाई फरक स्वाद दिने निर्देशक सुदिप्ताको विश्वास छ । यही सिनेमामार्फत गायक समीर श्रेष्ठले अभिनेताका रूपमा डेब्यु गर्दैछन् ।

सिनेमामा आना शर्मा र समीर श्रेष्ठसँगै धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, गियना, थिन्ले लामो लगायत कलाकारको अभिनय रहेको छ । सिनेमाको ‘तिमी भए काफी’ गीतको अंश रहेको ‘आउने सालैमा लगनगाँठो, साइत जुराई’ बोलको गीत पछिल्लो समय टिकटकमा निकै चर्चामा छ । यस गीतमा आधारित लाखौ भिडिओ बनिसकेका छन्, जसले राम्रो भ्युज पाएका छन् ।
विशेषत गीतमा चलेको ‘एड्स योर कलर’ ट्रेण्ड अहिले युवापुस्ता माँझ लोकप्रिय बनिरहेको छ । आफ्नो जीवनलाई खालिपनबाट हटाउने र रङ्ग भर्नेसँग अहिले टिकटकमा भिडिओ बनाएको देख्न सकिन्छ । गायक समीर श्रेष्ठको स्वर र साश्वतको संगीत रहेको गीत अहिले सामाजिक सञ्जालमा रील्स, टिकटक र स्टोरीमा व्यापक रूपमा प्रयोग भइरहेको छ ।
‘ब्रेकअप स्टोरी’ भनिएको सिनेमा ‘रमिताको पिरती’ मा प्रेम सम्बन्ध टुंगिएपछि पात्रले गर्ने भावनात्मक यात्राको कथा प्रस्तुत गरिएको छ । सिनेमामार्फत आना शर्मा निर्माण पक्षमा पनि जोडिएकी छन् । उनले अभिनयसँगै कार्यकारी निर्मात्रीको भूमिका निर्वाह गरेकी छन् ।

सन्तोष लम्साल कार्यकारी निर्माता रहेको सिनेमामा आरपी प्रोडक्सन एसोसिएट निर्माता, निर्देशक समेत रहेका सुवास कोइराला सह-निर्माता छन् भने सागर लम्साल निर्माता छन् । सिनेमामा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको सङ्गीत रहेको छ ।
शिशिर विशंखेको डीओपी रहेको सिनेमाको सम्पादन सुनिल शिवभक्तिले गरेका छन् भने कपिल पराजुलीको कलर र कृतिका बरालको कोरियोग्राफी रहेको छ । काठमाडौं उपत्यकामा सिनेमा लाई रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले वितरण गर्नेछन् भने उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










