काठमाडौँ, पुस २१ : कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् ।
वर्देवाले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको भने हैन । केही दिनअघि मात्र मलाई पार्टीबाट प्रस्ताव गरिएको थियो,’ लक्ष्मीले भनिन् ।
वर्देवाको नाम सुरुमा समानुपातिकका लागि सिफारिस गरिएको थियो । तर कुलमान घिसिङ नेतृत्वको पार्टी पनि रास्वपामा समाहित भएपछि लक्ष्मीको नाम काटिएको थियो । त्यसपछि उनको नाम केन्द्रीय सदस्यमा प्रस्ताव गरिएको थियो । उनी अब फिल्म र राजनीतिलाई सँगसँगै लिएर जाने बताउँछिन् ।

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष उम्मेदवारमा उठ्ने विषयमा आफूले कुनै योजना नबाएको बताइन् । ‘पछि के हुन्छ थाहा छैन । अहिलेसम्म योजना बनाएको छैन । चुनावमै नउठे पनि पार्टीमा म मेरो भूमिकालाई बलियोसँग प्रस्तुत गर्छु,’ वर्देवाले भनिन् ।
लक्ष्मी नेपाली फिल्म र रंगमञ्चमा सशक्त अभिनय गर्ने स्थापित अनुहार हुन् । उनको मुख्य भूमिका रहेको फिल्म ‘अभिमन्यु’ कही समयअघि मात्र रिलिज भएको थियो ।
फिल्म ‘बुलबुल’ मा लक्ष्मीको सशक्त अभिनयको तारिफ अहिलेसम्म पनि भइरहन्छ । सहायक भूमिकामा पनि आफूलाई जरबर्जस्त प्रस्तुत गर्ने उनको राजनीतिमा उपस्थिति कस्तो देखिएला ? ‘म आफ्ना मुद्दाहरू पार्टीमा बलियोसँग राख्नेछु । जातीय विभेदशको मुद्दालाई प्राथमिकतामा राख्नेछु । दलित आरक्षणलाई लिएर समाजमा रहेको भ्रम र विवादलाई चिर्न प्रयत्न गर्नेछु,’ उनी थप्छिन्, ‘चलचित्र क्षेत्रमा महिलाको उपस्थिति र सो क्षेत्रका समस्याहरूका बारेमा पनि उनले आवाज उठाउनेछु ।’

रास्वपामा लक्ष्मीसँग अन्य कलाकार पनि सक्रिय छन् । गायक प्रकाश सपुत, गायिका सत्यकला राई, गायिका त्रिशला गुरुङ, कलाकार आशिफ शाह, अभिनेत्री रिमा विश्वकर्मा र पूर्व मिस नेपाल अनुष्का श्रेष्ठको नाम रास्वपाबाट समानुपातिकमा सिफारिस भएको थियो । सामाजिक सञ्जालमा आलोचना भएपछि आशिफ शाह र त्रिशला गुरुङले नाम फिर्ता लिएका छन् ।
– समर्पण श्री
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














