01/07/2026, 23:13:51
बुधबार, पुष २३, २०८२

सर्वोच्चमा जलेका दस हजार बढी मुद्दाका मिसिल तयार


काठमाडौँ, पुस २२ गते । सर्वोच्च अदालतमा आगजनीमा परेर जलेका १० हजार बढी मुद्दाको मिसिल तयार पारिएको छ ।

सर्वोच्चमा रहेका कुल २४ हजार मुद्दाका मिसिलमध्ये गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा २० हजार मिसिल आगलागीमा परेर जलेको थियो । चार हजार मिसिल मात्रै आगलागीबाट जोगिएको थियो ।

सर्वोच्च अदालतका प्रवक्ता निराजन पाण्डेका अनुसार यही पुस २१ गतेसम्म सेवाग्राही संस्था, महान्यायाधिवक्ताको कार्यालयबाट गरी हालसम्म जलेका मुद्दाहरूमध्ये १० हजार ३४० मुद्दाका मिसिल तयार पारिएको छ ।

सर्वोच्च अदालतले जलेका मुद्दाका मिसिलहरू महान्यायाधिवक्ता कार्यालय, नेपाल बार एसोसिएसन र सम्बन्धित मुद्दाका पक्षहरूसँग उपलब्ध गराउन आग्रह गरेको थियो । सोही अनुसार मुद्दाका मिसिलहरु सङ्कलन गर्ने काम भइरहको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..