काठमाडौं, पुस २३ गते । राष्ट्रिय स्वतन्त्र पार्टीको समानपातिक सूचीबाट रामजी रामले पनि नाम फिर्ता लिएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै समानुपातिक सूचीबाट नाम फिर्ता लिएको घोषणा गरेका हुन् ।
‘दलित समुदायबाट समानुपातिक प्रतिनिधित्वको बन्द सूचीमा मेरो नाम समावेश हुनु व्यक्तिगत रूपमा सम्मानको विषय थियो । यो केवल मेरो नाम मात्र होइन, पुस्तौँदेखि आवाजविहीन बनाइएका हजारौँ सपनाहरूको प्रतिनिधित्व थियो । त्यसैले यो अवसरप्रति म सधैँ आभारी रहनेछु’, उनले भनेका छन्, ‘तर राजनीति केवल अवसर प्राप्त गर्ने खेल होइन । यो त्याग, नैतिक साहस र सही समयमा सही निर्णय गर्ने जिम्मेवारी पनि हो । आज म यो निष्कर्षमा पुगेको छु कि मेरोभन्दा अझै बढी पीडित, अझै कम सुनिएको, तर संसदभित्र पुग्न नितान्त आवश्यक आवाजहरू अझै कतै पछाडि छन् ।‘
उनले अगाडि भनेका छन्, ‘यदि मेरो एक कदम पछाडि हटाइले उनीहरूका लागि एक ढोका खुल्छ भने, त्यो नै मेरो सबैभन्दा अर्थपूर्ण योगदान हुनेछ । म संसदको कुर्सीमा बसेर मात्र परिवर्तन सम्भव हुन्छ भन्ने मान्यता राख्दिनँ । सामाजिक चेतनाका थुप्रै मोर्चाबाट पनि न्यायको लडाइँ लड्न सकिन्छ भन्ने विश्वास मेरो जीवनको अभ्यास हो ।’
आज बिहानमात्रै सिर्जना वलीले पनि रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिएकी थिइन् । यसअघि अरनिको पाँडे, डा. त्रिशला गुरुङ, आशिफ साह, मिलन लिम्बू, टासी शेर्पा, महेन्द्र लावती, सचिन ढकालले समानुपातिक सूचीबाट नाम फिर्ता लिएका थिए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














