
नेपालगन्ज, फागुन १५ गते । सुरक्षा निकायको ध्यान निर्वाचनमा केन्द्रित भएको मौका छोपेर अवैध आयात र तस्करी तथा अन्य विभिन्न गैरकानुनी काम गर्नेहरु सक्रिय हुन थालेका छन् ।
सोही क्रममा अवैध रुपमा भारतबाट भन्सार छलेर भित्र्याइएको २० लाख रुपियाँभन्दा बढीको सामान प्रहरीले यसअघि सीमानजिकबाट बरामद गरेको थियो । ठुलो परिमाणको अवैध खयर काठसहित एक जना कत्था उद्योग सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले विशेष सूचनाको आधारमा अवैध खयर काठ ढुवानी भइरहेको अवस्थामा ठुलो परिमाणमा काठसहित ट्रक र कत्था उद्योगीलाई जानकी गाउँपालिकाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक पातलीले बताउनुभयो ।
सूचना अधिकारी पातलीका अनुसार बर्दिया जिल्लाको राजापुरको जंगलबाट चोरी गरी ल्याइएको खयर काठ भे १ ख ४३९३ नम्बरको ट्रकमार्फत बाँकेको जानकी गाउँपालिका –६ स्थित बागेश्वरी कत्था उद्योग प्रा.लि. मा लैजाँदैगरेको सूचनाका आधारमा छापा मारेर नियन्त्रणमा लिइएको हो ।
उक्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उद्योगको प्रवेशद्वारमै ट्रक रोकी सब–डिभिजन वन कार्यालय नेपालगन्जका विज्ञ प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिको रोहवरमा चेकजाँच गर्दा डिभिजन वन कार्यालय बर्दियाको स्थानान्तरण इजाजतपत्रमा २०० थान खयर काठ उल्लेख भए पनि ट्रकमा ४८२ थान (२८७.१२ घन फिट) खयर काठ फेला परेको प्रहरीले जनाएको छ ।
ट्रकमा रहेको २८२ थान काठको कुनै कागजात नभएको पुष्टि भएको जनाउँदै सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पातलीले ट्रक चालक राम चौहान खटिक र बागेश्वरी कत्था उद्योग प्रा.लि. नेपालगन्जका सञ्चालक विवेक मैनालीलाई पक्राउ गरिएको बताउनुभयो ।
उहाँले काठमा टाँचा लगाई छुटपुर्जी दिने सम्बन्धित कर्मचारीलाई समेत अनुसन्धानको दायरामा ल्याइएको बताउनुभयो । प्रहरीले बरामद काठ, ट्रक तथा पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि सबडिभिजन वन कार्यालय नेपालगन्ज, बाँकेमा बुझाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी पातलीका अनुसार सो घटनाबारे थप अनुसन्धान भइरहेको छ । निर्वाचन नजिकिंदै गएको अवस्थामा गत केही समययता आएर बिशेष गरी सीमा पारीबाट चोरी पैठारी गर्नेहरु पनि सक्रिय भइरहेको नाकाका स्थानीयले जनाएका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















