काठमाडौँ, पुस २३ : भद्रपुर विमानस्थलमा अवतरणका क्रममा पुस १८ गते दुर्घटनामा परेको बुद्ध एयरको एटीआर विमानको छानबिन गर्न दुई वटा छुट्टाछुट्टै छानबिन समिति गठन गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार समिट एयरमा कार्यरत वरिष्ठ क्याप्टेन विनोद पुरीलाई अनुसन्धानकर्ताका रूपमा नियुक्त गर्दै मन्त्रालयस्तरीय छानबिन समिति गठन गरेको हो । गैरसैनिक हवाई उडान नियमावली, २०७१ अनुसार क्याप्टेन पुरीले आवश्यकता अनुसार विषयगत विज्ञहरू समेटी दुर्घटनाको अनुसन्धान गर्नेछन् ।

गैरसैनिक हवाई उडान नियमावलीमा रहेको दुर्घटना छानबिनसम्बन्धी व्यवस्था अनुसार क्याप्टेन पुरीको नेतृत्वमा गठित आयोगले भद्रपुरमा भएको उक्त दुर्घटनाको विस्तृत छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउनुपर्नेछ । आयोगले वायुयान, चालकदल, वायुसेवा कम्पनी, सेवाप्रदायक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण, भद्रपुर विमानस्थल कार्यालय लगायत सबै पक्षको स्वतन्त्र र निष्पक्ष छानबिन गर्नेछ ।
यसैबीच, नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि घटनाको बेग्लै छानबिन प्रक्रिया अघि बढाएको छ । सेवाप्रदायक र नियामक दुवै भूमिकामा रहेको प्राधिकरणलाई हवाई घटना तथा दुर्घटनाको छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणको नागरिक उड्डयन नियमावली, २०५८ अनुसार कानुनी अधिकार छ । उक्त नियमावली अनुसार नागरिक उड्डयनसँग सम्बन्धित कुनै पनि घटना वा दुर्घटनाको प्रचलित कानुनबमोजिम हुने छानबिनका अतिरिक्त महानिर्देशकले आफैं पनि उक्त विषयमा छानबिन गर्न सक्ने नियमावलीमा व्यवस्था रहेको छ ।

यसै कानुनी प्रावधानअनुसार प्राधिकरणले त्यहाको फ्लाइट सेफ्टी विभागमा एफओआईमा कार्यरत वरिष्ठ क्याप्टेन रूपकुमार सिद्धीको संयोजकत्वमा छानबिन समिति गठन गरेको प्राधिकरणका प्रवक्ता विक्रमराज गौतमले जानकारी दिए । उनका अनुसार समितिमा एएनएसडीका उपनिर्देशक मुकेश दाहाल, फ्लाइट सेफ्टी विभागका उपप्रबन्धक विधान श्रेष्ठ, सेफ्टी म्यानेजमेन्ट डिभिजनका प्रबन्धक लक्ष्मण देवकोटा तथा एरोड्रम सेफ्टीका उपप्रबन्धक योगेश पुडासैनी सदस्य रहेका छन् । समितिले ३५ दिनभित्र प्रतिवेदन निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णलाई बुझाउनुपर्नेछ ।
यसैबीच, बुद्ध एयरले पनि दुर्घटनाको आन्तरिक छानबिन गरिरहेको कम्पनीका एक अधिकारीले बताएका छन् । उक्त उडानमा कुनै मानवीय क्षति नभए पनि प्रारम्भिक अवलोकनका क्रममा विमानको अगाडिको नोज, ककपिट तथा ल्याण्डिङ गियरमा क्षति पुगेको उद्धारकर्मीहरूले जनाएका छन् ।

दुर्घटनामा संलग्न क्याप्टेन र को–पाइलट दुवैलाई हाल उडान रोस्टरबाट हटाइ ग्राउन्डेड गरिएको छ । दुवै छानबिन समितिले विमानका फ्लाइट डाटा रेकर्डर (एफडीआर) र ककपिट भ्वाइस रेकर्डर (सीभीआर) अध्ययन गर्ने, पाइलट तथा भद्रपुर विमानस्थलको टावरमा कार्यरत एयर ट्राफिक कन्ट्रोल कर्मचारीसँग बयान लिने लगायतका अनुसन्धान कार्य गर्नेछन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











