01/09/2026, 09:42:35
शुक्रबार, पुष २५, २०८२

कुलमानको राजीनामापछि खरेल र गुप्तामाथि दबाब


काठमाडौं, पुस २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले हिजो बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका हुन् । जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री घिसिङले प्रधानमन्त्रीसहित चौतर्फी दबाबपछि राजीनामा दिएका हुन् ।

उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएर पत्रकार सम्मेलन गर्दै ‘आफूले अन्तरिम सरकार छाडेको’ जानकारी गराए । गत ३० भदौमा अन्तरिम सरकारको मन्त्रीका रूपमा शपथग्रहण गरेका घिसिङले उज्यालो नेपाल पार्टी गठन गरी त्यसको संरक्षण गरिरहेका थिए ।

रास्वाप सभापति रवि लामिछाने थुनामुक्त भएलगत्तै सो पार्टीसँग एकता गर्ने निर्णय लिएर घिसिङ उपसभापति बने । तर, उनी ‘आफू कुनै दलमा संलग्न नभएको’ दाबी गर्दै आएका थिए । आगामी २१ फागुनको निर्वाचनमा प्रतिस्पर्धा तयारीमा रहेका घिसिङले अन्ततः राजीनामा दिएर सक्रिय राजनीतिमा होमिने निर्णय गरेका हुन् ।

उनको यो निर्णयसँगै रास्वपानिकट खेलकुदमन्त्री बब्लु गुप्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलमाथि राजीनामाका लागि थप नैतिक दबाब परेको छ । गुप्ता र खरेल पनि रास्वपाका तर्फबाट उम्मेदवार बन्ने तयारीमा छन् ।

_राजधानी दैनिक


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..