01/09/2026, 08:56:29
शुक्रबार, पुष २५, २०८२

भेनेजुएलामा अमेरिकी राज


महिनौँको विशेष तयारीपछि अमेरिकाले भेनेजुएलामाथि भीषण सैन्य आक्रमण गरेको छ । त्यहाँका निर्वाचित राष्ट्रपति निकोलस मदुरो र उहाँकी पत्नी सिलिया फ्लोरेसलाई नाटकीय ढङ्गले पक्राउ गरी अमेरिका लगेर लागुऔषध र हतियारविरुद्धको मुद्दा चलाइएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको एकल आदेशमा अमेरिकी सेना र गुप्तचर निकायले सो कार्य सम्पन्न गरेका हुन् । पक्राउ गरिएका मदुरोलाई आँखामा कालोपट्टी र हातमा हतकडी लगाएर न्युयोर्कको बन्दीगृहमा पु¥याएको थियो । मदुरो दम्पतीलाई अमेरिकी सेनाको डेल्टा फोर्सले विशेष सैन्य कारबाही गर्दै पक्राउ गरेको थियो । डेल्टा फोर्स अमेरिकाको एक विशिष्ट प्रति आतङ्कवादविरुद्धको सैन्य टुकडी हो । मदुरो पक्राउ गर्ने व्रmममा आफ्नातर्फ कुनै मानवीय क्षति बेहोर्नु नपरेको र केही सैनिक सामान्य घाइते भएको अमेरिकाले जनाएको छ । मदुरोको सुरक्षामा खटिएका ३२ जना क्युबाली सुरक्षाकर्मी भने डेल्टा फोर्सको कारबाहीमा मारिएका थिए । जनवरी ३ को बिहानै अध्यारोमा १५० भन्दा बढी लडाकु विमान, बम वर्षा विमान, हेलिकोप्टरबाट राजधानी काराकासको मुख्य मुख्य सैन्य अखडा लक्षित गर्दै भीषण आक्रमण गरिएको थियो । शृङ्खलाबद्ध क्षेप्यास्त्र र बम विस्फोटले जनजीवन त्राहिमाम बनेको थियो । विशेष प्रविधि प्रयोग गरी काराकास विद्युत् आपूर्ति बन्द गरिएको थियो । अन्धकार बनाएर भीषण बमबारी गर्दै राष्ट्रपति दम्पतीलाई चिलले चल्ला लगे जस्तै गरी शयनकक्षबाटै डेल्टा फोर्स पक्राउ गर्न सफल भएको थियो ।

अमेरिकी संयुक्त सेना प्रमुख जनरल ड्यान केनले रातभरि सञ्चालन गरिएको मदुरो पक्राउ अभियानमा पश्चिमी गोलार्धका विभिन्न सैन्य अड्डाबाट १५० भन्दा बढी विमान प्रयोग गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार कम उचाइमा उड्ने हेलिकोप्टरमार्फत विशेष दस्ता मदुरोको आवासमा प्रवेश गरेको थियो । अमेरिकी सैनिकमाथि गोली चले पनि अन्ततः जनवरी ३ को बिहान ३:२९ बजे मदुरो र उहाँकी पत्नीलाई नियन्त्रणमा लिएर देशबाहिर निकालिएको केनले स्पष्ट गर्नुभयो । मदुरो र उहाँकी पत्नीलाई सुतिरहेको अवस्थामा शयनकक्षबाटै तानेर लगिएको थियो । डेल्टा फोर्स र एफबिआईको सहयोगमा गरिएको यो कारबाहीमा कुनै अमेरिकी सैनिकको मृत्यु भएन तर केही सैनिक घाइते भएका छन् । एउटा विमानमा क्षति पुगे पनि उड्न सक्ने अवस्थामा रहेको जनरल केनले बताउनुभयो । अमेरिकी सेनाको कारबाहीमा मदुरोको सुरक्षामा खटिएका ३२ जना क्युबाली सुरक्षाकर्मी मारिएका थिए ।

राष्ट्रपति ट्रम्पले मदुरोको पक्राउपछि त्यहाँको सरकार सञ्चालन अब अमेरिकाले गर्ने घोषणा गर्नुभएको छ । उहाँका अनुसार अब अमेरिकाका तेल कम्पनी भेनेजुएला जाने छन् । तेलको उत्पादन, प्रशोधन, बिक्री वितरणको जिम्मा लिने छन् । त्यहाँको पूर्वाधार निर्माणको काम गर्ने छन् । कम्युनिस्ट सत्ता ढाल्न सफल अमेरिका त्यहाँ प्रजातान्त्रिक सरकार स्थापना गरेपछि मात्र हस्तान्तरण गर्ने योजनामा छ । बिना क्षति मदुरो दम्पतीलाई पक्राउ गर्न सफल भएपछि राष्ट्रपति ट्रम्प उत्साहित बन्नुभएको छ । उहाँले क्यानडालाई अमेरिकाको ५१ औँ प्रान्त बनाउने अभिव्यक्तिदेखि कोलम्बिया, मेक्सिको, इरान र क्युवामाथि दबाब सिर्जना गर्नुभएको छ । अमेरिकाको सुरक्षाका लागि डेनमार्कको स्वायत्त क्षेत्र ग्रिनल्यान्ड र सुविधाका लागि पानमाको पानमा नहरमाथिको स्वामित्व लिने जस्ता ट्रम्पका योजनाले ती मुलुक तर्सित छन् ।

अन्तर्राष्ट्रिय समुदायको झिनो विरोधमा मदुरोले अब मुक्ति पाउने सम्भावना कम छ । न्युयोर्कको दक्षिणी जिल्ला अदालतमा दायर नयाँ अभियोगपत्रमा अमेरिकी महान्यायाधिवक्ता पाम बन्डीले मदुरोले ‘राज्य–प्रायोजित लागुऔषध गिरोह’ सञ्चालन गरेको र देशभित्र लागुऔषध तस्करी सहज बनाएको आरोप लगाउनुभएको छ । ट्रम्पले भेनेजुयलामाथि आक्रमण गरेपछि मात्र कङ्ग्रेसका सदस्यलाई जानकारी दिएको स्वीकार गर्नुभएको छ । सूचना चुहिने डरले कारबाही अभियानको जानकारी नदिएको भन्दै ट्रम्पले आफ्नो बचाउ गर्नुभयो । उहाँले भन्नुभयो, “कङ्ग्रेसमा सूचना चुहिने हुने सम्भावना धेरै हुन्छ । चुहावट भयो भने राम्रो हुँदैनथ्यो ।” डेमोक्रेट सिनेटरहरूले तुरुन्तै जानकारी दिन माग गर्दै कङ्ग्रेसको स्वीकृतिबिना आक्रमण गरिएको भन्दै आलोचना गरेका छन् तर अधिकांश रिपब्लिकन सिनेटरले ट्रम्प प्रशासनको कदमको स्वागत गरेका छन् ।

भेनेजुएला विश्वकै सबभन्दा धेरै तेल भण्डार भएको देश हो । उत्तर–पश्चिममा पर्ने मराकाइबो क्षेत्र र ओरिनोको बेल्टमा भेनेजुएलाको सबभन्दा ठुलो तेल भण्डार छ । २० औँ शताब्दीको सुरुवातमा तेल भण्डार पत्ता लागेपछि भेनेजुएला दशकौँसम्म ल्याटिन अमेरिकामा सबभन्दा धनाढ्य देश बनेको थियो तर तेलमा आधारित राजस्वमाथिको निर्भरता, अमेरिकी नाकाबन्दी, गलत आर्थिक कदम र राजनीतिक अस्थिरताका कारण आर्थिक स्थिति कमजोर बनेको छ । तेल निर्यातक राष्ट्रहरूको सङ्गठन (ओपेक) का अनुसार भेनेजुएलामा ३०३ अर्ब ब्यारेल कच्चा तेलको भण्डार छ । पहिले दैनिक ३५ लाख ब्यारेलसम्म तेल उत्पादन गर्ने यो देशमा अहिले १० लाख ब्यारेल तेल उत्पादन गर्छ । अमेरिका त्यहाँको तेल देखेर लोभिएको हो । अमेरिकी कदमलाई लिएर विश्व विभाजित भएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले अमेरिकाको यो कदमले खतरनाक नजिर स्थापना गर्ने बताउनुभएको छ । उहाँले राष्ट्रसङ्घको बडापत्रसहित सम्पूर्ण अन्तर्राष्ट्रिय कानुनको सम्मान हुनुपर्नेमा जोड दिनुभएको छ । रुस, चीनलगायतका शक्ति राष्ट्रहरूले अमेरिकी सैन्य हस्तक्षेपको विरोध गरेका छन् भने केही साझेदार राष्ट्रले मौन समर्थन जनाएका छन् । चीनले मदुरो दम्पतीलाई तत्काल रिहा गर्न माग गरेको छ ।

अमेरिकी प्रशासनले बर्सौंदेखि भेनेजुएलाका राष्ट्रपति मदुरोलाई अपराधी भन्दै अमेरिकी कानुन अनुसार कारबाही गर्न खोजिरहेको थियो । सन् २०२० मा ट्रम्पको पहिलो कार्यकालमै मदुरोविरुद्ध ‘नार्को–आतङ्कवाद’ र ‘कोकिन तस्करी’ को अभियोग लगाइएको थियो । अमेरिकाले यसअघि मदुरोलाई पक्राउ गर्न सघाउने र सूचना दिने व्यक्तिलाई पाँच करोड डलर पुरस्कार दिने भनेको थियो । मदुरो सरकारलाई निशाना बनाउँदै आएको अमेरिकाले पछिल्ला महिना भेनेजुएलाका दर्जनौँ जहाज नष्ट गर्नुका साथै तेल ट्याङ्करमाथि नाकाबन्दी गर्दै आएको थियो । गएको डिसेम्बरमा अमेरिकी गुप्तचर संस्था (सिआइए) ले भेनेजुएलाको तटीय बन्दरगाहमा ड्रोन आक्रमणसमेत गरेको थियो । पछिल्लो कारबाहीअघिसम्म पनि आफूले मदुरोलाई आत्मसमर्पण गर्न आग्रह गरेको ट्रम्पले खुलासा गर्नुभएको छ तर मदुरोले आत्मसमर्पण गर्न नमानेपछि सैन्य कारबाही गरिएको हो ।

गत सेप्टेम्बरमा मदुरोले भेनेजुएलाको रक्षा गर्न ८० लाखभन्दा बढी मानिसले हस्ताक्षर गरेको दाबी गर्दै उहाँले त्यस आकारको मिलिसियालाई हतियार दिने बताउनुभएको थियो । इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्रटेजिक स्टडिज (आइआइएसएस) को एक रिपोर्टका अनुसार भेनेजुएलामा एक लाख २३ हजार सक्रिय सेनाका साथै दुई लाख २० हजार मिलिसियाका सदस्य र आठ हजारको सङ्ख्यामा जगेडा सैनिक रहेका छन् । विज्ञहरूले कमजोर सेनाबिच मदुरो र उहाँका सहयोगीहरू छापामार शैलीको युद्धको तयारी गरिरहेको ठानेका थिए । सन् २००६ मा तत्कालीन राष्ट्रपति ह्युगो चाभेजले रुसबाट खरिद गरेका लगभग २० सुखोई लडाकु विमानहरूका अतिरिक्त भेनेजुएलाले सन् १९८० को दशकमा एक दर्जनभन्दा बढी अमेरिका निर्मित एफ–१६ पनि प्राप्त गरेको थियो । त्यसबेला काराकस वासिङ्टनको एक प्रमुख क्षेत्रीय सहयोगी थियो ।

गत अक्टोबरको अन्त्यतिर अमेरिकासँग तनाव बढिरहँदा मदुरोले पाँच हजार वटा रुसमा बनेका इग्ला–एस विमानभेदी क्षेप्यास्त्र आफ्ना मुख्य हवाई प्रतिरक्षा स्थलमा तैनाथ गर्नुभएको थियो । इग्ला–एस छोटो दुरीमा, कम उचाइमा रहेका निशानामा मार गर्न सक्ने र बोकेर सजिलै यताउता लैजान सकिने हवाई प्रतिरक्षा प्रणाली हो जसले क्रुज मिसाइल, ड्रोन, हेलिकोप्टर र कम उचाइमा उडान गर्ने विमानलाई खसाल्न सक्छ । भेनेजुएलासँग चीनमा निर्मित सभएन–४ बख्तरबन्द गाडी समेत छन् र हालैका वर्षमा उक्त देश हमलाकारी सशस्त्र ड्रोनहरूले सुसज्जित एक मात्र दक्षिण अमेरिकी देश बनेको छ । भेनेजुएलाले इरानबाट पेकाप–थ्री नामक द्रुत हमलाकारी डुङ्गाहरू समेत प्राप्त गरेको छ । त्यसमा पानीजहाजप्रतिरोधी मिसाइल लन्चरजडित छन् । त्यस्तै रुसले बनाएको प्यान्टसिर–एस १ र बुक–एम २ ई जमिनबाट आकाशमा हमला गर्ने मिसाइल प्रणाली पनि भेनेजुयलाले प्राप्त गरेको छ । रुसी सांसद एलेक्सी झुरावलेभका अनुसार हालै तिनलाई इल–७६ मालवाहक विमानमा काराकसमा पठाइएको छ ।

कैयौँ विश्लेषकले मदुरो र उहाँको भित्री समूह गुरिल्ला युद्धको तयारीमा लागेको विश्वास गरेका थिए । गत सेप्टेम्बरमा भेनेजुएलाका गृहमन्त्री डिओस्डाडो काबेलोले देश लामो युद्धका लागि तयार रहेको चेतावनी पनि दिनुभएको थियो तर अमेरिकी आक्रमणसामु मदुरोका सबै तयारी फिका साबित भए । लागुऔषध तस्करी गरेको भन्दै मदुरोविरुद्ध पाँच वर्ष पहिल्यै अमेरिकाले आफ्नो देशमा मुद्दा चलाएको थियो । अहिले पक्राउ गरेर अमेरिका पु¥याएपछि फेरि अर्को अभियोगपत्र दर्ता गरेको छ । त्यस्तै मदुरोले तस्करी गरेको लागुऔषधका कारण दसौँ हजार अमेरिकीको मृत्यु भएको भन्दै ट्रम्पले त्यसलाई अमेरिकाविरुद्ध आक्रमणको संज्ञा दिनुभएको छ । त्यही रोक्न आत्मरक्षामा यो कारबाही गर्नु परेको ट्रम्पको दाबी छ ।

ट्रम्पले मदुरोलाई पक्राउ गरेको पछिल्लो घटना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चार वर्षअघि युक्रेनमा गरेको आक्रमण जस्तै गैरकानुनी भएको कानुनविद्को दाबी छ । सन् २००३ मा अमेरिकाले इराकमा गरेको आक्रमणको जति पनि यसको कानुनी हैसियत छैन भनिँदै छ । त्यतिबेला त संयुक्त राष्ट्रसङ्घले सन् २००२ मा एक प्रस्ताव सर्वसम्मतिले पारित गर्दै इराकलाई निशस्त्रीकरण गर्न अन्तिम अवसर भएको र पालना नगरेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको थियो । आक्रमण गर्नुअघि पनि तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले अमेरिकी संसद्बाट अनुमति लिनुभएको थियो । उहाँले राष्ट्रसङ्घ सुरक्षा परिषद्बाट अनुमति लिने प्रयास गर्नुभएको थियो तर सुरक्षा परिषद्ले अनुमति दिएको थिएन ।

अब केही समय भेनेजुएलामा अमेरिकाकै खटन चल्ने देखिन्छ । चीन र रुसले विरोधमा विज्ञप्ति निकाले पनि अमेरिकालाई रोक्न सक्ने देखिँदैन । पछिल्लो केही महिनादेखि चरमस्तरमा पुगेको दुई देशबिचको तनावपछि भएको अमेरिकी सैन्य हस्तक्षेपले भेनेजुएलालाई गहिरो अनिश्चिततामा धकेलेको छ । दक्षिण अमेरिकाको उत्तरी तटमा पर्ने भेनेजुएलाको पश्चिममा कोलम्बिया, दक्षिणमा ब्राजिल र पूर्वमा गुयाना रहेको छ । उत्तरमा क्यारेबियन सागर र एटलान्टिक महासागर छन् । रणनीतिक रूपमा पनि भेनेजुएलाको अवस्थितिले अमेरिका र युरोप जोड्ने प्रमुख समुद्री मार्गसम्म पहुँच राख्छ । अब अमेरिकाले भेनेजुएलामा आफू अनुकूलको सरकार चलाउने छ । अमेरिकालाई रोक्ने अहिले अर्को शक्ति नभएकाले तत्काल अन्तर्राष्ट्रिय दबाबले खासै अर्थ राख्दैन । अमेरिका सर्वेसर्वा शक्तिशाली राष्ट्र भएकाले विश्व संस्था संयुक्त राष्ट्रसङ्घ पनि उसैको खटनपटनमा चल्न बाध्य छ ।

अमेरिकाले बाह्य दबाब बेवास्ता गर्दै सन् २००३ मा इराकमाथि आक्रमण गरी तत्कालीन इराकी राष्ट्रपति सद्दाम हुसेनलाई सत्ताच्युत गरेको थियो । त्यहाँ सद्दाम समर्थक सेना र कर्मचारीतन्त्रका लगभग सबैलाई हटाएको थियो । सद्दामले राखेको शक्तिशाली विशेष दस्ताका सैनिकहरूलाई निकालेकाले उनीहरू नै पछि आइएसआईमा लागेर इराक र सिरियाको आधाभन्दा धेरै भाग कब्जा गरेका थिए । त्यसबाट पाठ सिकेर अमेरिकाले भेनेजुएलामा नयाँ ढङ्गले प्रशासन चलाउने सोच बनाएको छ । अमेरिकाले लगाएको नाकाबन्दी फुकुवा भएपछि र अमेरिकी कम्पनीले निकालेको तेल बेचेपछि अर्थतन्त्र पनि सुधार हुने छ । अनि निश्चित समयपछि त्यहाँ निर्वाचन हुने छ । त्यहाँ वामपन्थी होइन प्रजातन्त्रवादी नेतालाई सत्तामा लगिने छ । यो अमेरिकाको चाहना हो । अमेरिकाले अघि सारेको भेनेजुएला योजना सफल भएमा छिमेकी क्युबामाथि आक्रमण गरेर त्यहाँको कम्युनिस्ट सत्ता पल्टाउन प्रयास गरिने सम्भावना बढ्दै छ ।

आठ लाख ८१ हजार वर्ग किमि क्षेत्रफलमा फैलिएको, तीन करोड २० लाख जनसङ्ख्या रहेको जैविक विविधताले भरिपूर्ण सुन्दर मुलुक भेनेजुएला लामो समयसम्म स्पेनको अधीनमा रहन बाध्य भयो । सन् १५२२ मा स्पेनले अधीनमा लिएको यो मुलुक लामो सङ्घर्षपछि सन् १८११ मा आंशिक स्वतन्त्र हुँदै सन् १८३० मा पूर्ण स्वतन्त्र भएको हो । त्यसपछि थुप्रै राजनीति उतारचढाव, तानाशाही सैनिक, प्रजातान्त्रिक र समाजवादी सत्ता भोगिसकेको छ । तेस्रो कार्यकाल सुरु गरेका निर्वाचित राष्ट्रपति मदुरोलाई अपहरण गरेर अमेरिकाले लगेसँगै यो मुलुक नयाँ सङ्कटमा फसेको छ ।

– रामप्रसाद आचार्य