त्रिभुवन विश्वविद्यालयले दुई दिनअघि ५१ औँ दीक्षान्त समारोह सम्पन्न गर्यो । जहाँ २०८१ असार १ गतेदेखि २०८२ जेठ ३१ गतेसम्ममा अध्ययन पूरा गरेका ८९ हजार १९१ जना विद्यार्थी दीक्षित भए । समारोहमा सहभागी हुनका लागि भने १६ हजार ३८० जना विद्यार्थीले मात्रै औपचारिक रूपमा आवेदन दिएका थिए । आवेदकमध्ये पनि सबै विद्यार्थी कार्यक्रमस्थलमा उपस्थित भएनन् ।
यस्तै दृश्य विगतका समारोहमा पनि देखिएको थियो । गत वर्ष सम्पन्न ५० औँ दीक्षान्त समारोहमा पनि ७४ हजार १४९ जना परीक्षार्थी योग्य भएकोमा १४ हजार ३०८ जनाले मात्रै समारोहमा सहभागी हुन फाराम भरेका थिए । त्यस्तै दुई वर्षअघि सम्पन्न ४९ औँ दीक्षान्त समारोहमा पनि ७३ हजार ७४९ जना योग्य भएकोमा १२ हजार ४१९ जनाले मात्रै फाराम भरेका थिए ।
दीक्षान्तमा सहभागी हुन फाराम नभरे पनि विश्वविद्यालय सभाले ग्रेसलिस्ट उत्तीर्ण गरेका सबै विद्यार्थीलाई प्रधानमन्त्री तथा कुलपतिले समारोह मार्फत दीक्षित भएको घोषणा गर्ने चलन छ । यस पटक पनि सोही प्रक्रियाबाट कुलपतिको हैसियतमा प्रधानमन्त्री सुशीला कार्कीले ८९ हजार १९१ जनालाई नै एकै पटक दीक्षित भएको घोषणा गर्नुभयो । विभिन्न विधा तथा सङ्कायबाट सार्वेत्कृष्ट घोषित भएका विद्यार्थीलाई पदक तथा पुरस्कार पनि प्रदान गरियो ।

दीक्षित हुनेको सङ्ख्या बढिरहने तर समारोहमा उपस्थित हुन भने फाराम नभर्ने प्रवृत्ति बढ्दा दीक्षान्तप्रति विद्यार्थीको अरुचि बढेको कोणबाट विश्लेषण पनि हुने गरेको छ । त्रिविले आफ्ना विद्यार्थीलाई आकर्षित गर्न नसक्दा यो समस्या आएको आरोप पनि लाग्ने गरेको छ तर ठुलो शैक्षिक तथा प्रशासनिक संरचना भएका कारणले पनि हुन सक्छ, दीक्षित हुन योग्यमध्ये मुस्किलले २० प्रतिशत मात्रै विद्यार्थी सहभागी भए पनि दीक्षान्त समारोहको माहोल भने निकै उल्लासमय देखिन्थ्यो । यति धेरै विद्यार्थी एकै पटक दीक्षित भएको त्रिविको इतिहासमा त पहिलो थियो नै, सम्भवतः विश्वका अन्य विश्वविद्यालयमा पनि एक पटकमा झन्डै ९० हजार विद्यार्थी दीक्षित भएका समारोह सायदै होलान् ।
यस पटकको दीक्षान्तमा विश्वप्रतिष्ठित नोबेल पुरस्कार विजेता जापानको टोकियो विश्वविद्यालयका प्राध्यापक ताकाकी काजिता प्रमुख अतिथिको रूपमा आउनुभएको थियो । यसले गर्दा पनि यस पटकको दीक्षान्त समारोह विगतभन्दा विशेष बनेको थियो । समारोहमा सहभागी धेरैको आकर्षण बन्नुभएको थियो काजिता । कारण थियो, उहाँले सभामा व्यक्त गर्नुभएको विचार र विद्यार्थीलाई दिनुभएको उपदेश ।
काजिताले विद्यार्थीलाई दीक्षित भएकोमा मात्रै ढुक्क नहुन आग्रह गर्दै भन्नुभयो, “सधैँ कठिन बाटो मात्रै पछ्याउनुहोस् । नयाँ कुरोको खोजीमा जुट्नुहोस् । अनुमान गर्नुहोस र निर्माणमा जुट्नुहोस ।” सन् २०१५ मा भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार विजेतासमेत रहनुभएका काजिताको अर्को भनाइ पनि निकै पे्ररणादायी थियो । दीक्षित विद्यार्थीलाई अनुरोध गर्दै उहाँले भन्नुभयो, “आफूले आफैँलाई सोध्नुहोस्, मेरो भूमिका के हो ? समाजमा मैले नयाँ के गर्न सक्छु ?”
भविष्यमा शिक्षक, वैज्ञानिक, इन्जिनियर, नीति निर्माता वा राजनीतिज्ञ जे बने पनि समाजमा के योगदान दिन सकियो भन्ने विषयलाई ध्यान दिनुपर्ने काजिताको अतिथि मन्तव्य विद्यार्थीका लागि प्रेरणा बनेको थियो । पारिवारिक विरासत वा वर्तमानमा देखिएको शक्तिले मात्रै कुनै पनि व्यक्तिको भविष्य सुनिश्चित नहुने तर जसले निरन्तर प्रयास गर्छ उसैले भविष्य जित्ने भन्ने काजिताको ओजपूर्ण सुझावले विद्यार्थीलाई थप आकर्षित गरेको थियो ।

समारोहमा उपस्थित दीक्षित विद्यार्थीले काजिताको भनाइमा समर्थन जनाइरहेका थिए । अब विदेशको भिसा लगाएर दौडिहाल्ने हो भन्दै टिकटक र भिडियो बनाउने विद्यार्थीको जमात पनि उत्तिकै देखिन्थ्यो दीक्षान्त समारोहस्थल दशरथ रङ्गशालामा । कतिसम्म भने स्नातकोत्तर तह (एमए) को अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा सर्वोत्कृष्ट अङ्क ल्याएर स्वर्ण पदक जितेका सुजन लामिछाने पदक थाप्नकै लागि जेनेभाबाट नेपाल आउनुभएको विषय मञ्चबाट घोषणा हुँदै गर्दा केही विद्यार्थीले भने दीक्षान्त समारोह स्थलबाटै आज बेलुका कतारको उडान छ भन्दै दौडिएर बनाइएको भिडियोले धेरैको ध्यान खिचेको थियो ।
गत भदौमा भएको जेन-जी आन्दोलनपछि राजनीतिक, प्रशासनिक र सामाजिक हिसाबले नेपाल परिवर्तनको सँघारमा छ । मुलुकमा लामो समयदेखि देखिएको राजनीतिक अस्थिरता, बेरोजगारी, सुशासनको कमी, पारदर्शिताको अभाव, सुस्त प्रशासन संयन्त्र तथा हरेक जसो सरकारी अड्डामा हुने गरेको ढिला सुस्ती, सामान्य कामका लागि पनि घुस तथा आर्थिक लेनदेन गर्नुपर्ने अवस्थाबाट समाज विक्षिप्त बनेको थियो । यिनै समस्याको एकमुष्ठ परिणाम जेन-जी समूहको आन्दोलनबाट प्रकट भएको थियो ।
आफ्ना अभिभावकसहित खचाखच भएको दशरथ रङ्गशालामा उपस्थित दीक्षित विद्यार्थीको अनुहारमा पनि मुलुकले खोजेको स्थिरता र परिवर्तनको चाहनालाई संस्थागत गर्नुपर्ने भाव झल्किन्थ्यो । उनीहरूमा मुलुकको आशा र भरोसा स्पष्ट देखिन्थ्यो । साथै मुलुक विकासका लागि परम्परागत सोच, शैली र राज्य संरचनाको शैलीमा परिवर्तन हुनुपर्ने पक्षमा पनि उनीहरूको स्पष्ट आवाज थियो ।
आफूले प्राप्त गरेको ज्ञान, विज्ञान, आधुनिक नव प्रवर्तन र अर्थतन्त्रको बिचमा सुन्दर सन्तुलन निर्माणका लागि हरदम तत्पर रहेको तर राज्यले पुलको काम गर्नुपर्ने राजनीति शास्त्रमा एमफिल उत्तीर्ण गर्नुभएका राजकुमार सिलवालले बताउनुभयो । नेपालीको भविष्य नेपालीले नै बनाउनुपर्ने र यसका लागि आफूहरूले मुलुकका लागि जस्तोसुकै योगदान दिन पनि पछाडि नपर्ने प्रतिबद्धता सिलवाल जस्तै अन्य दीक्षितबाट व्यक्त भएको थियो ।
भदौको आन्दोलनको नेतृत्व गरेका जेन-जी समूहमै पर्ने यी दीक्षित तथा विभिन्न विधा र सङ्कायका ‘गोल्ड मेडल’ प्राप्त गरेका विद्यार्थीसमेत सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने, रचनात्मक क्षमता भएका युवालाई राज्यले चिनेर सम्मानजनक व्यवहार गर्नुपर्ने तथा नागरिकको सामाजिक सुरक्षाको सुनिश्चितता हुनुपर्ने पक्षमा हुनुहुन्छ । त्रिविबाट एमए समाजशास्त्रमा सर्वोत्कृष्ट भएर त्रिविले प्रदान गरेको सुमन रिजाल पदक प्राप्त गर्नुभएका सौरभ कोइराला स्वदेशमै केही गर्ने हुटहुटी बोकेका विद्यार्थीलाई राज्यले सहजीकरण गरिदिनुपर्ने बताउनुहुन्छ । स्वदेशमै बसेर अनुसन्धान तथा प्राज्ञिक क्षेत्रसँग सम्बन्धित काम गर्ने योजना बनाउनुभएका कोइराला भन्नुहुन्छ, “युवावस्था भएकाले हुन सक्छ, यो बेला अलमल जस्तो हुने रहेछ । राज्यले अब बजारमा पुलको काम गर्नु पर्छ । विदेश पलायन हुने योजना छैन ।”

बीए एलएलबीमा उत्कृष्ट (स्वर्णपदक विजेता) भावना अधिकारी पनि उच्च मेहनत गर्ने हो भने कामका लागि स्वदेशमै प्रशस्त सम्भावना रहेको बताउनुहुन्छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने सोचाइ कहिल्यै नआएको बताउँदै अधिकारी भन्नुहुन्छ, “पछिल्लो समय युवा पुस्तामा स्वदेशभन्दा विदेशमा मात्रै धेरै सम्भावना देख्ने प्रवृत्ति बढेको छ तर काम गर्नेका लागि नेपालमै विदेशभन्दा धेरै अवसर छ ।” अधिकारी अहिले न्याय प्रशासन सेवाको राजपत्राङ्कित तृतीय श्रेणी (अधिकृत) मा कार्यरत हुनुहुन्छ । पशु सेवा विभागमा कानुन अधिकृतको रूपमा कार्यरत अधिकारीले एलएलबीमा त्रिभुवन विश्वविद्यालयबाट स्वर्ण पदक (गोल्ड मेडल) मात्रै पाउनुभएन, सरकारी सेवामा प्रवेश गर्दा पनि दोस्रो नम्बरमै नाम निकाल्नुभयो । अब युवा पुस्ताले स्वदेशप्रति गुनासो मात्रै होइन, सम्भावना खोजेर स्वदेशलाई नै कर्मथलो बनाउनुपर्ने अधिकारी बताउनुहुन्छ ।
निश्चय नै अहिले दीक्षित विद्यार्थीले हासिल गरेको डिग्री उनीहरूको कठोर परिश्रम र असफलतासँग जुधेर प्राप्त गरेको विजयको चिनारी हो तर विद्यार्थीले डिग्री प्राप्त गर्दैमा सफलताको शिखर चुमिसकियो भनेर ढुक्क हुने अवस्था भने छैन । २१ औँ शताब्दीको विश्वले अब विद्यार्थीसँग कुन डिग्री छ भन्दा पनि त्यो डिग्रीले केही काम गर्छ कि गर्दैन भनेर सोध्न थालिसकेको छ । त्रिविबाटै स्नातकोत्तर तहको माइक्रोबायोलोजीमा सर्वोत्कृष्ट (गोल्ड मेडलिस्ट) घोषित हुनुभएका रवीन्द्र पण्डित विश्वव्यापीकरणको अहिलेको समयमा काम गर्नेका लागि विदेश र स्वदेशले केही फरक नपार्ने बताउनुहुन्छ तर मुलुकमा राजनीतिक स्थिरता हुनुपर्ने र बनेका नियम, कानुनको भने सबै पक्षबाट पूर्ण पालना हुनुपर्ने पण्डितको भनाइ छ । “हामीसँग सम्भावना नभएको होइन, त्यसको उत्खनन गर्न नसकेको मात्रै हो । अब यसका लागि सरकार र युवा सँगसँगै लाग्नु पर्छ,” पण्डित भन्नुहुन्छ ।

शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले मुलुकको उच्च शिक्षा क्षेत्रलाई निरन्तर प्रभाव पारिरहेको छ । नेपाली विद्यार्थीको ठुलो हिस्सा उच्च शिक्षाका लागि विदेश जानुका कारणमध्ये यो पनि एक हो । अर्को कुरा, विश्वभर नै अन्य क्षेत्रमा जस्तै शिक्षा क्षेत्रमा समेत अकल्पनीय परिवर्तन आइरहेका छन् । केही वर्षअघिसम्म अनुमान समेत नगरिएका स्तरमा प्रविधिको विकास र बसाइँ सराइको दर बढिरहेको अवस्थामा नेपाली विद्यार्थीमा परिवर्तनको आकाङ्क्षा बढ्नु स्वाभाविक हो । यस्तो अवस्थामा राज्यले अभिभावकीय भूमिका वहन गर्दै बदलिँदो परिवेश अनुसार युवामैत्री नीति तथा कार्यक्रम बनाएर कार्यान्वयन गर्नु आवश्यक भइसकेको छ ।
विद्यार्थीलाई स्वदेशमै टिकाउने हो र मुलुकलाई आश्रित (निष्क्रिय) जनसङ्ख्याको चापबाट मुक्त गराउन पनि उनीहरूको भावना बुझ्नु जरुरी छ । दीक्षित विद्यार्थीले पनि आफूले प्राप्त गरेको उपाधिलाई व्यक्तिगत उपलब्धि मात्रै नठानेर सामाजिक, नैतिकता, इमानदारिता र राष्ट्र निर्माणको हतियारको रूपमा प्रयोग गर्नु आवश्यक छ । उनीहरूले आफ्नो उपाधिलाई प्रमाणपत्रको रूपमा मात्रै सीमित नराखी क्षमता पहिचानको औजारको रूपमा प्रयोग गर्नु पर्छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीले दीक्षान्त समारोहमा भन्नुभए जस्तै विद्यार्थीले सधैँ विचार गर्नु पर्छ, ‘यो मुलुकलाई अड्याउने जिम्मेवारी मेरा काँधमा पनि छ ।’
– सूर्यप्रसाद पाण्डे
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











