02/21/2026, 13:42:36
शनिबार, फागुन ०९, २०८२

कैलाश मानसरोवरको रोमाञ्चक यात्रा


यात्रा भनेको गन्तव्यमा पुग्ने कुरा मात्र होइन, बाटोमा सिकिने अनेकौँ पाठको सँगालो पनि हो ।’ कैलाश मानसरोवर यात्रालाई यही एउटा वाक्यले ‘कैलाश कोरा’ पुस्तकको जन्म दिएको छ । यात्रा अवधिमा सङ्कलन गरिने जानकारी र सिकिने ज्ञानलाई समेट्न सकिए एउटा पुस्तक लेख्न सकिन्छ । नेपालबाट सडकमार्ग हुँदै गरिने कैलाश मानसरोवर यात्रा रोमाञ्चक रहे पनि थोरै कष्टकर छ । एक दशकअगाडिसम्म निकै कष्टकर रहेको तिब्बती क्षेत्रको यात्रा ब्रह्मपुत्र नदीमा निर्मित पुल र व्यवस्थित सडकले थोरै सहज बनाएको छ । लेखक राजेन्द्रमान डङ्गोलले हृदयको गहिराइबाट सुरु गरेको यात्रा उचाइसँगको मित्रतासम्म पहिलो खण्ड मानेर पढ्दा अबको यात्रा कस्तो होला भन्ने जिज्ञासा उत्पन्न गराउँछ । समीक्षकको हैसियतमा ‘कैलाश कोरा’ लाई तीन दिनमा पढ्न तीन खण्डमा बाँडेको छु ।

पहिलो खण्डमा नेपालबाट सागासम्मको यात्रावृत्तान्त पढ्न सकिन्छ । सोही खण्डमा ‘उन्मत्त भोटोकोशी : सीमापारको अनुभूति’, ‘विश्व छानोको सौन्दर्य’ पनि पढ्न सकिन्छ । बौद्ध धर्मको काग्य परम्पराका साधक मिलारेपाको चर्चाले पुस्तकको पहिलो खण्डलाई पूर्ण गरेको छ । मिलारेपाको गाउँ क्याङ चा मुख्य सडकबाट १४ किलोमिटर टाढा रहेकाले यात्रामार्गमा समेटिएको छैन । कालो जादुको अभ्यास गरेर शत्रु नष्ट गर्ने पूर्वाग्राही सोचको जीवनशैलीलाई पूर्णतः त्याग्दै ध्यान र कठोर तपस्यामार्फत मिलारेपाले ज्ञान प्राप्त गरे ।

यस पुस्तकलाई तीन खण्डमा बाँडेर पढ्दा सजिलो हुन्छ । बिचको भाग अन्य दुईभन्दा अग्लो र अधिक धारिलो हुन्छ । त्यही भएर पहिलो खण्डभन्दा डेढ गुणा बढी पाना पृष्ठबाट धेरै जिज्ञासा साम्य भइसक्छ । दोस्रो खण्ड मानेर मौन सरोवरमा आध्यात्मिक विम्बदेखि डोल्मा लासम्म पढ्न सकिए अध्यात्म चिन्तन सुरु भइसक्छ । डोल्मा ला पार गर्न ५०४० मिटरबाट ५६३० को उचाइमा पुगेर ४८०० मिटरको जुथुलपुकमा पुग्नु पर्छ । यो यात्राको महत्वपूर्ण र सबभन्दा चुनौतीपूर्ण हिस्सा हो । यो ठाउँमा पुग्नुभन्दा पहिले मानसरोवरको यात्रा गर्नु अनिवार्य छ ।

केरुङबाट सागाको दुरी २४० किलोमिटर हो । सागाबाट मानसरोवरको दुरी ४८० किलोमिटर रहे पनि बास बस्न ५६० किलोमिटरको यात्रा पार गर्नु पर्छ । ब्रह्मपुत्र नदीलाई यार्लुङ चाङ्पो भनिन्छ । यो सागामा देखेपछि पुनः डोङ्बाभन्दा अगाडि बढ्दा भेटिन्छ । यो नदीलाई पुरुषको संज्ञा दिइए पनि अन्य नदीलाई स्त्रीको रूप मानिन्छ । पुस्तकमा जापानका भिक्षु एवं प्रसिद्ध अन्वेषक एकाइ कावागुचीले सन् १९०० मा मुस्ताङ हुँदै यात्रा गरेकाले कोरला नाकाबाट कैलाश यात्रा गराउनुपर्ने तर्क गरिएको छ । सागा ला, मायुम ला, डोल्मा लासहितका ठाउँको नाम आउँदा यो ‘ला’ भनेको के हो भन्ने जिज्ञासा आउन सक्छ । तिब्बतमा ‘ला’ भनेको उचाइमा भएको ठाउँ अथवा उच्च दर्रालाई सम्बोधन गरिन्छ ।

मानसरोवरको तिब्बती नाम ‘मापाङ युम्छो’ हो । यस सरोवरको स्रोत ७७२८ मिटर अग्लो गुरला मान्धाता र बोन री हिमाल हो । भगवान् रामको पूर्वज मान्धातालाई यस सरोवरमा पुग्ने पहिलो यात्रीका रूपमा हेरिन्छ । गुरला हिमालमा पुगेर ध्यान गरेकाले गुरला मान्धाता हिमाल भएको मानिन्छ । यो सरोवरको उचाइ ४५९० मिटर र परिधि ८२ किलोमिटर रहेको छ । सरोवरको किनारमा आठ वटा गुम्बा छन् । त्यहाँ पुगेपछि सबैले आआफ्ना परम्परा अनुसार दीप जलाउन नमस्कार गरिरहेका देखिन्छ । यो ठाउँ हिन्दु, बौद्ध र जैनको साझा धरोहर बनेको छ । धार्मिक गतिविधिमा गङ्गाजललाई अपनाएको समाजले मानसरोवरको जलसँग उत्तिकै स्नेह गर्छन् । त्यही भएर यहाँको पवित्र जल भरेर ल्याउँछन् । गङ्गासेवन गर्न किनारमा रात्रि विश्राम गरे जस्तै मानसरोवर किनारमा पनि विश्राम गर्ने व्यवस्था छ । एकआपसको विपरीतमा मानसरोवर र राक्षस ताल छ । लाङ्गाको अर्थ राक्षस र थाक्को अर्थ विष हो । एउटै च्छो (ताल) लाई दुवै नामबाट सम्बोधन गरिन्छ । मानसरोवरको यात्रापछि किंवदन्तीको गुफा, शान्तिको पहाड तथा धार्चेनको कथालाई दोस्रो खण्ड अन्तर्गत पढ्दा मज्जा आउँछ । ‘मोक्षको पदचिह्न र रहस्यहरूमा रुमल्लिँदा’ पढेपछि डोल्मा लाको आनन्द लिन सकिन्छ । पुस्तकमा यात्रा अवधिको शौच सङ्कट र समाधानलाई ‘ट्वाइलेट एडभेन्चर’ कै रूपमा प्रस्तुत गरिएको छ ।

चिउ गुम्बाभित्र स्थापित पद्मसम्भवको मूर्ति र त्यहाँको आध्यात्मिकतालाई बेजोड ढङ्गले प्रस्तुत गरिएको छ । मिथकीय रूपमा चिउको चरा बुझाउने गरिन्छ । मानसरोवर सेवन र स्नान गरेपछि धार्चेन (दरचेनको अपभ्रंश) सुरु हुन्छ । तिब्बती भाषामा दरको अर्थ प्रार्थना झन्डा तथा चेनको अर्थ विशाल वा महान् भएर दरचेनको अर्थ विशाल प्रार्थना झन्डा हुन्छ । यहाँबाट थारबोचे (४५७५ मिटर) पुगेर १० किलोमटरको कैलाश पर्वतको परिक्रमा सुरु भई दिराफुक (५०४० मिटर) मा सम्पन्न हुन्छ । रहस्यमय कैलाश पर्वतको उचाइ ६७१४ मिटर रहे पनि अहिलेसम्म चुचुरोमा पुग्न सकिएको छैन । यस मार्गमा ताम्दिङ दोखाङ, शिलाकुट पर्छ । यी ठाउँहरू रहस्यमय छन् । जैन धर्मका २४ तीर्थङ्करमध्ये प्रथम ऋषभनाथले कैलाश क्षेत्रमा मोक्ष (निर्वाण) प्राप्त गरेको मानिन्छ । त्यही बोन धर्मले कैलाशलाई आकाशदेवीको आसन मान्ने गर्छन् । पुस्तकमा डोल्मा लाको कठिन यात्रा पनि रोचक छ । शिवत्सलमा आफूलाई मन लागेका वस्तुहरू अर्पण गर्ने परम्परा सुरु भइसकेको छ । बाटोमा बौद्ध मत अनुसार तारादेवी तथा हिन्दु मत अनुसार पार्वतीको पदचिह्न देखिन्छ ।

तेस्रो खण्ड मानेर हयग्रीव प्रतिविम्ब र अन्तिम पदचाप पढ्न अन्य खण्डभन्दा कम समय खर्चिनु पर्छ । सानो तलाउ गौरीकुण्डको रहस्य पनि रोचक छ । लाम्चु उपत्यकातर्फ बढ्दा ध्यानपूर्वक हेरेपछि घोडाको टाउको उठाएको आकृति देखिन्छ । त्यही घोडाको गर्दन भएको आकृतिलाई ‘हयग्रीव’ भनिन्छ । पुस्तकमा उल्लेख भए अनुसार बौद्ध ग्रन्थहरूमा अशुभ शक्तिहरूलाई तहसनहस पार्ने, यात्रुलाई सुरक्षा दिने र जागरणको प्रतीक मानिन्छन् । हिन्दु धर्ममा हयग्रीवलाई भगवान् विष्णुको रूप मानिन्छ । यात्रा अगाडि बढ्दै जाँदा जुथुलफुक अर्थात् मिराकल भ्याली पुगिन्छ । पुस्तकमा मिलारेपा र बोन धर्मगुरु नारो बेनचुङको आध्यात्मिक प्रतिस्पर्धाबारे उतार गरिएको छ । धार्चेनदेखि धार्चेनसम्मको परिक्रमा ५२ किलोमिटर छ ।

यात्रा अवधिमा भोग्नुपर्ने अध्यागमनको झन्झट, शारीरिक कष्ट, तिब्बतको सहरी र ग्रामीण विकासका विषय निकै चाखलाग्दा छन् । भृकुटी, आगमतन्त्र, शिवपार्वती आध्यात्मिक संवादसहितको शब्दलाई कम्तीमा एक÷एक पानाको भए पनि व्याख्याको कमी ‘कैलाश कोरा’ पुस्तकमा देखिएको छ । बौद्ध धर्मावलम्बीले प्रदक्षिणालाई कोरा भन्छन् । प्रदक्षिणाको अर्थ कुनै विशेष स्थानलाई दायाँतर्फबाट परिक्रमा गर्ने क्रियालाई जनाउँछ । बोन धर्मावलम्बी बायाँतर्फबाट परिक्रमा गर्छन् ।

‘कैलाश कोरा’ का लेखकले यात्रावृत्तान्तमा थोरै रिपोर्टिङ शैली अपनाएका छन्, जसले पाठकलाई नयाँ जानकारी प्रदान गर्छ । पुस्तक पढ्दा लेखकको मनमा कुनै विशेष जिज्ञासा देखिएको छैन । यसमा समावेश सहकर्मी यात्रीहरूको भनाइ र जानकारीबारे थप खोज गरेर अर्को संस्करणमा समेट्न सकिए यस्ता कमजोर पक्ष हराएर जाने देखिन्छ । साथै नागवंशीय राजाहरू र उनका मानसरोवर क्षेत्रमा बसोबास गरेको विषय उठान भएको भए पाठकलाई काठमाडाँै उपत्यकाका नागवंशीय राजाहरूसँग जोड्न सकिन्थ्यो ।

नेपालयले सन् २०२५ जुलाईमा प्रकाशन गरेको १४७ पृष्ठको ‘कैलाश कोरा’ विद्युतीय पुस्तकको मूल्य १४५ तथा मुद्रित पुस्तकको मूल्य ३९५ रुपियाँ रहेको छ ।

– राकेशप्रसाद चौधरी