02/20/2026, 16:48:26
शुक्रबार, फागुन ०८, २०८२

अमेरिका–इन्डोनेसिया व्यापार सहमति


वासिङ्टन,  फागुन ८गते ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पिस’ को पहिलो बैठकका क्रममा वासिङ्टनमा रहनुभएका इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तो अमेरिकासँग महत्त्वपूर्ण व्यापार सम्झौतामा पुग्नुभएको छ । ह्वाइट हाउसले बिहीबार घोषणा गरेको उक्त सहमतिलाई दुवै देशले द्विपक्षीय आर्थिक सम्बन्धको नयाँ अध्यायका रूपमा प्रस्तुत गरेका छन् ।

सम्झौताअनुसार दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अर्थतन्त्र इन्डोनेसियाले अमेरिकी वस्तुहरूमा लगाइँदै आएको ९९ प्रतिशत शुल्क हटाउनेछ । त्यसको बदलामा अमेरिकाले इन्डोनेसियाका अधिकांश वस्तुहरूमा १९ प्रतिशत भन्सार दर कायम गर्नेछ । यो दर यसअघि कम्बोडिया र मलेसियाका लागि पनि तय गरिएको थियो । साथै इन्डोनेसियाले गैर–कर अवरोधहरू सम्बोधन गर्ने र महत्त्वपूर्ण खनिज तथा अन्य औद्योगिक सामग्रीहरूको अमेरिकातर्फ निर्यातमा लगाइएका प्रतिबन्धहरू हटाउने प्रतिबद्धता जनाएको ह्वाइट हाउसले जनाएको छ ।

यसै सन्दर्भमा इन्डोनेसिया र अमेरिकी कम्पनीहरूबीच ३८ अर्ब ४० करोड डलर बराबरका ११ वटा व्यावसायिक सम्झौताहरू सम्पन्न भएका छन् । तीमध्ये अमेरिकी सोयाबिन, मकै, कपास र गहुँ खरिद, तेल क्षेत्र पुनःउत्थानमा सहकार्य, महत्त्वपूर्ण खनिज आपूर्ति तथा कम्प्युटर चिप्समा संयुक्त लगानी समावेश छन् । इन्डोनेसियाली कम्पनीहरूले १० लाख मिलियन टन सोयाबिन, १६ लाख टन मकै, ९३ हजार टन कपास तथा सन् २०३० सम्म ५० लाख टन गहुँ खरिद गर्ने सहमति व्यक्त गरेका छन् ।

बुधबार युएस चेम्बर अफ कमर्समा आयोजित कार्यक्रममा राष्ट्रपति प्रबोवोले पछिल्ला महिनाहरूमा गहन वार्ता भएको र धेरै विषयमा ठोस समझदारी बनेको बताउनुभयो । ह्वाइट हाउसले उक्त सहमतिलाई ‘ठूलो सम्झौता’ भन्दै यसले आर्थिक सुरक्षा सुदृढ पार्ने, विकास प्रवर्द्धन गर्ने र विश्वव्यापी समृद्धिमा नेतृत्व गर्न सहयोग पुग्ने जनाएको छ । सम्झौतामा अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीर र इन्डोनेसियाका समकक्ष एयरलाङ्गा हार्टार्टोले हस्ताक्षर गर्नुभएको थियो । हार्टार्टोले यसलाई द्विपक्षीय सम्बन्धको ‘नयाँ स्वर्ण युग’ को सुरुआतका रूपमा व्याख्या गर्नुभयो ।

व्यापार सहमतिसँगै कूटनीतिक सन्देश पनि जोडिएको छ । विश्वकै सबैभन्दा ठूलो मुस्लिम जनसङ्ख्या भएको देशका नेता प्रबोवोले गाजामा अन्तर्राष्ट्रिय स्थिरीकरण बलका लागि आठ हजार वा आवश्यक परे थप सेना पठाउने प्रतिबद्धता दोहोर्‍याउनुभएको थियो । ट्रम्पले बैठकमा इन्डोनेसियाको भूमिकाको प्रशंसा गर्नुभयो भने प्रबोवोले ट्रम्पको नेतृत्वमा ‘वास्तविक शान्ति’ सम्भव हुने विश्वास व्यक्त गर्नुभयो ।

उक्त बोर्डमा कम्बोडिया र भियतनाम पनि सहभागी छन् । कम्बोडियाले अमेरिकासँग पहिल्यै व्यापार सम्झौता गरिसकेको छ भने भियतनाम फ्रेमवर्क सहमतिमा पुगेको छ । यसैबीच भियतनामका नेता टो लाम पुनःनिर्वाचित भएपछि पहिलो पटक अमेरिका आउनुभएको हो । विश्लेषकहरूले चीन भ्रमणअघि उहाँको अमेरिका यात्रा कूटनीतिक प्राथमिकतामा आएको परिवर्तनको सङ्केतका रूपमा लिएका छन् ।

अमेरिकाले भियतनामी निर्यातमा २० प्रतिशत कर लगाएपछि दुवै देशबीच व्यापार वार्ता जारी छ । वार्ताको छैटौँ चरण फेब्रुअरीको सुरुमा सम्पन्न भएको थियो । महत्त्वपूर्ण खनिज आपूर्ति शृङ्खलामा चीनको प्रभाव घटाउने अमेरिकी रणनीतिसँग जोडिएको यो व्यापक आर्थिक तथा कूटनीतिक पहललाई वासिङ्टनले क्षेत्रीय सन्तुलन सुदृढ गर्ने कदमका रूपमा हेरेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..