02/21/2026, 13:42:44
शनिबार, फागुन ०९, २०८२

चालक निदाउँदा स्कारपियो दुर्घटना, चार जना घाइते


हेटौँडा, फागुन ९ गते । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरा बेसीस्थित कुलेखानी–फाखेल–काठमाडौँ सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

शनिबार बिहान करिब ६ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना ४ च ९७७७ नम्बरको स्कारपियो चालक निदाउँदा अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल शाखा बाटोमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बारा कलैया उपमहानगरपालिका–२ का ३८ वर्षीय चालक विजय यादव, कलैया उपमहानगरपालिका–७ बरेवा बस्ने ५० वर्षीय सन्तोष कुमार गुप्ता, उहाकी श्रीमती ४० वर्षीया सोभा गुप्ता र १६ वर्षीय छोरा अनमोल गुप्ता घाइते हुनुभएको छ ।

blog

घाइतेमध्ये सोभा गुप्ताको अवस्था गम्भीर रहेको छ । उहाको कम्मर र टाउकोमा चोट लागेको छ भने अन्य घाइतेहरुको हात, खुट्टा, छाती र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिनुभयो ।

दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी फाखेलबाट प्रहरी सहायक निरीक्षक कमल खत्रीको नेतृत्वमा पाँच जनाको टोली घटनास्थल पुगेको थियो । स्थानीयवासीको सहयोगमा घाइतेहरुको उद्धार गरी उपचारका लागि एम्बुलेन्समार्फत काठमाडौँ पठाइएको छ । दुर्घटनाग्रस्त स्कारपियो गाडी घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

– अनिल पराजुली