काठमाडौँ, माघ २८ गते । काठमाडौँबाट रामेछाप सदरमुकाम मन्थलीतर्फ जाँदै गरेको यात्रुवाहक बस मन्थली–६, मसानटारमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । पुष्पलाल मार्गको मन्थली–खुर्कोट सडकखण्डमा मङ्गलबार काठमाडौँबाट रामेछापको सिरिसे, ढाँडे हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको प्र. ३–०१–००५ ख ९९७५ नम्बरको बस सडकको मोडबाट दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक भोला भट्टका अनुसार अरनिको यातायातको उक्त बस सडकबाट करिब सय मिटर तल तामाकोशी नदीमा खसेको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका असई मेघराज काफ्लेले उक्त बसमा सवार पाँच महिलासहित १२ जनाको मृत्यु र चालकसहित आठ जना घाइते भएको जानकारी दिनुभयो । उहाँले मृतकमध्ये ५०/५५ वर्षीय एक पुरुषको अझै सनाखत नभएको बताउनुभयो ।
उहाँका अनुसार बस दुर्घटनामा परी रामेछाप लिखुतामाकोशी गाउँपालिका–४, बिजुलीकोटकी २१ वर्षीय बबी तामाङ, २८ वर्षीय दिपेश बस्नेत, २५ वर्षीय दीपेन्द्र बस्नेत, वडा नं. ७, तिल्पुङकी ३५ वर्षीय सानुमाया तामाङ, ३१ वर्षीय तारा तामाङ, २४ वर्षीय रमिता तामाङ र ३६ वर्षीय भीमबहादुर तामाङ मृत्युको भएको छ ।
दुर्घटनामा लिखुतामाकोशी गाउँपालिका–६, खिम्तीकी ४५ वर्षीय मनकुमारी बरुवाल, सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नं. ६ गैरीगाउँका ३४ वर्षीय शिव श्रेष्ठ, दोलखा जिल्ला भीमेश्वर नगरपालिका–८ का ६० वर्षीय मानबहादुर तामाङ र रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–६, भुजीका २४ वर्षीय विशाल सुनुवारको मृत्यु भएको छ । असई काफ्लेले एक व्यक्तिको सनाखत नभएको बताउनुभयो ।
दुर्घटनाग्रस्त बसमा रहेका यात्रुको उद्धारका लागि नेपाली सेनाको खड्गदल गणबाट सैनिक टोली, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको थियो । आठ जना घाइतेलाई थप उपचारका लागि धुलिखेल र काठमाडौँका अस्पतालमा पठाइएको छ । दुर्घटनाग्रस्त बसका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको र बसमा कति यात्रु थिए तथा कति जना दुर्घटनामा परे भन्ने यकिन गर्ने काम भइरहेको पनि प्रहरीले जनाएको छ ।
गत बिहीबार बैतडीको पुर्चौडी–७, भौनीबाट बेहुलीसहित जन्ती बोकेको बस दुर्घटना हुँदा एकै परिवारका तीन जनासहित १३ जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएका थिए । एकै हप्तामा भएका दुई ठुला सवारी दुर्घटनामा ठुलो मानवीय क्षति हुनुका साथै मुलु्क नै शोकमग्न भएको छ । रामेछाप दुर्घटनाको कारण खुल्न बाँकी छ भने बैतडी दुर्घटनाका चालकले घुम्तीमा ‘कटिङ’ नपुगेपछि ब्याक गर्दा बस भीरबाट खस्न पुगेको बताएको बैतडी प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।
सार्वजनिक यातायात एकपछि अर्को गरी भइरहेका दुर्घटनाबाट बर्सेनि हजारौँ नागरिकले अकालमा ज्यान गुमाउनु पर्दा सडक दुर्घटना रोकथामका लागि राज्य, यातायात व्यवसायी तथा नियामक निकायको ध्यान नपुगेका गुनासो बढ्दै गएको छ । कमजोर तथा साँघुरा सडक र यातायात व्यवसायीबिचको अस्वस्थ प्रतिस्पर्धासँगै क्षमताभन्दा बढी यात्रु वा भार बोक्ने प्रवृत्तिका कारणले एकपछि अर्को दुर्घटना दोहोरिँदै गइरहेका छन् ।

पाँच वर्षमा १५ हजारभन्दा बढीको मृत्यु
प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा मात्र सडक दुर्घटनामा झन्डै १५ हजार जनाको ज्यान गएको छ । एक लाख ७१ हजार ९५२ जना घाइते (अङ्गभङ्ग) भएका छन् । दुर्घटनाबाट भएको भौतिक क्षति एवं पारिवारिक क्षतिको कुनै लेखाजोखा नै छैन ।
आर्थिक वर्ष २०७६/७७ मा २५ हजार ७८८ वटा सडक दुर्घटनामा दुई हजार २९१ जनाको ज्यान गएको थियो । जसमध्ये एक हजार ८२३ जना पुरुष र ४६८ जना महिला छन् । दुर्घटना हुनेमा सार्वजनिक र भाडाका सवारीको सङ्ख्या १३ हजार ५८२ छ ।
त्यस्तै आव २०७७/७८ मा २४ हजार ५३९ सवारी दुर्घटनामा दुई हजार ८८३ जनाको मृत्यु भयो । यसमध्ये दुई हजार ३६३ जना पुरुष र ५२० जना महिला थिए । दुर्घटना हुने सार्वजनिक तथा भाडाका सवारीको सङ्ख्या १३ हजार ४९५ थियो । त्यसै गरी आव २०८१/८२ को नौ महिनामा २२ हजार ८६० वटा सवारी दुर्घटनामा दुई हजार ७९ जनाको ज्यान गएको छ । जसमध्ये एक हजार ६२६ जना पुरुष र ४४३ जना महिला रहेका छन् । दुर्घटनामा परी ३५ हजार ७७८ जना घाइते भएका छन् ।
सडक दुर्घटनामा ज्यान गुमाउनेमध्ये २५ वर्षमाथि उमेर समूहका पुरुषको सङ्ख्या ८० प्रतिशतको हाराहारीमा रहेको छ । सडक दुर्घटनाको तथ्याङ्क विश्लेषण गर्दा दैनिक ८० वटा दुर्घटनामा औसत आठ जनाको मृत्यु हुने गरेको छ भने ७० जना घाइते हुने गरेका छन् । यो तथ्याङ्कले सडक दुर्घटनाबाट श्रीमान्, श्रीमती तथा अभिभावक गुमाउने परिवारको सम्भावित एकल अवस्थालाई भयावह देखाउँछ ।
सडक सुरक्षामा पुगेन ध्यान
नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक पोषराज पोखरेल सडक दुर्घटनाका मुख्य कारण सवारी नियमको उल्लङ्घन, चालकको लापर्बाही, तीव्र गति, मादक पदार्थ सेवन तथा सवारीसाधनको नियमित यान्त्रिक जाँच नहुनु रहेको बताउनुहुन्छ ।
पोखरेल भन्नुहुन्छ, “सार्वजनिक तथा भाडाका सवारीको चाप बढ्दो छ, अनुगमन गर्ने जनशक्ति अत्यन्तै कम रहेकाले नमुना जाँचमै सीमित रहनुपर्ने बाध्यताले प्रभावकारी अनुगमन नै भइरहेको छैन ।” उहाँले चालकको लापर्बाही यात्रुले पहिले थाहा पाउने भएकाले सजग गराउने र नजिकै प्रहरीलाई खबर गर्न सके दुर्घटना कम हुन सक्ने बताउनुहुन्छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०५४ मा सार्वजनिक यातायातलाई लामो, छोटो र मध्यम गरी तीन भागमा वर्गीकरण गरी २५० किलोमिटरभन्दा लामो दुरीमा दुई जना चालक राख्ने, गति सीमित तोकी टाइमकार्ड लागु गर्ने, सिट क्षमतामा मात्र यात्रु बोक्ने र नियमित प्राविधिक परीक्षण गरेको हुनुपर्ने जस्ता नियम तोकिएको छ ।
सार्वजनिक यातायात इजाजत, अनुगमनमा सङ्घ, प्रदेश र स्थानीय तहबिचको तेहेरोपनका कारण समन्वयको अभाव देखिएको छ । यातायात व्यवस्था विभागका निर्देशक गणेशमानसिंह राईले अन्तरप्रदेश रुट निर्धारण, राष्ट्रिय राजमार्ग तथा लोकमार्गको अनुगमनबारे अन्योल रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सवारीचालक अनुमतिपत्र, सार्वजनिक यातायातको रुट निर्धारण सङ्घबाट प्रदेश र स्थानीय तहमा पुगेको छ ।
आवश्यक प्रविधि र जनशक्ति अभावले प्रभावकारी अनुगमन हुन सकेको छैन ।” उहाँले सडक सुरक्षालाई प्रभावकारी बनाउन सडक सुरक्षा विधेयकको मस्यौदा तयार भइरहेको जानकारी दिनुभयो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला यातायात क्षेत्रमा बढ्दै गएको अस्वस्थ प्रतिस्पर्धा, दक्ष चालकको पलायन, प्रभावकारी अनुगमन अभावका कारण सडक दुर्घटना हुने गरेको स्वीकार गर्नुहुन्छ ।
– मित्र भण्डारी/राममणि दाहाल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










