01/26/2026, 23:57:43
सोमबार, माघ १२, २०८२

त्रिशूली नदी किनारमा गणपति डिलक्सबाट मानव अवशेष भेटियो


चितवन, माघ १२ : तनहुँको आबुखैरेनी गाउँपालिका–५ दोङद्राङबेसीस्थित त्रिशूली नदी किनारमा भेटिएको बसबाट एउटा मानव अवशेष फेला परेको छ ।

बस उत्खनन गर्न थालेको १६ औं दिनमा गणपति डिलक्स बसबाट मानव अवशेष फेला पारेको हो । बसको बीच भागको सिटबाट एउटा अवशेष फेला परेको चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले जानकारी दिए । उनले मानव अवशेष बस भेटिएको स्थानबाट चिकित्सकसहितको टोलीले भरतपुर अस्पताल शव गृहमा ल्याइएको बताए । ‘मानव अवशेष भेटिएपछि चितवनबाटै बाँकी प्रक्रिया अघि बढ्छ, थप परीक्षणको प्रक्रियालाई अघि बढाउँछौं’–प्रजिअ अर्यालले भने ।

सोमबार बसको इन्जिनको भाग टुक्राएर बाहिर निकालिएको छ भने पछाडि र बीच भाग निकाल्न बाँकी छ । बसको बीच भागमा अवशेष भेटिएकाले थप अवशेष हुन सक्ने भएकाले बस निकाल्ने कार्यलाई निरन्तरता दिइने उत्खनन‌मा खटिएका मिलन चेनपुलीका प्रमुख टायर कान्छा  नामले परिचित सन्तबहादुर श्रेष्ठले बताए । ‘अब सबै गाडीको भाग छुट्याएर निकाल्छौं, अब धेरै दिन नलाग्न सक्छ’–टायर कान्छाले भने ।

तनहुँको मिलन चेनपुली कम्पनी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले चेनपुलीको सहायतामा निरन्तर उत्खनन गरिरहेको छ । गत पुस २७ गते स्थानीय एक व्यक्तिले माछा मार्ने क्रममा गाडीको अवशेष फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । त्यही दिनदेखि बेल्चाको प्रयोग गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीले बालुवा उत्खनन गर्दै अवशेष निकाल्न थालेको थियो ।

२०८१ असार २८ गते काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस नारायणगढदेखि २२ किलोमिटर पूर्वोत्तर भरतपुर–२९ सिमलतालमा पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएको थियो । दुवै बसका ६५ यात्रुमध्ये बस नदीमै पुगे पनि गणपति यातायातको बसमा सवार तीन यात्रु पौडेर माथि आएका थिए । अरु सबै बससँगै बगेका थिए ।

दुर्घटनामा परेकामध्ये केहीको मात्रै शव फेला परेको थियो । बस र यात्रु खोज्न नेपाली सेना र सशस्त्रका गोताखोरसहित वाटर ड्रोन (सोनार) तथा प्रहरीसहित खोजीमा पाँच सय सुरक्षाकर्मी खटिएका थिए । सरकारले थप खोजीका लागि भारतबाट उच्च प्रविधिसहितको गोताखोर समेत ल्याएको थियो । तर बस फेला पर्न सकेको थिएन ।

– राजु चौधरी