01/22/2026, 10:23:47
बिहिबार, माघ ०८, २०८२

त्रिशूलीमा गडेको बस निकाल्न सकेन, कटिङ आवश्यक : विज्ञ

अब बसलाई टुक्राटुक्रा बनाएर निकाल्नुको विकल्प छैन । यो भनेको कटिङ गरेरै निकाल्ने हो


नारायणगढ, माघ ८ गते । डेढ वर्ष अघि त्रिशूली नदीमा खसेर बेपत्ता भएको बस नदी किनारमा भेटिए पनि त्यसलाई निकाल्न सकिएको छैन । नारायणगढ मुग्लिन सडकको भरतपुर महानगर पालिका वडा नम्बर २९ को सिमलतालबाट त्रिशूलीमा खसेको बस दस दिन अघि घटनास्थल नजिकै त्रिशूली नदी किनारमा भेटिएको थियो ।

बसको माथिल्लो भाग देखिएपछि निकाल्न लागेको उद्धार टोलीलाई अहिलेसम्म सफलता हात लाग्न सकेको छैन । नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीको प्राविधिक टोली नियमित बस निकाल्न लागे पनि निकाल्न नसकिएको हो ।

नेपाली सेना नयाँ सबुज गणका क्याप्टेन दिपराज राउत  भौगोलिक कठिनाई, उपकरणको अभावमा बस निकाल्न नसकिएको बताउनुहुन्छ ।

blog

बस भेटिएको ठाउँ भौगोलिक दृष्टिले कठिन ठाउँमा छ । त्यहाँ सजिलै थप ठुला उपकरणहरु लैजान पनि सकिदैन । अहिलेकै उद्धार प्रणलीले बसलाई निकाल्न पनि सकिदैन” उहाँले भन्नुभयो ।

चितवन र तनहुँका सेनासगै प्रहरी र सशस्त्र प्रहरी उद्धारमा छन् । बस निकाल्न क्रियाशिल सशस्त्र प्रहरीका हवल्दार गोताखोर ललित बहादुर खाम्चाले नदी गहिराई भन्दा तल्लो भागसम्म बस पुरिएको र बस भित्र बालुवा भरिएकाले निकाल्न गाह्रो भएको जानकारी दिनुभयो ।

तनहुँका टायर कान्छा भन्ने प्राविधिको टोली र बुटवलको प्रविधिका टोलीले बस निकाल्ने प्रयास गरे पनि त्यो सहज अवस्थामा निकाल्न सकिएन”, उहाँले भन्नुभयो । उहाँका अनुसार अहिले टायर कान्छाको टोलीले चेन पुल्ली र घिर्नीको साहराले वस निकाल्न लागेको थियो भने बुटवलको प्राविधिक टोलीले हाइड्रोलिगको माध्यमवाट वस निकाल्न लागेको थियो । तर त्यो असफल भएको छैन ।

२०८१ असोज २८ गते ६५ यात्रु बोकेको बाग्मती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स र बाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए । सो बसमा सवार २३ जनाको मृत्यु र ३९ जना बेपत्ता छन् । बेपत्ता बसमध्ये गणपति डिलक्सको बस सिमलताल नजिकै तनहुँ तर्फी भागमा त्रिशूली नदी किनारमा गत पुस २७ गते फेला परेको थियो । अहिले वस निकाल्न भइरहेको प्रयास असफल भएपछि प्राविधिक टिम पनि उदास भएका छन् ।

सशस्त्र प्रहरी हवल्दार गोताखोर खाम्चाले बस निकाल्न अहिलेको प्रविधिको काम रोकेर ‘ग्याँस कटिङ’को माध्यमवाट निकाल्न सकिने सुझाव दिनुहुन्छ ।

अब बसलाई टुक्राटुक्रा बनाएर निकाल्नुको विकल्प छैन । यो भनेको कटिङ गरेरै निकाल्ने हो”, उहाँले भन्नुभयो । सेनाका विपद् प्रतिकार्य टोलीमा कार्यरत क्याप्टेन राउत भौगोलिक अवस्था अनुसार ठुला उपकरण लैजान सकियो भने वस निकाल्न सकिने बताउनुहुन्छ ।

अब त्यो ठाउँमा ठुला उपकरणहरु लगेर पनि बस निकाल्न जरुरी छ”, उहाँले भन्नुभयो । तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले बस निकाल्न नयाँ प्रविधिको खोजी भइरहेको बताउनुभयो ।

अहिलेसम्मका प्रयास असफल जस्तै भयो । बिहीबार यसलाई सहज तरिकाले कसरी निकाल्न सकिन्छ भनेर चितवन र तनहुँका प्रमुख जिल्ला अधिकारीसहितको विज्ञहरुको छलफल घटनास्थलमै गराउदै छौं”, उहाँले भन्नुभयो ।

– वसन्त पराजुली