01/21/2026, 20:56:17
बुधबार, माघ ०७, २०८२

पूर्व सचिव डा. मिश्रासँग विशेषले माग्यो पाँच लाख धरौटी


काठमाडौँ, माघ ७ गते। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्व अतिरिक्त सचिव डा. संगीता मिश्रा सँग विशेष अदालतले पाँच लाख धरौटी माग गरेको छ।

अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलालसले बुधबार डा. मिश्रासँग पाँच लाख धरौटी माग गरेको जानकारी दिनुभयो। विशेष अदालतमा भएको थुकछेक बहसमा उहाँसँग पाँच लाख धरौटी माग गरेको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले म्यामोग्राफी मेसिन खरिदमा ठूलो अनियमितता गरेको ठहर गर्दै स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. मिश्रासहित १४ जनाविरूद्ध कात्तिक २ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।

blog

मिश्रासहित स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा. श्रवणकुमार थापा, वरिष्ठ स्वास्थ्य प्रशासक डा. सुरेन्द्रप्रसाद चौरसिया, सेवा विभागका निर्देशक डा. विवेकुमार लाल, तत्कालीन प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, विभागका कानुन अधिकृत सीता घिमिरे, जनस्वास्थ्य अधिकृत दीपक अधिकारी विरूद्ध मुद्दा दर्ता भएको थियो।

उहाँहरुले झुट्टा (बिल)बिजक, गलत प्रतिवेदन र मिलेमतोका आधारमा राज्यलाई करिब १४ करोड ६ लाख ८५ हजार रूपैयाँभन्दा बढी हानी पुर्याएको अख्तियारको आरोप छ।

आयोगले यो रकम बराबरको जरिवाना र कैद सजायको मागसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो।