01/11/2026, 19:27:29
आइतबार, पुष २७, २०८२

परराष्ट्र सेवामा महिलाको फड्को


काठमाडौँ, पुस २७ : ललितपुरकी अस्मिता सेढाईंले भारतस्थित इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी अध्ययन पूरा गरिन् । अध्ययनपछि भारतमै निजी कम्पनीमा काम गरिन् । सीएको जागिर आम्दानी र अवसरका हिसाबले आकर्षक मानिन्छ । तर नेपाल फर्किएपछि उनको रुचि सरकारी सेवातर्फ मोडियो । उनका बुबा–आमा तथा आफन्तहरू पनि सरकारी सेवामै भएकाले यो क्षेत्र उनका लागि नयाँ थिएन ।

निजी कम्पनीको दुःख सम्झेर नै उनले सरकारी सेवाको तयारीमा लागिन् । सुरुमा राजस्व अधिकृतको तयारीमा थिइन् । अनलाइन कक्षा लिँदै गर्दा परराष्ट्र अधिकृतको विज्ञापन खुलेपछि उनको ध्यान त्यतै खिचियो । परीक्षा तालिका केही पर पुगेपछि तयारीका लागि थप समय पाइन् । ‘प्राइभेट कम्पनीको जागिरको दुःख नजिकबाट देखेपछि म यहाँ आएको हुँ, सरकारी सेवा सुरक्षित र सहज लाग्यो,’ उनी भन्छिन् ।

सरकारी जागिर बाहिरबाट हेर्दा धेरै आम्दानी हुने जस्तो नदेखिए पनि यस क्षेत्रमा दीर्घकालीन करिअर सम्भावना रहेको अस्मिताको बुझाइ छ । अस्मिताले पाँच वर्षको बच्चा हुर्काउँदै अध्ययन पूरा गरिन् । लोक सेवाको तयारीका क्रममा अंग्रेजी र सामान्य ज्ञान उनको बलियो पक्ष थियो ।

यसले छोटो समयमै नाम निकाल्न सहयोग गरेको उनको भनाइ छ । परराष्ट्रका भाषा र शब्दावली बुझ्न कठिन भए पनि अहिले काम रमाइलो लागिरहेको उनले बताइन् । उनले भनिन्, ‘बैंकिङ क्षेत्र पनि विकल्प हुन सक्थ्यो तर बच्चाको भविष्य, सामाजिक प्रतिष्ठा र करिअर सुरक्षाले यो सेवातर्फ तानेको हो ।’ गत २३ पुसमा उनी परराष्ट्र अधिकृतमा नियुक्त भइन् ।

हाल मन्त्रालयमा युरोप डिभिजनमा कार्यरत अस्मिताको राजदूतलाई भेट्न, समय मिलाउनदेखि यूकेमा रहेका नेपालीसँग सम्बन्धित विविध समस्याको समन्वय गर्ने जिम्मेवारी छन् । परराष्ट्र सेवा वास्तवमा एउटा मध्यस्थकर्ता रहेको बुझेकी उनी भन्छिन्, ‘दुई देशबीचको मध्यस्थकर्ताको भूमिका निभाउन परराष्ट्र एउटा महत्त्वपूर्ण माध्यम रहेछ ।’ हालको जागिर विश्वका विभिन्न देश घुम्न, नयाँ कुरा देख्न र अन्तर्राष्ट्रिय ‘एक्सपोजर’ प्राप्त गर्न सहज रहेको उनको बुझाइ छ ।

प्रसिद्धि कोइरालाले बीएलएलबी सक्नासाथ सरकारी सेवाका लागि तयारी कक्षामा लागिन् । उनको रुचिको क्षेत्र नै परराष्ट्र सेवा थियो । पहिलो प्रयासमै उनी खुल्लातर्फबाट परराष्ट्र अधिकृतमा सिफारिस भइन् । कानुनकी विद्यार्थी भएकाले अन्तर्राष्ट्रिय कानुन र परराष्ट्र सम्बन्धलाई नजिकबाट बुझ्ने चाहना उनको थियो । उनले भनिन्, ‘अन्तर्राष्ट्रिय कानुन र परराष्ट्र सम्बन्ध दुवैलाई एकैसाथ बुझ्न सकिने भएकाले यो सेवा मेरा लागि उपयुक्त लागेको हो ।

सरकारी सेवामा प्रवेश गर्नु उनको परिवारको सपना पनि थियो । बुबा निजामती सेवामा भएकाले यही क्षेत्रमा करिअर बनाउने उद्देश्यले नेपालमै करिअर खोज्दै परराष्ट्र सेवा रोजाइ बनेको उनको भनाइ छ । प्रसिद्धिका अनुसार नियमित र अनुशासित अध्ययन नै सफलताको कारण हो । उनले कुनै इन्स्टिच्युट धाइनन्, घरमै बसेर अध्ययन गरिन् ।

सामान्य ज्ञान र अंग्रेजी राम्रो भएकाले पहिलो पत्र सहजै पास गरिन् । चौथो पत्र परराष्ट्र सेवाको विशिष्ट विषय भएकाले अन्तर्राष्ट्रिय सम्बन्ध र अंग्रेजीमा केन्द्रित भएर पढिन् । तालिका बनाएर पढाइलाई निरन्तरता दिइन् । अधिकृतमा नियुक्त भएको क्षण जीवनकै अविष्मरणीय क्षण भएको उनी बताउँछिन् ।

हाल परराष्ट्र मन्त्रालयको पब्लिक डिप्लोमेसीअन्तर्गत ‘कल्चरल डिप्लोमेसी’मा कार्यरत छिन् । ‘नेपाललाई विश्वसामु चिनाउने अवसर पाएकी छु,’ उनले भनिन्, ‘मन्त्रालयमा आएपछि परराष्ट्र सेवा बाहिरबाट देखिएभन्दा निकै फरक र व्यस्त हुनुपर्ने खालको रहेछ ।’  यो सेवामा महिलाको सहभागिता बढ्दै गएको देख्दा उनी गर्व महसुस गर्छिन् । नेपालमै बसेर नेपालकै लागि काम गरिरहेको अनुभूति उनका लागि ठूलो सन्तुष्टिको विषय बनिरहेको छ ।

गत वर्ष बढुवा भएर सहसचिव भएकी हुन्, दुरपदा सापकोटा । उनी कन्सुलर विभागकी पहिलो महिला महानिर्देशक पनि हुन् । कन्सुलर विभाग विदेशी रोजगारीमा गएका नेपालीका समस्या, कागजात प्रमाणीकरण, उद्धार र सेवा प्रवाहसँग प्रत्यक्ष जोडिएको विभाग हो । सेवाग्राहीको चाप अत्यधिक भएकाले यो विभाग चुनौतीपूर्ण रहेको उनी बताउँछिन् । ‘विदेशमा समस्या परेपछि मानिसहरू यही विभागसम्म आइपुग्छन्,’ आफ्नो जिम्मेवारीबारे बताउँदै उनले भनिन्, ‘सेवा सहज बनाउन टोकन प्रणालीदेखि स्थानीय तहसँग समन्वय गर्दै सुधारका काममा प्राथमिकता दिएकी छु ।

दिल्ली दूतावासमा पोलिटिकल काउन्सिलर, मलेसियामा प्रथम सचिव र अस्ट्रेलियामा कार्यवाहक राजदूत भएर काम गरिसकेकी दुरपदाका लागि फरक भूगोल र परिस्थिति ठूलो चुनौती रह्यो । मलेसियाको अनुभवलाई उनले जीवन परिवर्तन गर्ने अनुभवका रूपमा लिन्छिन् । वैदेशिक रोजगारीमा गएका नेपालीका पीडा र संघर्ष उनले त्यहाँ नजिकबाट महसुस गरिन् । मलेसिया दूतावासमा उनी एक्ली महिला कर्मचारी थिइन् ।

एक पटक पुलमुनि सुतेका नेपाली देख्दा जीवनको यथार्थ झन् गहिरो रूपमा बुझ्न पाएँ, दुःखसुख नजिकबाट नियाल्न मलेसियाले सिकाएको छ,’ उनले भनिन् । अस्ट्रेलियामा भने फरक अनुभव रह्यो उनको । जहाँ नेपालीहरूको संख्या धेरै छ । तर अस्ट्रेलियाबाट नेपालले अवसर लिन नसकेको हो कि भन्ने उनलाई लागिरह्यो ।

दिल्लीमा करिब १० महिना दुई देशबीचको सम्बन्धसम्बन्धी बुझ्ने अवसर पाएकी उनलाई जिम्मेवारी सम्हाल्दा पारिवारिक व्यवस्थापन मिलाउन गाह्रो परेको थियो । उनले भनिन्, ‘फरक संस्कृति र समाजमा घुलमिल हुनुपर्ने हुन्छ, जुन अवसर सँगै संघर्ष पनि हो । परिवारबाट टाढा बस्नु, महिला भएकै कारणले क्षमता प्रमाणित गर्नुपर्ने जस्ता अठ्यारा स्थितिहरू पनि झेल्नुपर्दो रहेछ ।

पछिल्लो पुस्तामा परराष्ट्र सेवाप्रतिको आकर्षण बढ्नुमा सामाजिक प्रतिष्ठा र करिअर रहेको दुरपदा बताउँछिन् । भनिन्, ‘परराष्ट्र सेवामा अन्य सरकारी सेवामा भन्दा चार्मिङ र सामाजिक प्रतिष्ठा तथा विदेश भ्रमण गर्न पाउनु मुख्य आकर्षण हो, जसले गर्दा महिलाहरूको मुख्य रोजाइ यो सेवामा हुनु सकारात्मक पक्ष हो ।’  पछिल्लो समय परराष्ट्र सेवामा महिला संख्या बढ्नाले समावेशिता र नयाँ धारणा आउने विश्वास गर्दै उनी थप्छिन्, ‘महिलामा कामप्रति बढी जिम्मेवारीबोध, धैर्यवान र लगाब हुन्छ,’  उनले भनिन्, ‘चुनौती र समस्या चिर्दै सहज व्यवस्थापन गर्न सक्ने क्षमता महिलामा हुन्छ, जसले गर्दा कूटनीतिक सम्बन्धमा सकारात्मक सन्देश प्रवाह हुन्छ ।

यस वर्ष उपसचिवमा सिफारिस भएकी सुजना अर्याल पनि परराष्ट्र सेवामा भिज्दै गइरहेकी छन् । २०७६ बाट परराष्ट्र अधिकृतका रूपमा करिअर सुरु गरेकी उनी सुरुमा विदेश नजाने सोचमा थिइन्, तर अहिले देशकै प्रतिनिधित्व गर्दै विदेश गइरहेकी छन् । हाल कन्सुलर विभागमा निर्देशकका रुपमा कार्यरत अर्याल परराष्ट्र सेवामा काम गर्नु चुनौतीपूर्ण रहेको बताउँछिन् । उनले बहराइनमा वित्तीय सचिव तथा नियोग उपप्रमुख भएर दुई वर्ष सेवा गरिन् ।

यो उनका लागि पहिलो विदेशस्थित दूतावासमा कामको अनुभव थियो । ‘मुस्लिम मुलुक भएकाले महिलालाई हेर्ने सामाजिक दृष्टिकोण केही फरक भएकाले काम गर्नका लागि स्थानीय स्टाफ लिनुपर्ने अवस्था आयो,’ उनी अनुभव सुनाउँछिन् । महिलाहरूको उपस्थिति सकारात्मक देखिए पनि काम गरेर आफू सक्षम छौं भनेर प्रमाणित गर्नुपर्ने बाध्यता अझै रहेको सुजनाको अनुभूति छ ।

लोक सेवा आयोगको तथ्यांकअनुसार यस वर्षको अधिकृतमा ६७ जनामध्ये २७ जना महिला सिफारिस भएका छन् । २०७५/७६ मा परराष्ट्रमा जम्मा महिलाको उपस्थिति संख्या ५७ थियो भने अहिले परराष्ट्रमा कार्यरत महिला संख्या एक सय पुगिसकेको छ । जसमा सहसचिव ५, उपसचिव २३, शाखा अधिकृत ४५ र नायब सुब्बा २७ जना छन् । पुरुषतर्फ २ सय ५३ जना कर्मचारी कार्यरत रहेको परराष्ट्र मन्त्रालयको तथ्यांकमा छ ।

परराष्ट्र सेवामा महिलाको सहभागिता बढ्दै जानु सकारात्मक पक्ष रहेको बताउँछिन्, राजनीतिक विश्लेषक इन्द्र अधिकारी । हाल राजदूतको पदमा महिलाहरू थोरै संख्यामा भए पनि उनीहरूले प्रभावकारी कार्यक्षमता प्रदर्शन गरिरहेको इन्द्र बताउँछिन् । ‘परराष्ट्र सेवा अन्तर्गत राहदानी, कन्सुलर सेवा जस्ता सेवाग्राहीसँग प्रत्यक्ष सम्बन्ध राख्ने जिम्मेवारीहरू पर्दछन् । यही क्षेत्रबाट धेरै महिलाहरूको सेवा सुरु हुन्छ ।

सेवाग्राहीलाई ह्यान्डल गर्ने क्रममा महिलामा देखिने नरमता, विनम्रता र संवेदनशीलताले सकारात्मक प्रभाव पारेको देखिन्छ,’ इन्द्रले भनिन्, ‘यसकारण पनि महिलाहरूको सेवाप्रवाह र कूटनीतिक सेवा प्रवाहलाई सकारात्मक रूपमा मूल्यांकन गरिएको छ ।’ कामको प्रभावकारिता हेर्दा महिलाहरूले जसरी पनि आफ्नो पहिचान स्थापित गर्ने अठोटका साथ मिहिनेत गरिरहेको उनले बताइन् ।

वैदेशिक परराष्ट्र सेवा चुनौतीपूर्ण भए पनि सेवा गर्ने उद्देश्य, स्पष्ट सपना र उच्च प्रेरणाका साथ महिलाहरू यो क्षेत्रमा प्रवेश गरेकाले उनीहरूमा कामप्रति गहिरो लगाब रहेको इन्द्र ठान्छिन् । ‘महिलाहरूको सौम्य स्वभाव, सहानुभूति र अरूको दुःख बुझ्ने क्षमताले पनि काममा सेवा प्रवाहदेखि महिलाहरूको कार्य सम्पादनलाई कूटनीतिक क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको छ,’ उनले भनिन् ।

परराष्ट्र क्षेत्रमा विगतमा महिलाको सहभागिता संख्यात्मक रूपमा कम भए पनि पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा वृद्धि भएको पूर्वपरराष्ट्र सचिव तथा मुख्य सचिव शंकरदास बैरागीले बताए । परराष्ट्र सेवामा अनुशासित, जिम्मेवार र बफादार महिलाको उपस्थिति उल्लेखनीय रूपमा देखिएको उनी बताउँछन् । मुख्य सचिव बैरागीका अनुसार महिलाहरू चिन्तनशील, लगनशील र कर्तव्यनिष्ठ रहेकाले हरेक क्षेत्रमा प्रशंसनीय छन् ।

परराष्ट्र सेवामा विशेषगरी महिला, बालबालिका तथा मानवअधिकारजस्ता संवेदनशील विषयमा महिलाहरू बढी प्रभावकारी देखिएका छन्,’ उनले थपे, ‘सामाजिक परिवेश र संरचनाअनुसार पनि महिलाहरूले आफ्नो दक्षता स्पष्ट रूपमा प्रस्तुत गरिरहेका छन् ।

उनीहरूले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आफ्नो क्षमता कुशलतापूर्वक प्रदर्शन गरिरहेको दाबी गर्दै बैरागी थप्छन्, ‘यही गतिमा अघि बढ्ने हो भने आगामी १०–१२ वर्षभित्र महिला नेतृत्वहरू उच्च तहमा पुग्नेछन्, जसले गर्दा कूटनीतिक सम्बन्धमा पनि सकारात्मक सन्देश प्रवाह हुनेछ ।’ कूटनीतिक त्रिपक्षीय सम्बन्ध, क्षेत्रीय सहकार्यलगायत विभिन्न आयाममा महिलाहरूको कामको प्रशंसा भइरहेको सन्देश प्राप्त भएको बैरागीको भनाइ छ ।

– प्रकृति दाहाल