01/12/2026, 00:55:40
आइतबार, पुष २७, २०८२

हामी जेन–जीले मागेको सुशासनलाई सम्बोधन गर्ने ल्याकत राख्छौं : विश्वप्रकाश शर्मा


काठमाडौँ, पुस २७ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी दिनमा आफूहरु जेन–जीले मागेको सुशासनलाई पनि समेत ल्याकत राख्ने बताएका छन् ।

आइतबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा सम्बोधन गर्दै उनले जेन-जीले आन्दोलनमा लोकतान्त्रको समाप्ति नमागेको बताए ।

तपाईंहरुले माग्नु भएको थियो सुशासन । तपाईंले माग्नुभएको थियो राजनीतिक नेतृत्व जमेको पोखरी होइन बगेको नदी जस्तो होस् भनेर चाहनुभएको थियो,’  उनले भने, ‘हामीले त्यसैका लागि संकल्प गरेका हौं । हामी तपाईंले मागेको सुशासनलाई पनि सम्बोधन गर्ने ल्याकत राख्छौं अबको दिनमा । अनि हामी जमेर बसेको पोखरी जस्तो भएर बसेको नेतृत्वलाई पनि बगेर जानुपर्छ भनेर सन्देश पनि बुझाउने ल्याकत राख्दछौँ ।

उनले जेन-जीहरु अन्तरिक्षबाट आएको नभई भाइबहिनीहरु र छोराछोरी रहेकोबताउँदै भदौ २३ को घटना इतिहासमा एउटा भुल भएको समेत बताए । ‘जेन-जी कोही अन्तरिक्षबाट आएका थिएनन् । हाम्रै काखमा, हाम्रा भाइबहिनीहरु थिए । हाम्रा छोराछोरीहरु थिए,’  उनले भने, ‘भदौको २३ मा इतिहासमा एउटा ठूलो भुल भएकै हो । त्यसपछिका कैयौं रात हामी निदाउन सकेनौँ । आज पनि आफैंलाई प्रश्न गर्छु, ‘२३ गतेका दिन केवल संसद् भवन तोडिन दिएको भए के फरक पर्थ्यो होला ?