01/12/2026, 00:55:39
आइतबार, पुष २७, २०८२

विगतका कमजोरी दोहोरिन नदिने संकल्प गर्न विशेष महाधिवेशन गर्‍यौं : विश्वप्रकाश शर्मा


काठमाडौँ, पुस : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले गरेका कमजोरी र पार्टीभित्र रहेका समस्याको समीक्षा गर्दै आगामी दिनमा त्यस्ता कमजोरी दोहोरिन नदिने संकल्प गर्न विशेष महाधिवेशन  आयोजना गरिएको बताएका छन् ।

काठमाडौंमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री शर्माले पुरानै ढंगले नयाँ यात्रा गर्न नसकिने उल्लेख गरे । उनले नयाँ सोच र संकल्प लिएर अघि बढ्नुपर्नेमा जोड दिए । ‘फागुन २१ गतेको निर्वाचनमा कांग्रेसले गरेका कमजोरी र समस्याहरुको पहिचान गरेर आगामी दिनमा त्यस्तो हुन दिँदैनौँ भन्ने संकल्प गरेर जानको लागि हामीले विषेश महाधिवेशन बोलाएका हौँ,’ उनले भने ।

उनले असन्तुष्टि, अस्थिरता र द्वन्द्वको पृष्ठभूमिमा पनि कांग्रेसको नेतृत्वमा मुलुकमा शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा महत्त्वपूर्ण उपलब्धि भएको दाबी गरे । उनले भदौ २३ र २४ गते भएका घटनालाई अलग–अलग रूपमा हेर्नुपर्ने भन्दै अब सद्भाव, सुशासन र समृद्धिको बाटोमा अघि बढ्न जरुरी रहेको बताए ।

उनले प्रत्यक्ष-अप्रत्यक्ष रुपमा मुलुकलाई सहयोग गरिरहने तर सधैं प्रताडना भोगिरहने वर्गलाई सम्मान गर्न महाधिवेशन आह्वान गरिएको बताए ।