नेपालगन्ज, पुस २७ गते । बाँकेका अधिकांश थारू गाउँबस्तीमा माघी पर्वको रौनक देखिन थालेको छ । माघी आउन केही दिन मात्र बाँकी रहेकाले जिल्लाका अधिकांश गाउँबस्तीमा माघीको रौनक बढ्दै गएको हो । जिल्लाका अधिकांश गाउँबस्तीमा थारू पुरुष मासुका लागि सुँगुर खरिददेखि अन्य विभिन्न तयारीमा व्यस्त छन् भने महिला रोटी पकाउने तथा पिठोको तयारीदेखि लिएर दुनाटपरी खुट्न व्यस्त रहेका छन् ।
थारू महिला पुरुषलाई अहिले गाउँबस्तीमा माघीका लागि आवश्यक माछा मार्नेलगायत कामको पनि चटारो छ । बाँके मैटहवाका थारू अगुवा राजेन्द्र चौधरीले माघीअघि नै सुँगुर ल्याएर राख्ने, रोटी पकाउनेलगायतका काम गरिसक्नुपर्ने हुँदा त्यसैमा व्यस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संस्कृति अनुसार सुँगुर मार्ने काम माघी आउन दुई/तीन दिन बाँकी छँदा गरिने हुँदा त्यसका लागि तयारी भइरहेको छ । माछा मार्ने, रोटी पकाउनेलगायतका काम पनि सुरु भइसकेको छ ।”
बाँकेको फत्तेपुरका अगुवा जनक चौधरीका अनुसार गाउँघरमा अहिले माघीकै लागि घर घरमा सुँगुर बाँधेको देखिन थालेको छ भने महिला दुनाटपरी गाँस्न र चामलको पिठोको तयारीमा व्यस्त देखिन्छन् । महिलाले माघीमा जाँड र मासु खानका लागि दुनाटपरी बनाउन लागेको बताएका छन् । बाँकेको बिनौनाका दीपा चौधरीले माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँड, मासु र खानेकुराको जोहो गर्न लागेको बताउनुभयो ।

यस्तै टिटिहिरियाकी आशा चौधरी माघीका लागि दुनाटपरी बनाउनमै व्यस्त हुनुहुन्छ । परिवारका सदस्यसँगै बसेर दुनाटपरी बनाउनमै व्यस्त आशाले माघीमा खानेकुरा दुनाटपरीमै राखेर दिने चलन रहेको बताउनुभयो । उहाँले एक महिना अगाडिदेखि नै पात र दाउराको जोहो गर्न थालेको बताउनुभयो ।
मुला, अदुवा र टमाटर मिलाएर अचार बनाउँदै गरेकी टिटिहिरियाकी रश्मि चौधरीले माघीका लागि विशेष परिकारका रूपमा लिइने ढिकरी भने माघी आउन एक दिन बाँकी रहँदा मात्र बनाइने बताउनुभयो ।
अधिकांश महिलाले चामलको पिठो, घर लिपपोत, मासुको जोहो गरिसकेको जनाएका छन् । थारूको मौलिक संस्कृतिले भरिएको माघीलाई सबैभन्दा ठुलो पर्वका रूपमा लिइन्छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















