02/23/2026, 15:36:33
सोमबार, फागुन ११, २०८२

गुल्मीमा उम्मेदवारले खोलेनन् बैंक खाता


तम्घास(गुल्मी), फागुन ११ गते । गुल्मीमा प्रतिनिधि सभाका उम्मेदवारले बैंक खाता खोल्नका लागि आनाकानी गरेका छन् ।  फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारहरुले अनिवार्य रुपमा बैंक खाता खोल्नका लागि निर्वाचन आयोगले आग्रह गरेपनि गुल्मीका उम्मेदवारहरुले खाता खोल्नका लागि अटेर गरेको पाइएको छ ।

निर्वाचन आचारसंहिता अनुगमन अधिकृत महेन्द्रप्रसाद भण्डारीका अनुसार गुल्मीमा प्रतिनिधि सभाका ४३ जना उम्मेदवारहरु मध्ये ३६ जनाले बैंक खाता खोल्नका लागि सिफारिस लगेको र २५ जनाले मात्रै खाता खोलेका छन् । प्रत्येक उम्मेदवारलाई बैंक खाता खोल्नका लागि फोनमार्फत ताकेता गर्दै  आएको उहाँको भनाइ छ । मुख्य दलहरुले बैंक खाता खोलेको र स्वतन्त्र उम्मेदवारका साथै केही साना दलहरुले खाता नखोलेकाले उहाँहरुलाई जतिसक्दो छिटो खाता खोल्नका लागि आग्रह गर्दै आएको उहाँले बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत हरिप्रसाद गैरेले जिल्लामा आचासंहिता पूर्ण रुपमा पालना भएको बताउनुभयो । निर्वाचनका लागि आचारसंहिता पालनासम्बन्धी आफूहरुले सुक्ष्म रुपमा अनुगमन गर्दै आएको उहाँको भनाइ छ ।

दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा १४५ मतदान स्थलमध्ये ४८ मतदान स्थल अति संवेदनशील, ५७ मतदान स्थल संवेदनशील र ४० मतदान स्थललाई सामान्य अवस्थाको सूचीमा राखिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेका अनुसार संवेदनशील स्थलहरुमा सुरक्षालगायत अन्य हिसावले पनि सबै प्रबन्ध मिलाइएको बताउनुभयो ।

शान्ति सुरक्षाका हिसावले आफूहरुले सबै प्रबन्ध मिलाएको र निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आफूहरु सक्षम रहेको उहाँको दाबी छ ।

मतदान स्थलहरुलाई वर्गीकरण गर्दा भुगोल, यातायात, जिल्लागत सीमालगायतका विषयहरुलाई आधार मानेर वर्गीकरण गरिएको जिल्ला सुरक्षा समिति गुल्मीले जनाएको छ  ।  निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि यस अघि अन्तरजिल्लास्तरीय सुरक्षा बैठकहरु पनि सम्पन्न गरेकाले अन्तरजिल्लासँग पनि समन्वय भइरहेको गैह्रेले बताउनुभयो ।

जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार जिल्लामा कुल दुई लाख २९ हजार ५४९ जना मतदाता रहेका छन् । तीमध्ये निर्वाचन क्षेत्र नम्बर–१ मा एक लाख २२ हजार १८६ जना र निर्वाचन क्षेत्र नम्बर–२ मा एक लाख सात हजार ३६३ जना मतदाता रहेका छन् । जिल्लाभर १४५ वटा मतदानस्थल र २८४ वटा स्थायी  र दुई अस्थायी गरी कुल २८६ मतदान केन्द्र तोकिएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..