कल्याणपुर (सप्तरी) फागुन ११ गते । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले चुनावको प्रचार-प्रसारमा जाँदा अघिल्लो चुनाव जितेर भेट्न घरमा किन नआएको भन्ने मतदाताहरुले प्रश्न उठाउने गरेको बताउनुभएको छ ।
यसअघिको चुनावमा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव जित्नु भएका उहाँले दोस्रो पटक यसै क्षेत्रबाट उम्मेदवार भएर प्रचार-प्रसारका लागि मतदाताको घरमा जाँदा यस्तो प्रश्न उठाउने गरेको बताउनुभएको हो ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा ३५ हजार ४२ मत ल्याएर जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै सप्तरी २ बाट उहाँ विजयी हुनुभएको थियो । उक्त निर्वाचनमा जसपा नेपालका यादव १८ हजार ६३ मत ल्याएर पराजित हुनु भएको थियो ।

“२०७९ को चुनाव जितेर गएपछि हाम्रो घरमा किन भेटन आउनु भएन ? मतदाताले प्रश्न गर्दै हामीले गाँसेर राखेको फुलमाला खेर गयो सुनाउँछन्” डा. राउतले भन्नुभयो ।
विगतको चुनावपछि टोलमा गएको तर मतदाताहरुको घर–घरमा पुग्न नसकेको जवाफ मतदातालाई फर्काउनु पर्ने बाध्यता रहेको उहाँले सुनाउनुभयो । प्रचार-प्रसारका क्रममा मतदाताले यसअघिको चुनाव जितेर के कति विकास गरेको प्रश्न पनि गरिरहेको सुनाउनुहुँदै प्रत्येक वडामा कम्तिमा १० वटा विकासिय योजना ल्याएको मतदाता माझ राख्ने गरेको डा. राउतले बताउनुभयो ।
“सप्तरी निर्वाचन क्षेत्रमा रहेको ३७ वटा वडा मध्ये प्रत्येक वडामा जनताले माग गरे अनुसार कम्तिमा १० वटा योजना ल्याएको छु” उहाँले भन्नुभयो । जनताले घरमा भेटन किन नआएको भनी प्रश्न गर्नु उहाँहरुले मलाई माया गरेर यस्तो भन्ने गरेको उहाँले धारणा राख्नुभयो ।
– विनय कर्ण
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















