02/23/2026, 15:56:14
सोमबार, फागुन ११, २०८२

तीन पूर्वप्रधानमन्त्री ओली, प्रचण्ड र नेपाल आफ्नै निर्वाचन क्षेत्रमा सीमित


काठमाडौँ, फाल्गुन ११ : अघिल्ला चुनावमा देशव्यापी सभाहरूमा सहभागी भएका कांग्रेस, एमाले, तत्कालीन माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरू यस पटक आआफ्नो निर्वाचन क्षेत्रमा प्रचारमा सीमित भएका छन् ।

पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायत नेताहरूले यसपालि न ठूला सभा आयोजना गरेका छन्, न त अन्य उम्मेदवारको पक्षमा मत माग्न देश दौडाहामा नै निस्किएका छन् । उम्मेदवार नै नभएपछि कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले त चुनाव प्रचारमा सहभागी नहुने निर्णय नै गरेका छन् ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमाले अध्यक्ष ओलीले दार्चुलाबाट चुनावी अभियान सुरु गरेका थिए । नेपालको नक्साको चुच्चे भाग पर्ने जिल्ला दार्चुलाबाट उनले ‘राष्ट्रवादी’ नारासहित अभियान थालेका थिए । त्यतिबेला कांग्रेस, माओवादी, एकीकृत समाजवादी गठबन्धनविरुद्ध एक्लै प्रतिस्पर्धा गरेको एमालेको मुख्य चुनावी मुद्दा राष्ट्रिय स्वाधीनता र स्वाभिमान रक्षा गर्ने भन्ने थियो । त्यो निर्वाचनमा ओलीले ४० भन्दा बढी चुनावी सभालाई सम्बोधन गरेका थिए ।

तर यस पटक एमालेले निर्वाचन प्रचारका लागि ठूला सभा गर्ने कार्यक्रम नै बनाएको छैन । अध्यक्ष ओली आफ्नै निर्वाचन क्षेत्र झापा–५ मा घरदैलो गर्न व्यस्त छन् । काठमाडौं महानगरपालिकाका पूर्वमेयर एवं रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले ओलीकै क्षेत्रमा उम्मेदवारी दिएपछि उनी आफ्नै निर्वाचन क्षेत्रमा सीमित हुन बाध्य भएका हुन् । अवस्था कस्तोसम्म छ भने दलको घोषणापत्र सार्वजनिक गर्न बिहीबार काठमाडौं आएका ओली आइतबार नै झापा फर्किसकेका छन् ।

यस पटक ओली भाषण नगरी जतिसक्दो मतदाताको प्रश्न र गुनासा सुनिरहेका छन् । २०७९ को निर्वाचनमा उनले चोक–चोकमा भाषण गरी मत मागेका थिए ।

यसपालि ५ माघमा मनोनयन गर्न ओली झापा गएका थिए । मनोनयन दर्ता गराएर उनी ९ माघमा काठमाडौं फर्केका थिए । त्यसपछि उनी २४ माघमा झापा गएर २९ गते काठमाडौं फर्केका थिए । त्यसबेला उनले गौरीगन्ज, गौरादह, कमल गाउँपालिकामा घरदैलो गरेका थिए । मतदाताको प्रश्नको उत्तर दिएका थिए ।

तेस्रो पटक १ फागुनमा झापा गएका ओली ६ गते काठमाडौं फर्केर पार्टीको घोषणापत्र सार्वजनिक गरेका थिए । उनले ४२ प्रतिबद्धता सार्वजनिक गरे । राष्ट्र, राष्ट्रियता, आफूले गरेका विकास निर्माण र भ्युटावारलगायतका विषयमा उनले प्रतिबद्धता जनाएका थिए । ६ फागुनमा उनी झापा–५ का उम्मेदवारबीच भएको बहसमा सहभागी भएका थिए । बहसमा कांग्रेसकी उम्मेदवार मन्धरा चिमरिया, राप्रपाका लक्ष्मीप्रसाद संग्रौला, नेकपाका रञ्जित तामाङ र नेकपा (माओवादी केन्द्र) का सञ्जय राईले भाग लिएका थिए ।

उम्मेदवारी दर्ता गरेपछि अध्यक्ष ओली चुनावी अभियानका लागि चौथो पटक आइतबार झापा फर्केका छन् । योबीचमा उनले १५ दिन आफ्नो निर्वाचन क्षेत्रमा बिताएका छन् । जबकि ४ मंसिर २०७९ मा भएको निर्वाचनमा ओलीले १८ कात्तिकदेखि चुनावी अभियान थालेका थिए । बैतडीको गोठालापानी, सिलगढी, डडेलधुरा, महेन्द्रनगर, कैलालीको धनगढी र लम्की, वीरेन्द्रनगर, दैलेख, नेपालगन्ज, दाङको घोराही र तुलसीपुर, तौलिहवा, रूपन्देहीका बुटवल र भैरहवाका सभालाई उनले सम्बोधन गरेका थिए ।

त्यस्तै पोखरा, स्याङ्जाको पुतलीबजार, चितवनको भरतपुर, काठमाडौं, ललितपुर र भक्तपुर, झापाको दमक, विराटनगर, ताप्लेजुङ, बिर्तामोड, सुनसरीको इनरुवा र इटहरी, पाँचथरको फिदिम, जनकपुर र वीरगन्जमा सभा भएका थिए । ओली निर्वाचन अभियानमा गएको स्थानमा दार्चुला, बैतडी, कञ्चनपुरमा एक, दैलेखमा एक, बाँकेमा एक, कपिलवस्तुमा दुई, रूपन्देहीका तीन, कास्कीका तीन, ललितपुरको एक, काठमाडौंको एक, धनुषामा दुई, पर्सामा एक, सुनसरीमा दुई, पाँचथर, ताप्लेजुङ र झापाका तीन क्षेत्र एमाले जितेको थियो ।

नेकपाका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालको अवस्था पनि ओलीको भन्दा खासै फरक छैन । उनीहरू आफ्नै निर्वाचन क्षेत्रमा प्रचारमा व्यस्त छन् । दाहाल रुकुम पूर्वबाट उम्मेदवार छन् भने नेपाल रौतहट–१ मा चुनावी प्रतिस्पर्धामा छन् । दाहाल र नेपाल आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त रहेपछि नेकपाले ठूला सभा नगर्ने निर्णय नै गरेको छ । नेता र उम्मेदवारहरू आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुने निर्णय नेकपाले गरेको छ ।

पूर्वमाओवादीको बलियो आधार भएको रुकुम पूर्वमा दाहाललाई ठूलो चुनौती नभए पनि उनी चुनावी कार्यक्रमका लागि अरू जिल्ला गएका छैनन् । ६ माघमा उम्मेदवारी दर्ता गरेपछि उनी दुई पटक रुकुम पूर्व र पश्चिम पुगेका छन् । पछिल्लो पटक रुकुममा चुनाव प्रचारमा एक साता बिताएर उनी बिहीबार काठमाडौं फर्केका छन् । १ फागुनमा उनले जनयुद्ध दिवसको सम्बोधन, युद्धका बेला लावाङ बैठक स्थल, महत प्रहरी चौकी कब्जा भएको ठाउँ र सहिद पार्कको अवलोकन गरेका थिए । दाहाल आफ्नो छोरी रेनु उम्मेदवार भएको चितवन–३ मा पनि पुगेका छैनन् । ‘रुकुम पूर्वका ३१ मध्ये अब दुई वडामा मात्र अध्यक्ष पुग्न बाँकी छ । अर्को पटक आएपछि जानुहुन्छ,’ नेकपा नेता कमला रोकाले भनिन् ।

२०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दाहालले करिब २५ भन्दा बढी जिल्ला पुगेर चुनावी सभालाई सम्बोधन गरेका थिए । कांग्रेस, माओवादी, एकीकृत समाजवादीसँग गठबन्धन गरेकाले संयुक्त सभालाई उनले सम्बोधन गरेका थिए । उनले गोरखा, पोखरा, बेसीसहर, चितवनको भरतपुर र माडी, गठबन्धनले काठमाडौंमा आयोजना गरेको बृहत् सभा, ललितपुर, सिन्धुपाल्चोकको चौतारा, नुवाकोट, रोल्पाको लिवाङ, दाङको घोराही र भालुवाङ, सुर्खेतको वीरेन्द्रनगर र जुम्लाको खलंगालाई सम्बोधन गरेका थिए ।

त्यस्तै सुनसरीको धरान र इटहरी, खोटाङको दिक्तेल, भोजपुर, जनकपुरधाम, सप्तरीको राजविराज सभालाई सम्बोधन गरेका थिए । उनले कैलालीको धनगढी र डडेलधुराको सभालाई पनि सम्बोधन गरेका थिए । त्यतिबेला दाहालले सम्बोधन गरेका जिल्लाहरू गोरखा १, सिन्धुपाल्चोक, नुवाकोट १, रोल्पा, दाङ १, भोजपुरमा माओवादीले जितेको थियो । तत्कालीन माओवादीले ४६ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरू उठाएको थियो ।

त्यस्तै नेकपा सहसंयोजक नेपालले यस पटक पनि रौतहट–१ बाटै उम्मेदवारी दिएका छन् । ६ माघमा मनोनयन दर्ता गरेपछि पार्टी बैठकका लागि दुई पटक काठमाडौं आएका नेपाल अहिले आफ्नै निर्वाचन क्षेत्रको प्रचारमा व्यस्त छन् । २०७९ को निर्वाचनमा तत्कालीन नेपालले २० जिल्लाका सभालाई सम्बोधन गरेका थिए । उनले आफ्नो निर्वाचन क्षेत्र रौतहट, जनकपुरधाम, बाराको कलैया, सप्तरीको राजविराज, काठमाडौं, ललितपुर, भक्तपुर, हेटौंडा, धादिङबेसी, सुनसरीको इटहरी र इनरुवा, इलाम, उदयपुरको गाईघाट, पोखराको सभालाई सम्बोधन गरेका थिए ।

यस्तै, बुटवल, दाङको घोराही, वीरेन्द्रनगर, सल्यान खलंगा, धनगढी, डोटीको सिलगढी र अछामको मंगलसेन चुनावी सभालाई नेपालले सम्बोधन गरेका थिए । कांग्रेस, माओवादीसँग गठबन्धन गरेको एकीकृत समाजवादीले २०७९ मा अध्यक्ष नेपालले सम्बोधन गरेकामध्ये डोटी, रौतहटमा १, सल्यान र दाङमा १, बारामा १ र धादिङमा १ सिट जितेको थियो । त्यो चुनावमा एकीकृत समाजवादीले २० क्षेत्रमा मात्र आफ्ना उम्मेदवार उठाएको थियो ।

यस पटक कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा कुनै पनि निर्वाचन क्षेत्रमा प्रचारका लागि नजाने भएका छन् । यसअघि डडेलधुराबाट चुनावमा प्रतिस्पर्धा गर्दै आएका देउवाले यसपालि टिकट पाएका छैनन् । उनी पार्टीको प्रचारमा नजाने निर्णयमा पुगेको देउवाको सचिवालयले जनाएको छ । २०७९ को निर्वाचनमा गठबन्धनबाट डडेलधुराको उम्मेदवार भएका तत्कालीन सभापति देउवाले सात जिल्लाका सभालाई मात्र सम्बोधन गरेका थिए । उनले डडेलधुरा, सुर्खेत, दाङ, बुटवल, पोखरा र चितवनका सभालाई सम्बोधन गरेका थिए । त्यो चुनावमा देउवाले सम्बोधन गरेका क्षेत्रमध्ये कांग्रेसले डडेलधुरा, सुर्खेतमा २ र दाङमा १ सिट जितेको थियो ।

विश्लेषकहरूका अनुसार चुनावी गठबन्धन नगरी एक्लाएक्लै प्रतिस्पर्धा गरेको र रास्वपाप्रति मतदाताको आकर्षणले ओली, दाहाल र नेपाल आआफ्नो क्षेत्रमा खुम्चिएका हुन् । तर, एमाले महासचिव शंकर पोखरेल भने एमाले देशव्यापी अभियानभन्दा डिजिटल र आआफ्नो क्षेत्रमा केन्द्रित हुँदा बढी प्रभावकारी हुने देखिएको बताए । ‘निर्वाचन एक प्रकारले अब समुदायकेन्द्रित छ । पहिले निर्वाचन क्याम्पेन उम्मेदवार केन्द्रित जस्ता भएका थिए,’ उनले भने, ‘त्यस अर्थमा डिजिटल क्याम्पेनमा सेन्ट्रलाइज गरेका छौं ।

नेकपा निर्वाचन प्रचारप्रसार समितिका संयोजक अग्नि सापकोटाले ‘जनतासँग नेकपा अभियान’ बढी प्रभावकारी हुने भएकाले ठूला सभा नगरेको बताए । नेकपाले वरिष्ठ नेता तथा उम्मेदवारहरू आआफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुँदा बढी प्रभावकारी भएकाले सभाभन्दा भेटघाटमा जोड दिएको बताए ।

राजनीतिक विश्लेषक झलक सुवेदी ओली, दाहाल र नेपाल मुख्यगरी आफ्नो निर्वाचन क्षेत्र सुरक्षित गर्न र भाषणबाट जनमत बढाउने विश्वास नभएकाले देशव्यापी रूपमा अभियानमा नगएको  बताउँछन् । ‘यी तीन नेतालाई आफ्नो निर्वाचन क्षेत्र सुरक्षा गर्ने दबाब छ । दोस्रो आफू मासमा लोकप्रिय छैन भन्ने लागेको हुन सक्छ,’ उनले भने, ‘आफू अरू जिल्ला गएर आफ्ना उम्मेदवारको पक्षमा जनमत बढाउन सकिने विश्वास नभएको हुन सक्छ ।

पृथ्वीनारायण क्याम्पस पोखराका राजनीतिकशास्त्र विभाग प्रमुख एवं एसोसिएट प्रोफेसर गिरधारी दाहालले कांग्रेस, एमाले र नेकपाका प्रमुख नेताले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी राज्यका निकायलाई जनमुखी बनाउनुपर्नेमा सत्तामुखी भएकाले यो निर्वाचनमा बढी चुनौतीको सामना गर्नुपरेको बताए । ‘निर्वाचनमा उम्मेदवार भएका प्रमुख नेताहरू दबाबमा छन् । जसरी पनि चुनाव जित्न आफ्नो क्षेत्रमा केन्द्रित छन्,’ उनले भने । पुराना दलसँग विचार, सिद्धान्त र संगठन भए पनि प्रमुख नेताहरू देशव्यापी प्रचारमा जान नसक्नुको मुख्य कारण जेन–जी आन्दोलनको असर भएको  उनको भनाइ छ ।

कांग्रेस प्रमुख सहरमा सभाको तयारीमा, रास्वपाको देशव्यापी सभा र रोड शो

कांग्रेसले ६ फागुनमा जनकपुरमा निर्वाचन सभा गरी १० भिजन सार्वजनिक गरिसकेको छ । कांग्रेसले अब केही सहरमा चुनावी सभा गर्ने तय गरेको छ । सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्नेछन् । ‘केही सहरमा सभापति र अन्य वरिष्ठ नेताले सम्बोधन गर्ने गरी चुनावी सभा गर्ने तयारी छ,’ कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने ।

रास्वपाका वरिष्ठ नेता शाहले पूर्वदेखि पश्चिमसम्म प्रमुख सहरहरूमा ‘रोड शो’ गरिसकेका छन् । रास्वपाले जनकपुर, धनगढी र सुर्खेतमा सभा गरिसकेको छ । रास्वपाले ८ फागुनमा सुर्खेतको सभाबाट निर्वाचन वाचापत्र सार्वजनिक गरेको थियो । त्यसअघि रास्वपाले ६ फागुनमा धनगढी र ६ माघमा जनकपुरमा चुनावी सभा गरेको थियो । यी सभालाई सभापति लामिछाने, वरिष्ठ नेता शाहलगायतले सम्बोधन गरेका थिए ।

सभापति लामिछानेले गत साता चितवन, दाङ र प्यूठानको सभालाई पनि सम्बोधन गरेका थिए । रास्वपा सहप्रवक्ता रमेश प्रसाईंले प्रमुख सहरहरूमा ठूला सभा गर्ने जानकारी दिए । उनका अनुसार सभापति लामिछाने र वरिष्ठ नेता शाहले सम्बोधन गर्ने गरी १२ फागुनमा इटहरी, १५ फागुनमा चितवनमा सभा गर्ने तय भएको छ ।

– गंगा बीसी