नेपालगन्ज, फागुन ५ गते ।बाँके जिल्लामा माघ २५ गतेदेखि सञ्चालन गरिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोप अभियान अन्तर्गत हालसम्म सात हजार ५२५ किशोरीलाई एचपिभी खोप लगाइएको छ ।
जिल्लाका आठ वटा पालिकामा यस वर्ष आठ हजार ५८४ जना किशोरीलाई एचपिभी खोप लगाइने लक्ष्यका साथ सुरु गरिएको सो अभियान अन्तर्गत हालसम्म सात हजार ५२५ जनालाई खोप लगाइसकिएको जनाउँदै केहीलाई मात्र लगाउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोर्कण गिरीले राष्ट्रिय खोप अभियान अन्तर्गत जिल्लामा सञ्चालन गरिएको एचपिभी खोप अभियान कोहलपुरमा एक हजार ७००, नेपालगन्जमा एक हजार ७५९, राप्तीसोनारीमा ५८०, बैजनाथमा ८५०, नरैनापुरमा ७१६, जानकीमा ६७०, खजुरामा एक हजार र डुडुवा गाउँपालिकामा २५० जना किशोरीलाई खोप लगाइएको बताउनुभयो ।
उहाँले नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा छुटपुट बाँकी रहेका किशोरीहरूलाई खोप लगाउने कार्य चलिरहेकाले अझै केही दिन छुटपुटलाई खोप लगाइने बताउनुभयो ।
स्वास्थ्य कार्यालयका अनुसार बाँकेमा माघ २५ गतेदेखि सुरु गरिएको सो खोप अभियान अन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ का किशोरी, विद्यालय बाहिरका १० वर्षका किशोरी र अघिल्लो वर्षको खोप अभियानमा छुटेका ७ देखि १० कक्षामा अध्ययनरत तथा विद्यालय बाहिरका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइएको छ ।
किशोरीहरूको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपिभी खोप अत्यन्त प्रभावकारी भएकाले यस अभियानलाई सफल पार्नु सबैको साझा दायित्व भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बताउनुभयो ।
उहाँले लक्षित समूहका सबै किशोरीले अनिवार्य रूपमा खोप लगाउनुपर्ने भएकाले छुटेका किशोरीहरूलाई पनि खोप लगाउन अभिभावक र विद्यालयलाई विशेष आग्रह गर्नुभयो ।
एक डोज एचपिभी खोपको मूल्य आठ हजार रुपियाँभन्दा बढी पर्ने भएकाले राज्यले निःशुल्क रूपमा उपलब्ध गराएको यो अवसरको महत्त्व निकै ठुलो रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
समयमै खोप लगाउँदा भविष्यमा क्यान्सरको जोखिम उल्लेख्य रूपमा घट्ने भएकाले खोप लगाउन अभिभावक, विद्यालय र समुदायबाट राम्रो सहयोग प्राप्त भएको सो कार्यालयले जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











