02/17/2026, 10:04:43
मङ्गलबार, फागुन ०५, २०८२

ब्रह्माण्ड र अध्यात्मको सङ्गम ‘आकाश : दी कस्मिक वन्डर’


काठमाडौँ, फागुन ५ गते । ब्रह्माण्डमा ऊर्जाको रहस्यमयी हलचलबारे सचित्र व्याख्या गर्ने निक्कै दुर्लभ र चाखलाग्दो चित्रकलाको प्रदर्शनी राजधानीको ग्यालरी १०८ मा भइरहेको छ ।

७८ वर्षीय अध्यात्म, ध्यानका अभ्यासकर्ता कलाकार जिमी थापाले ध्यान गर्दा अनुभव गर्नुभएको पृथ्वी, सूर्य, चन्द्रमा, तारा र नवग्रहका अवस्थाले सिर्जना गर्ने संयोगलाई क्यानभासमा उतार्नुभएको छ । उहाँले गत भदौ २३ र २४ गते नेपालमा भएको जेन-जी आन्दोलनको पूर्वाभासलाई समेत चित्रमा कोर्नुभएको छ ।

हरेक रात ताराको गति, अवस्था हेर्ने कलाकार थापाले नेपाली जेन-जी युवाले भ्रष्टाचारविरुद्धमा सङ्गठित र विद्रोह छेड्ने अघिल्लो रातमा पनि आकाशमा ताराको अनौठो, दुर्लभ तर अशुभ सङ्केत देख्नुभयो, ध्यान गर्दै मनमा आज केही अशुभ सङ्केत हुने आकलन गर्नुभयो, भयो पनि त्यस्तै । थुप्रै ठाउँमा आगलागी, युवा घाइते र ज्यानसमेत गुमाउनु प¥यो । त्यस रातको ताराको अवस्थालाई उहाँले जेन-जीको भ्रष्टाचारका लागि चालिएको पाइलासहित चित्रमा कोरेको बताउनुभयो ।

शिवरात्रिको अवसरमा शुभकामना सन्देश दिँदै कलाकार थापाले भन्नुभयो, “औंसीको रातमा मनाइने महाशिवरात्रि पर्व आफैँमा रहस्यमयी धार्मिक पर्व हो, शिवलाई मनपर्ने रङ्ग पनि कालो हो । शिवको डम्बरु बजाउँदा निस्कने धुनले विश्वमा युद्धको अन्त्य हुनु पर्छ र शान्तिको वातावरण बन्नु पर्छ भन्ने हो ।

आकाशमा वा ब्रह्माण्डमा चन्द्रमा र सूर्यसहित नौ वटा ग्रह र १२ वटा राशिमा चन्द्रमा गोचर (घुम्दा) सिर्जना हुने संयोगलाई केही तारा झैँ चम्किला र विविध रङ्गद्वारा ठुला क्यानभासमा उतारिएका छन् । कलाकार थापाका उक्त चित्रकलाले दिन खोजेको सन्देश खुला आँखाले सजिलै बुझिने खालका छैनन्, अध्यात्म, ज्योतिषीय ज्ञानसँग रुचि बढाउने यस्तो एकल चित्रकला प्रदर्शनी राजधानीमा कमै आयोजना हुन्छन् ।

blog

कलाकार थापाले चन्द्रमा, नौ वटा ग्रह सूर्य, चन्द्र, मङ्गल, बुध, वृहस्पति, शुव्रm, शनि, राहु र केतुमा पुग्दा बन्ने संयोगलाई चित्रमार्फत राशिका देवीसहित उजागर गर्नुभएको छ । राशिका देवताको स्थानमा उहाँले किन देवता मात्र हुने देवी पनि हुन सक्छन् भन्ने सन्देश दिन खोज्नुभएको छ ।

आयोजकका अनुसार ‘आकाश’ वा ‘इथर’ को अवधारणामा आधारित चित्रकलाको यस प्रदर्शनीमा १२ राशि र नौ ग्रहको प्रभाव, गति, अवस्थालाई प्रतीकात्मक रूपमा बुझाउन खोजिएको छ । सो ग्यालरीमा उहाँले बनाउनुभएको मिनिएचर चित्रकला, पशुपतिनाथ मन्दिरको प्राङ्गणमा रहेको विशाल साँढेको मूर्ति वरपरका दृश्य, पशुपतिमा अन्तिम दाहसंस्कार गरिने पार्थिव शरीरका वरपर महसुस गर्नुभएको सूक्ष्म शरीरका परिदृश्यसमेत प्रदर्शनीमा राखिएका छन् ।

– शिवा तामाङ