काठमाडौँ,फाल्गुन ५ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीस्थित भारत मण्डपम्मा ‘ग्लोबल एआई इम्प्याक्ट समिट’ उद्घाटन गर्दै यसलाई ‘ग्लोबल साउथले प्रविधिको भविष्य निर्धारण गर्ने निर्णायक क्षण’ भएको दाबी गरेका छन् । पाँचदिने सम्मेलनमा प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले भारत आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को निष्क्रिय उपभोक्ता नबन्ने र नवप्रवर्तन, समावेशीकरण र विश्व मापदण्डका संवाहक हुने दाबीसमेत गरे ।
सम्मेलनलाई अहिलेसम्मकै सबैभन्दा ठूलो एआई भेला भनिएको छ । गुगलका प्रमुख सुन्दर पिचाई, ओपनएआईका श्याम अल्टम्यान, एन्थ्रोपिकका डारियो आमोडेई र रिलायन्सका मुकेश अम्बानी सहित ३७ ठूला कम्पनीका प्रमुख कार्यकारी अधिकृत यसमा सहभागी हुँदै छन् । सोमबार फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रों, ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज सहभागी भए । उनीहरूको उपस्थितिले ‘विश्वव्यापी एआई सुशासन र सहकार्यका लागि साझा मार्गचित्र’ बनाउने सम्मेलनको उद्देश्यलाई थप महत्त्व दिएको मोदीले बताएका छन् ।
सम्मेलन आयोजकहरूले दिएको विवरण अनुसार ४५ भन्दा बढी देशका प्रतिनिधि, सयौं स्टार्टअप र अनुसन्धान संस्था सहभागी छन् । यसअघि बेलायतको बेल्च्ली पार्क, दक्षिण कोरियाको सोल र फ्रान्सको पेरिसमा भएका विश्वस्तरीय एआई बैठकपछि ग्लोबल साउथमा आयोजित यो पहिलो एआई सम्मेलन हो । यसै साताभित्र प्रधानमन्त्री मोदीले गोप्य बैठकमार्फत सीईओहरूसँग छलफल गर्ने कार्यक्रम छ । त्यसमा करिब १ सय अर्ब डलरसम्मको लगानी प्रतिबद्धताबारे छलफल हुने अपेक्षा गरिएको छ ।

सम्मेलनको पूर्वतयारीका रूपमा नेपालस्थित भारतीय दूतावासले गत नोभेम्बरमा एआई एसोसिएसन नेपालसँगको सहकार्यमा ‘समावेशी वृद्धिका लागि एआई : भविष्यको एआईका लागि नेपालको तयारी’ नामक कार्यक्रमसमेत आयोजना गरेको थियो । उक्त कार्यक्रममा दुवै देशका अधिकारीहरूले डिजिटल सार्वजनिक पूर्वाधार (डीपीआई) र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता क्षेत्रमा सहकार्य बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । कार्यक्रमका लागि नेपाल आएका डिजिटल इन्डिया भाषिनी डिभिजनका प्रमुख कार्यकारी अधिकृत अमिताभ नागले भाषिनीको काम भाषा अवरोध हटाउन र डिजिटल विभाजन कम गर्न केन्द्रित रहेको स्पष्ट पारेका थिए ।
एआई इम्प्याक्ट समिटमा विभिन्न देशका प्रमुखसँगै सम्पूर्ण एआई इकोसिस्टम (सरकार, उद्योग, अनुसन्धानकर्ता, शिक्षाविद्, स्टार्टअप र विद्यार्थी) जम्मा हुने भारतको डिजिटल सोसाइटी इनिसिएटिभका निर्देशकसमेत रहेका अनिरबन शर्माले जनाएका थिए । यस शिखर सम्मेलनमा एआईजस्तो शक्तिशाली प्रविधिलाई मानवताको बृहत्तर हितका लागि कसरी उपयोग गर्न सकिन्छ भन्नेबारे साझा दृष्टिकोण निर्माण गर्ने लक्ष्य लिइएको छ । नेपालका युवाहरूलाई भारतको एआई इम्प्याक्ट समिटका लागि आयोजना गरिएका ‘एआई फर अल’, ‘एआई बाई हर’ (महिला नवप्रवर्तकहरूका लागि) र ‘युभाएआई’ जस्ता पहलमा सहभागी हुन भारत सरकारले प्रोत्साहन गरेको थियो ।
सम्मेलनमा भुटान र श्रीलंकाका प्रधानमन्त्रीलाई निमन्त्रणा गरिएको भए पनि नेपालका प्रधानमन्त्री वा मन्त्रीहरू भने अमान्त्रितको सूचीमा देखिँदैनन् । नेपालका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना प्रविधि महाशाखा प्रमुखसमेत रहेका सहसचिव आदेश खड्का सम्मेलनमा सहभागी छन् । उनले मंगलबारको एक प्यानल सत्रमा सहभागिता जनाउँदै छन् । एआई एसोसिएसन नेपालका प्रतिनिधि पनि दिल्लीमा छन् ।
सम्मेलनका छलफल तीन मुख्य विषयमा केन्द्रित रहने जनाइएको छ– एआई सुशासनका ढाँचा, स्वचालनले ल्याउने आर्थिक अवसर र जोखिम तथा विश्व मापदण्ड निर्माणमा उदाउँदा बजारको भूमिका । प्रतिनिधिहरूले रोजगारीमा पर्ने प्रभाव, बालबालिकाको सुरक्षा, डेटा र अल्गोरिदममाथि स्थानीय नियन्त्रणलाई प्राथमिकता दिने ‘सार्वभौम एआई’ रणनीतिसम्मका विषयमा बहस गर्ने कार्यक्रम छ ।

भारतका लागि यो सम्मेलन कूटनीतिक र आर्थिक दुवै दृष्टिले महत्त्वपूर्ण मानिएको छ । भारत सरकारले ‘इन्डिया एआई मिसन’ अन्तर्गत १० हजार करोड रुपैयाँभन्दा बढी लगानी गरी अनुसन्धान केन्द्र, दक्ष जनशक्ति विकास र नियामक संरचना निर्माणमा जोड दिएको छ ।
सम्मेलनले एआई र प्रविधिमा थप लगानी र सहकार्यलाई गति दिने भारतीयको अपेक्षा छ । भूराजनीतिक रूपमा पनि सम्मेलनलाई महत्त्वपूर्ण मानिएको छ । २०२३ को जी–ट्वान्टीमा अध्यक्षता गरेर डिजिटल प्रविधि पूर्वाधारको अवधारणा स्थापित गरेको भारतले यसपालि एआई सम्मेलनबाट नयाँ प्रविधिलाई कसरी नियमन गर्ने भन्ने विषयमा नेतृत्व गर्न खोजेको छ । केही पर्यवेक्षकले दिल्ली भेलालाई ‘सिलिकन युगको ब्रेटन वुड्स क्षण’ भन्दै डिजिटल अर्थतन्त्रका नियम पुनर्लेखन हुने संकेत गरेका छन् ।
– सजना बराल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










