02/07/2026, 20:00:00
शनिबार, माघ २४, २०८२

मस्कको नयाँ कदम : अन्तरिक्षमा डाटा सेन्टर र एआई


न्यूयोर्क, माघ २४ गते । एलन मस्कले अन्तरिक्षमा सूचना केन्द्र स्थापना गर्ने योजना सार्वजनिक गर्नु भएको छ । करिब एक लाख उपग्रहलाई आकाशमा राखेर सूर्यको ऊर्जाबाट चल्ने सूचना केन्द्र निर्माण गरिने छ, जसले कृत्रिम बुद्धिमत्ता प्रणाली र संवादात्मक कार्यक्रम सञ्चालन गर्दा बिजुली सङ्कट रोक्न मद्दत गर्ने छ ।

यसको लागि उहाँले आफ्नो अन्तरिक्ष संस्था र एआई व्यवसायलाई एकसाथ जोडेर ठुलो सार्वजनिक प्रस्ताव गर्ने योजना बनाउनुभएको छ । तर विज्ञले चेतावनी दिनुभयो, “अन्तरिक्षमा सूचना केन्द्र स्थापना गर्न धेरै प्राविधिक, आर्थिक र वातावरणीय चुनौती छन् । कम्प्युटर चिपले धेरै तातो उत्पादन गर्छन्, र अन्तरिक्षको शून्य हावामा तातो बाहिर जान कठिन हुन्छ । यस समस्याको समाधानका लागि विशाल रेडिएटर प्यानल बनाउने योजना छ, तर यस्ता संरचना अहिलेसम्म कहिल्यै निर्माण भएका छैनन् ।

अन्तरिक्षमा उपग्रह बिग्रिनुको सम्भावना पनि उच्च छ, जसले आपतकालीन सञ्चार र मौसम पूर्वानुमानमा असर पार्न सक्छ । मस्कका अनुसार, आगामी ३०-३६ महिनाभित्र अन्तरिक्ष नै बुद्धिमत्ता प्रणालीको सबैभन्दा उपयुक्त स्थान बन्ने छ । तर विज्ञले भनेका छन्, “बिग्रेका उपकरण मर्मत गर्न मानिस पुग्न नसक्ने र सूर्यको उच्च ऊर्जा कणले उपकरणमा असर पार्ने चुनौती रहन्छ ।

अन्य कम्पनी पनि अन्तरिक्षमा सूचना केन्द्र स्थापना गर्ने प्रयास गर्दै छन् । विशेषज्ञले यसलाई अन्तरिक्ष क्षेत्रमा शक्ति प्रदर्शनको रूपमा पनि व्याख्या गरेका छन् ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..