02/06/2026, 20:46:22
शुक्रबार, माघ २३, २०८२

पत्रकारहरूले देश हितमा साँचो र सत्य कुरा बोल्न सक्नुपर्छ : नेमकिपा अध्यक्ष बिजुक्छें


भक्तपुर, माघ २३ : नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेंले पत्रकारहरूले देश र जनताको पक्षमा बोल्न र लेख्न हिच्किचाउन नहुने बताएका छन् ।

भक्तपुरमा आज आयोजित रफत सञ्चार क्लबकाे वार्षिकाेत्सव कार्यक्रममा अध्यक्ष बिजुक्छेंले पत्रकारहरूले देश हितमा साँचो र सत्य कुरा बोल्न सक्नुपर्ने र पत्रकारिता क्षेत्र आफ्नो कर्तव्यबाट च्युत भए देश र जनताको अहित हुने बताए ।

कार्यक्रममा उनले कुनै वेला आफूले पनि पत्रकारिता गरेको र रिर्पोटिङ गर्न जाँदा तत्कालीन समयमा प्रहरीको लाठी प्रहार सहनु परेको स्मरण गरे । उनले भने, ‘पत्रकारहरूले साँचो कुरा र बोल्न र लेख्न पछि पर्न हुँदैन । यदि यो कर्तव्यप्रति च्यूत भएमा देश र जनताको अहित हुन जान्छ ।

उनले पत्रकारहरूले इमानदार भएर कर्तव्य पूरा गरेमा समाज उत्साहित हुने र समाजलाई सुदृढ गर्न सकिने बताए । अध्यक्ष बिजुक्छेंले पत्रकारहरू अध्ययनशील भएर अगाडि बढेमा समाजप्रतिको आफ्नो कर्तव्य पूरा हुने उल्लेख गरे । उनले पत्रकारहरूले नै रुसी क्रान्ति, दोस्रो विश्वयुद्धमा खसालिएको आणविक बमको असरको यथार्थ स्थिति बारे प्रकाश पारेर संसारलाई जानकारी गराएको प्रसंग सुनाए ।