01/26/2026, 09:40:57
सोमबार, माघ १२, २०८२

राष्ट्रिय झन्डाको दुरुपयोग रोक्न गृह मन्त्रालयको निर्देशन


काठमाडौँ, माघ १२ गते । निर्वाचन प्रचार प्रसार गर्दा राष्ट्रिय झन्डा  दुरुपयोग बढेपछि गृह मन्त्रालयले राष्ट्रिय झन्डाको गरिमा र मर्यादा ख्यालमा राखेर प्रयोग गर्न आग्रह गरेको छ ।

मन्त्रालयले राष्ट्रिय झन्डाको दुरुपयोग भए कानुनी कारबाही हुने भन्दै सभा, जुलुस र घरदैलो कार्यक्रममा बढीमा १० वटा मात्र झन्डा प्रयोग गर्न पाउने र त्यसभन्दा बढी पाइए अनुगमन र कारबाही प्रक्रिया अघि बढाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन पनि दिएको छ ।

मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी राष्ट्रिय झन्डाको उच्च गरिमा र मर्यादा ध्यानमा राखी प्रचलित कानुन बमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको हो । मन्त्रालयले जथाभाबी राष्ट्रिय झन्डा दुरुपयोग भएको पाइएमा कानुन बमोजिम कारबाही हुने जनाएको छ ।

मन्त्रालयले निर्वाचन आचारसंहिता, २०८२ मा पनि जुनसुकै दल वा उम्मेदवारले जुलुस, आम सभा, कोण सभा, घरदैलो, भेटघाट वा जुनसुकै प्रकारको ¥याली गर्दा बढीमा १० वटा राष्ट्रिय झन्डा मात्र प्रयोग गर्न पाउने स्पष्ट पारेको छ ।