काठमाडौँ, माघ १२ गते । वैदेशिक रोजगार विभागले पछिल्लो समयमा व्यक्तिगत श्रम स्वीकृति लिएर जापान जाने नेपाली श्रमिक ठगीमा पर्ने गरेकाले सचेत रहन आग्रह गरेको छ । विभागले ब्याचलर, कुक तथा सिपयुक्त श्रमिक लगायतका भिसामा व्यक्तिगत श्रम स्वीकृति लिएर जाने श्रमिक अत्यधिक मात्रामा ठगीमा पर्ने गरेकाले सचेत रहन आग्रह गरेको हो ।
टोकियोस्थित नेपाली दूतावासका अनुसार व्यक्तिगत श्रम स्वीकृति लिएर आउनेलाई चर्को शुल्क लिने, भने अनुसार काम र तलब नपाउने गरेको उजुरी धेरै आएका छन् । दूतावासमा व्यक्तिगत श्रम स्वीकृति लिएर जापानमा आएका व्यक्तिका उजुरीका चाङ भएकाले यसलाई व्यवस्थित बनाउन विभागलाई पत्राचारसमेत गरेको जनाइएको छ ।

दूतावासको पत्रमा व्यक्तिगत श्रम स्वीकृति लिई जापान जानेलाई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने अनुमति नभएका विभिन्न कन्सल्टेन्सी, संस्था तथा व्यक्तिले जापानमा काम लगाइदिने भन्दै पठाउने गरेका छन् ।
विभागका उपमहानिर्देशक चन्द्रबहादुर शिवाकोटीले विभिन्न प्रकारका भिसा तथा रोजगारीसम्बन्धी कागजात बनाई व्यक्तिगत श्रम स्वीकृतिको आवेदन गरिदिने र चर्को शुल्क असुली गरेको उजुरी विभागमा आउने गरेको जानकारी दिनुभयो ।
वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने अनुमति नभएका कोही कसैले यस्तो कानुनविपरीत कार्य नगर्न विभागले सचेत गराएको छ । सार्वजनिक सूचना जारी गर्दै विभागले व्यक्तिगत श्रम स्वीकृति लिएर जापान जाने श्रमिकलाई सचेत रहन आग्रह गरेको हो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















