नर्थ क्यारोलाइना (अमेरिका), माघ १२ गते । यात्रा जतिसुकै लामो होस् पहिलो पाइलाबाटै सुरु गर्नु पर्छ । बौद्ध भिक्षुहरूले अक्टोवर २६ मा टेक्ससको फोर्टवर्थबाट सुरु गरेको पहिलो पाइला नर्थ क्यारोलाइनाको सदरमुकाम रालेसम्म आइपुग्दा दसौँ लाखको आसपासमा पुग्यो होला तर पनि ती पाइला रोकिएका छैनन् निरन्तर चलिरहेका छन् । शान्तिको दियो लिएर उनीहरू अहिले राले नजिकै पुगेका छन् ।
उनीहरूसँग न ब्यानर छ, न पर्चा छ, न कुनै नारा छ । चुपचाप हिँडिरहेका छन् । उनीहरूको एउटै उद्देश्य छ, एउटै सन्देश छ ‘शान्ति’ । अमेरिका र विश्वभर शान्तिको कामना गर्दै हिँडेका बौद्ध भिक्षुहरूको त्यो पदचापले संसारको ध्यान आकृष्ट गरेको छ । संसारभरबाट मानिस उनीहरूको सन्देश ग्रहण गर्न र उनीहरूलाई साथ दिन ओइरिएका छन् । अमेरिकाका साना, ठुला सञ्चारगृह र सञ्चार माध्यम उनीहरूको अघिपछि झुम्मिएका छन् । उनीहरू हिँडेको सडकको दायाँबायाँ हात हल्लाएर समर्थन गर्न र पुष्पगुच्छा दिएर आशीर्वाद थाप्न लाखौँ मानिस ओइरिएबाट अमेरिकीहरूको शान्तिको चाहना र अभिलाषा उत्कट देखिन्छ ।
बौद्ध भिक्षुहरूको यो पदयात्रा र उनीहरूप्रतिको यो आकर्षण अमेरिकी इतिहासकै सर्वाधिक सफल र चर्चित यात्राका रूपमा रहेको छ । १९ जना यी शान्ति पदयात्रीको अघिल्तिर निरन्तर हिँडिरहेको छ आलोक । आलोक कुकुर मात्र होइन, यो त समग्र यात्राको एउटा विम्ब हो, शान्तिदूत हो ।

सो टोलीले पार गर्ने दक्षिणी भेगका १० राज्यमध्ये टेक्सस, लुजियाना, अलावामा, मिसिसिपी, जर्जिया र साउथ क्यारोलिनाको भूमि पार गरिसकेको छ भने यतिखेर नर्थ क्यारोलिनामा छ । अब यहाँबाट भर्जिनिया, बाल्टिमोर हुँदै वासिङ्टन डिसी पुगेर शान्तिको पदचाप र प्रवचन छोडी यात्रा समाप्त गर्ने छन् । हिंसा, हत्या र विभाजनको तनावबाट जनमानसलाई मुक्त गर्न र शान्ति स्थापनामा सहयोग गर्न सकिन्छ कि भनेर भिक्षुहरू पदयात्रामा निस्केका हुन् । तीन हजार सात सय किलोमिटरको यो यात्रामा उनीहरूले दिएको सन्देश एउटै छ ‘शान्ति’ । अमेरिकीहरू पनि शान्तियात्रामा पूरापूर सशरीर सहभागी छन्, ऐक्यबद्धता जनाइरहेका छन् । शान्ति पदयात्रीको कडा सुरक्षाका लागि स्थानीय प्रहरी सक्रिय छन् ।
अमेरिका भित्र र बाहिर विभाजन छ, मानिसको मनस्थिति खल्बलिएको छ, त्यसैले हामीलाई शान्ति चाहिएको छ । “आशा गरौँ यो शान्ति पदयात्राले विश्वभर शान्ति छाउने छ,” सडकको किनारामा उभिनुभएकी वृन्दा भन्नुहुन्छ । भीक्षुको प्रवचन सुन्न उपस्थित हुनुभएका जोन हिथको भनाइ छ– यो पदयात्राले जनमानसमा सकारात्मक सन्देश गएको छ र यसले एकतालाई बल दिएको छ, यो हामी सबैका लागि खुसीको कुरा हो ।
यो यात्रामा भिक्षुहरू कतिपय घाइते अवस्थामा छन्, कतिको पैतालामा ठेला उठेको छ, खुट्टा फुटेको छ, आलोकको त खुट्टाको शल्यक्रिया नै गर्नु प¥यो तर पनि उनीहरू रोकिएका छैनन् । बौद्ध भिक्षु पन्नाकरा भन्नुहुन्छ, “हामी सबैको एउटा साझा धर्म छ शान्ति, करुणा, दया र प्रेम । हामी सबै यसकै खोजीमा छौँ । त्यसैको प्रवर्धनका लागि हामी निस्केका हौँ । उहाँहरूले सभामा बुद्धको सन्देश पनि सुनाउनुहुन्छ ।” यो यात्रा आइतबार ९१ औँ दिनमा पुगेको छ । मौसमले साथ दिएको खण्डमा फेब्रुअरी १३ मा राजधानी वासिङ्टन डिसीस्थित ह्वाइट हाउसमा पुगेर यो यात्रा समापन हुने छ ।
– कृष्णराज खनाल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















