01/22/2026, 21:24:59
बिहिबार, माघ ०८, २०८२

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

©CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 100

मनिला, माघ ८ गते ।फिलिपिन्सका नागरिक समाज समूहका सदस्यले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध नक्कली बाढी नियन्त्रण परियोजना मार्फत करदाताको अर्बौं डलर व्यवस्थित रूपमा दुरु पयोग गरिएको आरोप लगाउँदै महाभियोगको उजुरी दायर गरेका छन् ।

एघार करोड १० लाख जनसङ्ख्या भएको यस द्वीप समूह राष्ट्रमा तथाकथित ‘भूत पूर्वाधार परियोजना’ बारे आक्रोश महिनौ देखि बढ्दै आएको छ । गत वर्ष शक्तिशाली टाइफुनका कारण सम्पूर्ण सहर बाढीमा डुबेपछि यी परियोजनामाथि गम्भीर प्रश्न उठेका हुन् ।

वामपन्थी राजनीतिक दलको गठबन्धन मकाबायन ब्लकको समर्थनमा दायर गरिएको उजुरीमा राष्ट्रपति मार्कोसले राष्ट्रिय बजेटलाई परियोजनाको नाममा प्याक गरी आफ्ना सहयोगीतर्फ कोष पुनः निर्देशन गरेर जनताको विश्वास तोड्नु भएको आरोप लगाइएको छ । निवेदन कर्ताका अनुसार उजुरी हाउस अफ रिप्रेजेन्टेटिभको महासचिवको कार्यालयमा सदनको नियम अनुसार दर्ता गरिएको हो, यद्यपि अधिकारी स्वयं उपस्थित थिएनन् ।

उजुरीको सारांशमा राष्ट्रपति मार्कोसले पाँच खर्ब ४५ अर्ब ६० करोड अर्ब पेसो (करिब नौ अर्ब २० करोड अमेरिकी डलर) भन्दा बढी बाढी नियन्त्रण कोषको दुरु पयोगलाई संस्थागत गर्दै आफ्ना मन पर्ने सहयोगी र ठेकेदारलाई फाइदा पुर्याएको तथा सन् २०२५ को मध्यावधि निर्वाचनका लागि सार्वजनिक कोषलाई निजी राजनीतिक प्रयोजनमा प्रयोग गरिएको उल्लेख छ ।

यस उजुरीमा राष्ट्रपतिले ठेक्कापट्टाबाट प्रत्यक्ष रूपमा घुस माग्नु भएको आरोपसमेत समावेश गरिएको छ । तर यो आरोप अनुसन्धानका क्रममा देश छाडेर बाहिरिएका एक पूर्व सांसदले लगाएका प्रमाणित नभएका दाबीमा आधारित रहेको बताइएको छ । “भ्रष्टाचारको व्यापक योजनामा राष्ट्रपतिको संलग्नताले उहाँलाई जवाफदेही बनाउन महाभियोग आवश्यक बनाउँछ । जनतालाई बारम्बार र व्यवस्थित रूपमा लुटिएको छ”, उजुरीको सारांशमा उल्लेख गरिएको छ ।

राष्ट्रपति मार्कोसले भने आफूले नै भूत परियोजनाको विषयलाई अगाडि सारेको र अनुसन्धान अघि बढाउन भूमिका खेलेको दाबी गर्दै आउनु भएको छ, जसले निर्माण कम्पनीका मालिक, सरकारी अधिकारी र सांसद संलग्न रहेको देखाएको उहाँको भनाइ छ । तर उजुरी कर्ता मध्ये लिजा माजाले यी कदम केवल दोष पन्छाउने प्रयास भएको बताउँदै भन्नुभयो, “हामीलाई लाग्छ यो अनुसन्धान ढाकछोप मात्र हो, किनकि वास्तविक रूपमा उहाँ नै यस भ्रष्टाचारका प्रमुख हुनुहुन्छ ।”

गत वर्षपूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टेको गिरफ्तारी र अन्तर्राष्ट्रिय फौजदारी अदालतमा स्थानान्तरणसँग सम्बन्धित घटनालाई उद्धृत गर्दै यस हप्ता मार्कोस विरुद्ध दायर गरिएको यो दोस्रो उजुरी हो । फिलिपिन्सको संविधान अनुसार काङ्ग्रेसका ३०० भन्दा बढी सदस्य मध्ये कम्तीमा एक जनाको समर्थन भए कुनै पनि नागरिकले महाभियोग उजुरी दायर गर्न सक्छ ।

युनिभर्सिटी अफ सान्टो टोमासका राजनीति विज्ञान विभागका अध्यक्ष प्राध्यापक डेनिस कोरोनासिओनले राष्ट्रपतिका सहयोगीले भरिएको काङ्ग्रेसमा यस उजुरीले धेरै अघि बढ्ने सम्भावना कम रहेको बताउनुभयो । उहाँका अनुसार यो उजुरीले न्याय सम्बन्धी सदन समितिको स्वीकृति पाउने सम्भावना न्यून छ ।

यसअघि सन् २०२४ मा उपराष्ट्रपति सारा डुटेर्टेविरुद्ध तीन वटा उजुरी दर्ता भएका थिए । ती उजुरीका आधारमा प्रतिनिधिसभाले महाभियोग गरेको भए पनि सिनेटमा भएको परीक्षण असफल भई मुद्दा फिर्ता पठाइएको थियो । पछि सर्वोच्च अदालतले एक वर्षभित्र एकभन्दा बढी महाभियोग कार्यवाही गर्न नपाइने संवैधानिक प्रावधान उल्लङ्घन भएको ठहर गर्दै उक्त मुद्दा खारेज गरिदिएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..