काठमाडौं, माघ ८ गते । नेपाली कांग्रेसले पार्टी सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ । भोलि (शुक्रबार) बस्ने सानेपा बैठकले पार्टी सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने बताइएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनु्सार सभापति थापा भोलि पार्टी केन्द्रीय कार्यालय सानेपा जाने तयारी रहेको छ । भोलि सानेपामा निर्वाचत केन्द्रीत बैठक पनि तय गरिएको छ । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि उनी पहिलो पटक पार्टी केन्द्रीय कार्यालय जान लागेका हुन् ।
पार्टी केन्द्रीय कार्यालयमा पुगेर पदस्थापनापछि मात्रै उनी निर्वाचन क्षेत्रमा जाने छन् । आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सभापति थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
‘भोलि पार्टीको निर्वाचन केन्द्रीत बैठकहरु छन् । सभापतिज्यू भोलि पार्टी केन्द्रीय कार्यालय पुगेर पहिला पदस्थापना गर्नुहुन्छ । त्यसपछि मात्रै निर्वाचन क्षेत्रमा जाने कार्यक्रम तय हुन्छ,’– प्रवक्ता चालिसेले रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा भने ।
भोलिको बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने पनि बताइएको छ । अन्य दलहरुले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा होमिएका छन् । नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडि सारेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













