विराटनगर, पुस २६ : नेपाली कांग्रेसमा विशेष महाधिवेशनको बहस पेचिलो बनेका बेला त्यसको असर अब कृष्णप्रसाद सिटौला निकट समूहभित्रै देखिन थालेको छ ।
लामो समयदेखि संस्थापन धार मानिँदै आएका सिटौलानिकट झापाका नेताहरू धमाधम विशेष महाधिवेशनको पक्षमा उभिन थालेपछि कांग्रेसभित्रको शक्ति सन्तुलनमा नयाँ संकेत देखिएको हो । यही क्रमको सबैभन्दा महत्वपूर्ण राजनीतिक सन्देश सिटौलाकै गृहजिल्ला झापाबाट आएको छ ।
झापा कांग्रेसका पूर्वसभापति, संविधानसभा सदस्य तथा सिटौलाका विश्वासपात्र मानिने सुधीर शिवाकोटी खुलेर विशेष महाधिवेशनको पक्षमा उभिएका छन् । उनको यो कदमलाई व्यक्तिगत निर्णय मात्र नभई सिटौला समूहभित्रको असन्तुष्टिको संकेतका रूपमा हेरिएको छ ।
विशेष महाधिवेशन पक्षधरहरूका अनुसार झापाबाट करिब ७० प्रतिशत हाराहारी महाधिवेशन प्रतिनिधि सहभागी हुने लगभग निश्चित भइसकेको छ । यदि यो दाबी यथार्थमा परिणत भयो भने झापा मात्र होइन, समग्र कोशी प्रदेशमै संस्थापन पक्षका लागि यो ठूलो झड्का हुन सक्छ ।
शिवाकोटी झापा कांग्रेसमा गहिरो संगठनात्मक जरा भएका नेता हुन् । सिटौला जिल्ला सभापति हुँदा सचिव रहेका उनी पछि दुई कार्यकालसम्म झापा कांग्रेसको सभापति बने । यही संगठनात्मक पृष्ठभूमिका कारण उनको आहृवानलाई सामान्य राजनीतिक अभिव्यक्ति भन्दा बढी कार्यकर्ता तहमा प्रभाव पार्ने संकेतका रूपमा लिइएको छ ।
सामाजिक सञ्जालमार्फत शनिबार विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गर्दै शिवाकोटीले पार्टी ‘सुकिला–मुकिलाको कब्जा’ मा परेको आरोप लगाएका छन् । उनले बीपी कोइरालाको विचारलाई उद्धृत गर्दै पार्टीलाई पुनः शुद्धीकरण गर्न विशेष महाधिवेशन अपरिहार्य भएको बताएका छन् । ‘सक्ने साथीहरू काठमाडौं जाऔं, नसक्नेहरूले जिल्लामै बसेर सक्रिय समर्थन गरौं,’ उनको आह्वान छ ।
उनले लेखेका छन्, ‘यो मक्काएको संस्थापन भनिएका नेताहरुबाट र यिनको दादागिरीबाट पार्टीलाई आजाद गर्ने अभियानमा लाग्न हार्दिक आह्वान गर्दछु ।‘
राजनीतिक रूपमा यो अभिव्यक्ति वैचारिक असहमति मात्र होइन । शिवाकोटीको पछिल्लो असन्तुष्टिको पृष्ठभूमि पनि उतिकै अर्थपूर्ण छ । यसपटक राष्ट्रिय सभामा उम्मेदवार बनाउने आश्वासन पाए पनि अन्तिम समयमा नाम काटिएपछि उनले सार्वजनिक रूपमा असन्तोष जनाएका थिए । यसले विशेष महाधिवेशनप्रतिको उनको समर्थनलाई व्यक्तिगत पीडा र संगठनात्मक असन्तोषको मिश्रणका रूपमा पनि व्याख्या गर्न सकिने ठाउँ दिन्छ ।
शिवाकोटी २०५६ देखि २०६४ सम्म दुई कार्यकाल झापा कांग्रेसको सभापति बनेका नेता हुन् । २०७० को संविधानसभा निर्वाचनमा झापा–२ बाट निर्वाचित उनी २०४६ र २०६२–६३ का दुवै जन-आन्दोलनमा झापामा आन्दोलनको अगुवाइ गर्ने नेताका रूपमा चिनिन्छन् । २०६२–६३ को जनआन्दोलनका क्रममा सेनाको हिरासतमा रही चरम यातना खपेको इतिहासले पनि उनको राजनीतिक पृष्ठभूमिलाई फरक बनाउँछ ।
विशेष महाधिवेशन पक्षधर एक नेताका अनुसार सिटौलानिकट नेता नै विशेष महाधिवेशनतर्फ आकर्षित हुनु कांग्रेसभित्रको विवाद अब व्यक्तिगत गुटभन्दा बाहिर निस्केर नेतृत्वप्रतिको असन्तोषमा रूपान्तरण भइरहेको संकेत हो ।
झापाबाट आएको यो सन्देशले विशेष महाधिवेशनको बहसलाई नयाँ मोड दिएको छ । अब प्रश्न उठेको छ, यो केही नेताको व्यक्तिगत निर्णय हो, कि सिटौला समूहभित्रै सुरु भएको पुनर्संरचनाको संकेत ? पुस २७–२८ को विशेष महाधिवेशन नजिकिँदै जाँदा झापाको भूमिकाले त्यसको उत्तर दिनेछ ।
– पर्वत पोर्तेल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









