विराटनगर, माघ ८ गते । चुनावको मौका छोपेर विराटनगरका मासु व्यवसायीले खसीको मासुको मूल्यमा प्रति किलोग्राम दुई सय रुपियाँले वृद्धि गरेका छन् । मासु व्यवसायी सङ्घ मोरङले स्थानीय तह, स्थानीय प्रशासन समेतलाई जानकारी नदिई मूल्यवृद्धि गरेको हो ।
गत पुस ३० गते राति व्यवसायीबिच छलफल भएर विराटनगर–३, कञ्चनबारीका मासु व्यवसायीले माघ १ गतेदेखि प्रतिकेजी एक हजार तीन सय रुपियाँ मूल्य कायम भएको मूल्यसूची टाँस गरेका थिए । अघिल्लो दिनसम्म प्रतिकिलो एक हजार एक सय रुपियाँ रहेको मासुको मूल्य अर्को दिन दुई सय रुपियाँ बढी परेपछि उपभोक्ता छक्क परे पनि व्यवसायीले स्थानीय प्रशासनसँग छलफल गरेर बढाइएको भनेर ढाँटेका थिए ।
विराटनगर–३, कञ्चनबारी खसीको मासु पाउने हबका रूपमा चिनिन्छ । त्यहाँ कोशीको पहाडी क्षेत्र भोजपुर, सङ्खुवासभा, तेह्रथुम, धनकुटाका खसी व्यवसायीले ल्याउने गर्छन् । सङ्घका मोरङ अध्यक्ष सुवास शिवाकोटीले व्यवसायीले मूल्य नबढाउँदा व्यवसाय गर्न नसक्ने स्थिति आएको दाबी गर्नुभयो । शिवाकोटीको व्यवसाय भने रोडसेसमा रहेको छ ।
व्यवसायीका अनुसार अहिले खसीपालन गर्ने किसानले समेत मूल्यवृद्धि गरेका छन् । कञ्चनबारीका मासु व्यवसायी निरोज राजवंशीका अनुसार किसानले खसी र बाख्रासँगै खरिद गर्ने व्यापारीलाई बढी प्राथमिकता दिन्छन् किनकि खसी बिक्री हुँदा बाख्रा रहन्छन् ।
खसी र बाख्रासँगै खरिद गर्नेले बजारमा आएपछि दुवैसँगै बनाउँछन् र मिसावट गरेर बिक्री गर्छन् । बाख्रा खरिद गर्नेलाई खसी खरिद गर्दा सस्तो पर्छ । कञ्चनबारीका व्यापारीले भने खसी मात्रै खरिद गर्ने गरेको उनीहरूको दाबी छ ।
सङ्घका अध्यक्ष शिवाकोटीले पनि कञ्चनबारी मासु व्यापारको हब भएका कारण ब्रान्ड बिगार्न व्यापारी चाँहैनन् । त्यसैले मूल्य बढाएका हुन् ।
यसलाई सङ्घले बजारको अन्य क्षेत्रका व्यापारीसम्म पुग्न भने नदिएको शिवाकोटीको भनाइ छ । सङ्घको तथ्याङ्कमा विराटनगरमा दैनिक एक सय वटा खसी काटिन्छन्, तीमध्ये ६० वटाको मासु कञ्चनबारीबाट बिक्री हुने गरेको भनाइ छ । बाँकी बजारमा काट्ने खसीको मासुमा कम शुद्धता हुने स्वयम् अध्यक्ष शिवाकोटी स्विकार्नुहुन्छ ।
व्यापारीले एकाएक मासुको मूल्य बढाएको विषय स्थानीय सरकारसम्म गुनासो पुगेपछि विराटनगर महानगरपालिकाले बुधबार छलफलका लागि बोलाएको छ । महानगरपालिकाका पशुपन्छी तथा कृषि शाखाका प्रमुख हिरालाल यादवका अनुसार व्यापारीले एक हप्तापछि महानगरपालिकामा मूल्य बढाएको जानकारी दिएका छन् ।
त्यो विषयमा सरोकारवाला निकायसँग समेत बसेर छलफल गर्ने र मूल्य कायम गर्ने तयारी महानगरपालिकाले थालेको यादवको भनाइ छ । व्यापारीले प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीसँग बुधबार छलफल गरेको यादवले जानकारी दिनुभयो । अब स्थानीय प्रशासन, वाणिज्य कार्यालय, उपभोक्ता सङ्घसमेतको छलफलपछि निष्कर्ष निकालिने भएको छ ।
– नवराज कट्टेल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













