हिले, माघ ४ गते । धनकुटामा निर्वाचन प्रहरीको लागि कुल ११ सय २६ को आवेदन परेको छ । यो माग गरिएभन्दा ४१ जना बढीको आवेदन परेको हो ।
नेपाल प्रहरीतर्फ १ हजार ३४ र सशस्त्र तर्फ ९२ जनाको आबेदन परेको छ । धनकुटामा नेपाल प्रहरीतर्फ ९ सय ८९ र शसस्त्र प्रहरीमा ९६ गरी १ हजार ८५ निर्वाचन प्रहरीको कोटा निर्धारण गरिएको छ । सरकारले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि पुस २५ गतेबाट माघ १ गते सम्मको लागि दरखास्त आह्वान गरेको थियो ।
सो अवधिमा धनकुटामा कुल ८ सय ७६ जनाको मात्र आवेदन परेपछि माघ ३ गते सम्मलाई म्याद थप गरिएको थियो । थप गरीएको अवधिमा १५८ जनाको आवेदन परेको जिल्ला प्रहरी कार्यलय धनकुटाका सूचना अधिकारी डिएस्पी राजन कार्कीले जानकारी दिनुभयो ।
आवेदन न्यून परेपछि जिल्ला प्रहरी कार्यलय सहित इलाका प्रहरी कार्यलय छिन्ताङ र इलाका प्रहरी कार्यलय राजारानी वाट समेत आबेदन दिन सकिने गरी व्यवस्था मिलाएको थियो । माघ ५ गते देखि ९ सम्म निर्वाचन प्रहरीको भर्ना छनौट सकेर १२ गते अन्तिम नतिजा प्रकाशन गर्ने तयारी छ ।
यस्तै माघ १५ गतेदेखि प्रशिक्षण सुरु गर्ने कार्यतालिका रहेको डिएस्पी कार्कीको भनाइ छ । सरकारले आगामी प्रतिनिधिसभा निर्वाचनमा खटिने निर्वाचन प्रहरीलाई प्रहरी जवानले पाउने सरहको सेवा सुविधा दिएर ४० दिन कार्यक्षेत्रमा खटाउने जनाएको छ ।
– कविराज घिमिरे
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















