लमजुङ, माघ ४ गते । नेकपा (एमाले) का उपाध्यक्ष एवम् निवर्तमान सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा लमजुङबाट उम्मेदवार बन्ने हुनुभएको छ । शनिबार भएको केन्द्रीय सचिवालय बैठकले गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सङ्घीय मन्त्री, गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदै सङ्घीय सञ्चारमन्त्री बन्नुभएका गुरुङ २०४३ सालमा लमजुङमा जनपक्षीय उम्मेदवार हुँदै हालसम्म सात पटक चुनाव लडिसक्नुभएको छ । केही हार र केही जित निकाल्नुभएका उहाँ आठौं पटक अग्निपरीक्षामा उत्रिँदै हुनुहुन्छ ।
विज्ञानमा स्नातक गुरुङ पञ्चायतकालमै राजनीतिमा होमिदै शिक्षक आन्दोलनबाट राजनीतिमा उदाउनुभएको हो । उहाँ पटक पटक पञ्चायतकालमै प्रहरी हिरासतमा पर्नुभयो । २०२७ सालमा ईशानेश्वर प्रमोद हाईस्कुल, भोर्लेटार (अनेरास्ववियूको तर्फबाट स्ववियु सचिव हुँदै राजनीतिमा लाग्नुभएका गुरूङ २०४० मङ्सिरमा नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अध्यक्षमा हुनुभएको थियो । उहाँले २०३७ मा तत्कालीन नेकपा मालेको सदस्यता लिनुभएको थियो । एमालेमा सचिव, उपमहासचिव हुँदै हाल उपाध्यक्ष हुनुहुन्छ ।
२०६२–०६३ जनआन्दोलनपछि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बन्नुभएका उहाँ २०६४ सालमा लमजुङ क्षेत्र नम्बर २ बाट १९ हजार ५ सय ८३ मतसहित उहाँ प्रतिनिधि सभामा विजयी हुनुभएको थियो । २०४८, २०५१, २०५६ र २०७० सालको आमनिर्वाचन उहाँ पराजित हुनुभएको थियो । गुरुङ २०७४ सालमा गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित हुँदै मुख्यमन्त्री बन्नुभएको थियो । प्रदेश संरचनालाई बलियो बनाउन मुख्यमन्त्री हुँदा आफ्नै नेतृत्व केपी ओली प्रति खरो प्रस्तुत भएर चर्चामा रहनुभएका उहाँलाई गण्डकी प्रदेशको ‘ब्रेन फादर’ का रुपमा हेरिन्छ ।
गुरूङकै पालामा प्रदेश संरचनालाई बलियो बनाउन गण्डकी विश्वविद्यालय स्थापना भयो । प्रदेशमा एक घर एक धाराको अभियान सञ्चालन गरेर लाखौं घरमा धारा पुर्याउनुभएको थियो । साढे ३ वर्ष सरकारको नेतृत्वमा रहदा गुरूङले उज्ज्यालो प्रदेशको परिकल्पना गर्नेदेखि प्रदेश मुख्यमन्त्रीहरुको भेला गरेर प्रदेशका अधिकारकालाई एकीकृत गर्न माग गर्नुभएको थियो । राजनीति उतारचढावसँगै सरकार ढलेपछि उहाँ दोस्रो कार्यकालका लागि प्रदेशमा उम्मेदवार बन्न चाहेपनि पार्टीले प्रतिनिधिसभामा उम्मेदवार बनायो र निर्वाचित हुँदै सञ्चारमन्त्री बन्नुभयो ।
गुरूङ दृष्टिकोण र व्यवहारले गुरुङ बौद्धिक नेताका रुपमा चिनिनुहुन्छ । उहाँको जन्म २०१४ साल फागुन १ गते गंगाप्रसाद र चिनी गुरुङका छोराका रुपमा गिलुङ गाविस–८, टक्सार (हाल क्होलासोंथार गाउँपालिका–९, टक्सार, लमजुङ) मा भएको हो ।
२०७९ को प्रनिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेससँगको गठबन्धनमा उम्मेदवार बन्नुभएका तत्कालिन नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङलाई पराजित गर्नुभएका पृथ्वीसुब्बाले यसपटक कांग्रेस, माओवादी र रास्वपा उम्मेदवार प्रमुख प्रतिष्प्रधीको रुपमा सामना गर्नुपर्ने हुन्छ । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा पृथ्वीसुब्बाले ३४ हजार ९६९ मत ल्याएर विजयी हुँदा प्रमुख प्रतिष्प्रधी देवप्रसाद गुरुङले ३१ हजार ७८९ मत पाउनुभएको थियो । सो निर्वाचनमा रास्वपाका उम्मेदवार धर्म केसीले ९ हजार २९ मत पाउनुभएको थियो ।
– नवीनराज कुइँकेल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








