01/18/2026, 12:59:04
आइतबार, माघ ०४, २०८२

काठमाडौंमा रास्वपाका ५ उम्मेदवारको टुंगो


काठमाडौँ, माघ ४ : राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंबाट उम्मेदवार बन्ने आफ्ना ५ उम्मेदवारको टुंगो लगाएको छ ।

काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ५ वटाका उम्मेदवार टुंगो लागेको रास्वपामा टिकट वितरणमा संलग्न नेताहरूले जानकारी दिएका छन् ।

रास्वपाले काठमाडौं २ बाट सहमहामन्त्री विपिन आचार्यलाई उम्मेदवार बनाउने भएको छ । २०७९ को चुनावमा यो निर्वाचन क्षेत्रबाट रास्वपाकी सोविता गौतमले चुनाव जितेकी थिइन् । उनले यो क्षेत्र छोडेर चितवन ३ मा उम्मेदवारी दिने भएपछि आचार्य उम्मेदवार बन्ने भएका हुन् । आचार्य रास्वपाको समानुपातिक बन्दसूचीमा खसआर्यतर्फ १ नम्बरमा थिए । उनले प्रत्यक्षतर्फ उम्मेदवार बन्नका लागि नाम फिर्ता लिएका थिए ।

काठमाडौं ६ मा रास्वपाको उम्मेदवार शिशिर खनाल  बन्ने भएका छन् । उनी २०७९ को निर्वाचनमा यहाँबाट नै निर्वाचित भएका थिए । काठमाडौं ७ मा गणेश पराजुली  उम्मेदवार बन्ने भएका छन् । यसअघि जितेका क्षेत्रमा रास्वपाले सोही नेतालाई टिकट दिएको हो ।

काठमाडौं ८ मा विराजभक्त श्रेष्ठलाई उम्मेदवार बनाउने रास्वपाले निर्णय गरेको छ । उनी २०७९ को निर्वाचनमा यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्य बनेका थिए ।

काठमाडौं ९ मा भने रास्वपा उपसभापति डीपी अर्याल  उम्मेदवार बन्ने भएका छन् । २०७९ को चुनावमा समानुपातिकबाट सांसद बनेका उनी यसपटक प्रत्यक्षतर्फ उम्मेदवार बन्न लागेका हुन् ।