काठमाडौँ, माघ ४ : निक्षेप संकलन उपकरणमार्फत् आज नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज पनि उल्लिखित रकम झिक्न थालेको हो ।
बजारमा रहेको तरलता दिर्घकालिन प्रकृतिको भएकाले राष्ट्र बैंकले गएको २ सातामा ९ वटा ऋणपत्रमार्फत २ खर्ब रुपैयाँ बजारबाट झिकिसकेको छ । ऋणपत्रमार्फत राष्ट्र बैंकले एक वर्षका लागि उक्त रकम भिकेको हो ।
आज भने अर्को उपकरण निक्षेप संकलनमार्फत ८४ दिनका लागि २० अर्ब रुपैयाँ झिक्न लागेको हो । पछिल्ला तीन वर्षयता राष्ट्र बैंकले सातामा दुई पटक आइतबार र बुधबार नियमित रूपमा बजारबाट पैसा झिक्दै आएको थियो । बिचमा गएका दुई साता राष्ट्र बैंक ऋणपत्र मार्फत बजारबाट पैसा झिक्न थालेपछि निक्षेप संकलन औजार जारी भएको थिएन । अब केही समय ऋणपत्र जारी नहुनेभएपछि राष्ट्र बैंकले करिब ३ महिनाका लागि निक्षेप संकलन उपकरणमार्फत २० अर्ब रुपैयाँ झिक्न लागेको हो ।
निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्ने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप संकलनमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहु–बोलकबोल गर्न सकिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








